पौने २ करोड रुपैयाँ बेरुजु

दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन

आन्तरिक लेखा परीक्षण कार्यालयले बेरुजु रकम दाखिला गर्न पत्र काटेपछि रकम हिनामिना बाहिरियो

मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् ।  मालपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ । ६ मंसिरमा आन्तरिक लेखा परीक्षण कार्यालयले बेरुजु रकम दाखिलाको पत्र पठाएको थियो ।

पटक–पटक भन्दा पनि अटेर गर्दै आएका दर्जी सम्पर्कविहीन भएका हुन् । उनको खोजीका लागि प्रहरी प्रशासनलाई पनि जानकारी गराइएको शर्माले बताए । २६ मंसिरमा मालपोत कार्यालयले उक्त रकम असुल गरी विभागीय कारबाहीका लागि अख्तियारमा आवश्यक कागजात बुझाइसकेको उनले बताए । 

केही दिन बिदामा बसेर २४ मंसिरमा कार्यालयमा हाजिर भई उनले आफैँले रकम खर्च गरेको र तिर्न नसके कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न तयार छु भनेर सनाखत गरेको प्रमुख शर्माले बताए । दर्जीसँग सम्पर्क नभएपछि घरमै खोज्न जाँदा भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा मोबाइल र मोटरसाइकल छाडेर गएको पाइएको 
उनले बताए ।

सम्पत्ति रोक्का
घरमा पनि उनको सम्बन्ध राम्रो नरहेको बुझिएको छ । छोराले नै रिठ्ठेविरुद्ध अंश मुद्दा हालेका छन् । दर्जी र उनको परिवारका सदस्यका नाममा रहेको सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ । दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको उनले बताए । उनले साझेदारी गरेर सञ्चालन गरेको भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्सको समेत सम्पूर्ण बैंक खाता रोक्का गरिएको बताए । दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो समाचार  नया पत्रिका दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।


 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links