मिस म्याचका कारण र उदाहरण

कारोवार मिस म्याच अहिले करदाताले भोगी रहेको समस्या हो  । कुनै पनि दर्ता भएको करदाताले कुनै अवधिको आफ्नो खातामा कुनै बिक्रीकर्ता सँग खरिद गरेको भनेर उल्लेख गरेकोमा सोहि अवधिको लागि सो बिक्रीकर्ताले सोहि रकम बिक्री गरेको भनेर उल्लेख गरेको हुनु पर्दछ । यदि यसरी दुवै पक्षले आफ्नो कारोवारको रकम उल्लेख गरेकोमा सो रकममा अन्तर देखिन आएमा यसलाई मिस म्याच भनिन्छ । 


मिस म्याच हुन सक्ने कारणहरु :

  1. खरिदकर्ता वा बिक्रीकर्ताले आफ्नो खरिद वा बिक्री भिन्न भिन्नै कर अवधिमा देखाएको हुन सक्छ । उदाहरणका लागि बक्रिकर्ता ले असार मा देखाएको, तर खरिद कर्ता ले अर्को आ. ब को साउनमा देखाएको हुन सक्छ । 
  2. खरिदकर्ताले छुटलाई पनि खरिदमा समावेश गरि कुल खरिद देखाएको तर बिक्रीकर्ताले छुट बाहेकको खुद बिक्री देखाएको हुन सक्छ । उदाहरणका लागिः कुल बिक्री रु १,००,००० भएकोमा रु. १०,००० छुट भएकोमा, खरिदकर्ताले रु. १,००,००० नै खरिद देखाएकोमा बिक्रीकर्ताले रु. ९०,००० मात्र बिक्री देखाएको हुन सक्छ ।
  3. बिक्रीकर्ताले बिक्री भएको सामान फिर्ता भएकोमा सो फिर्ता बाहेकको रकमलाई बिक्री देखाएकोमा खरिदकर्ताले फिर्ता सामानको कारोवार देखाउन अर्को महिनामात्र देखाएको हुन सक्छ । उदाहरणका लागिः असोजको कुल बिक्री रु. १,००,००० भएकोमा रु. १०,००० फिर्ता भएको छ, बिक्रीकर्ताले खुद बिक्री रु. ९०,००० उल्लेख गरेको छ भने खरिदकर्ताले फिर्ता अर्को महिना मात्र उल्लेख गरि असोजमा रु. १,००,००० नै खरिद उल्लेख गरेको पाइयो ।
  4. बिक्रीकर्ता वा खरिदकर्ताको खातामा उल्लेख भएको बिक्री र खरिद कुनै त्रुटिको कारणामा छुटको कारण फरक पर्न गएको हुन सक्छ । 

यसरी रकम मिस म्याच हुन आएको अवस्थामा कर अधिकृतले करदाताको कर निर्धारण गर्नेछ । कर अधिकृतले कर निर्धारण गरेकोमा करदातालाई सफाईको मौका दिइने छ र करदाताले सो मिस म्याच सम्बन्धी आफ्नो सफाई पेश गर्नु पर्नेछ । यदि बिक्रीकर्ताको आफ्नो बिक्री खातामा बिक्री छुट हुन गएको भए सोको जानकारी कर अधिकृतलाई दिई सो सच्याउनु पर्दछ भने यदि खरिदकर्ताको खातामा गल्ती हुन गएको भए सो खरिदकर्तासँग छलफल गरी सोको कारण सहित खरिदकर्ताको स्पष्टीकरण सहित खरिदकर्ताको पत्र समावेश गरी कर अधिकृतलाई सफाई पेश गर्नु पर्नेछ ।

उदाहरण 


निरौला ट्रेडर्सले प्लास्टिकको उत्पादन र बिक्री गर्ने गर्दछ । यस व्यवसायको एउटा मात्र खरिदकर्ता झा प्लास्टिक हाउस रहेको छ । निरौला ट्रेडर्सले २०७१।७२ को कुल बिक्री रु. ६५,००,००० देखाएकोमा झा प्लास्टिक हाउसले सोहि वर्षको कुल खरिद रु. ७०,००,००० देखाएको भेटियो । यो मिस म्याचको अवस्था हो । 

कर अधिकृतले निरौला ट्रेडर्सको संशोधित कर निर्धारणको सुचनामा निम्न प्रकारले उल्लेख गरेको हुन्छ ।
“ यस प्रतिवेदनको मिस म्याच खण्डमा उल्लेख भए बमोजिम बिक्री फरक परेको रकम रु.५,००,००० लाई बिक्री लुकाएको मान्नु पर्ने हुन आयो । तसर्थ सो रकमलाई आयकर ऐन, २०५८ (संशोधन सहित)को दफा ७ को उपदफा (१) को देहाय खण्ड (ख) बमोजिम मूनाफा र लाभ तर्फ समावेश हुने भई कर योग्य आयमा समावेश गर्नुपर्ने रकम रु. १,००,००० ।”

१. बिक्री सही भएको अवस्थामा निरौला ट्रेडर्सले आफुले देखाएको बिक्री सही भएको र खरिदकर्ताले देखाएको रकम नमिलेको कारणले मिच म्याच हुन गएको यस प्रकारको जवाफ कर अधिकृतलाई लिखित रुपमा दिनु पर्ने छ । 
२. बिक्रीमा गल्ति भएको अवस्थामा निरौला ट्रेडर्सले आफुले देखाएको बिक्रीमा त्रुटि भएको कारणले सो सच्चाइएको जवाफ कर अधिकृतलाई लिखित रुपमा दिनु पर्ने छ । 

पत्रको उदाहरण तल दिईएको छ । 

श्रीमान् कर अधिकृतज्यू
करदाता सेवा कार्यालय,कालीमाटी

विषयः संसोधित कर निर्धारणको सुचनाको जवाफ ।

महोदय, 
निवेदन यो छ कि यस निरौला ट्रेडर्सको स्थाइ लेखा नंं ५०००४५३XX को आ.व. २०७०।७१ को संशोधित कर निर्धारणको सूचना कर सेवा कार्यालय कालीमाटीको च. नं. ४५XX बाट प्राप्त भएकोमा  सो पत्रको जवाफ तल भए बमोजिम छ -
१. मिस म्याचको विषयमा यो ट्रेडर्सले उल्लेख गरेको बिक्रीको रकम सही भएको र खरिदकर्ता झा प्लास्टिक हाउसले उल्लेख गरेको खरिदमा त्रुटि हुन गएको कारणले सो फरक देखिन गएको व्यहोरा जानकारी गराउँछौं । साथै झा प्लास्टिक हाउस सँगको हिसाब मिलान र पत्र यसैसाथ संलग्न गरेको छौं । 

वा 
२. मिस म्याचको विषयमा यो ट्रेडर्सले उल्लेख गरेको बिक्रीको रकममा त्रुटि हुन गएको हुनाले सो सच्याउने कार्य भएको जानकारी गराउँदछौं । 

भवदिय,
दिप्ती निरौला, प्रोप्राइटर , निरौला ट्रेडर्स

कर दाताको जवाफको आधारमा कर कार्यालयले थप कर, जरिवाना के गर्नुपर्ने हो निर्णय गर्दछ  ।

मिस म्याचका अन्य व्यवहारिक पक्ष र अनुसूची १३ का सन्दर्भमा हाम्रा कर विज्ञ शेषमणि दाहालको यो लेखमाछलफल गरिएको छ । 

Social Links