राजस्व असुली ‘फ्लोर’भन्दा माथि उठेन

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाकामा हुने अनियमितता रोक्न ‘मुहान सफा गर्ने’ बारम्बार बताए पनि वर्षौंदेखिको व्यापारी र कर्मचारीको ‘दस्तुरी’को जालो भत्काउन सकेका छैनन्।

फागुन १४ गते अर्थमन्त्रीको जिम्मेवारी लिएलगत्तै खतिवडाले भन्सार बिन्दुमा भइरहेको अनियमिता हटाएर ‘मुहान सफा’ गर्दै राजस्व बढाउने बताएका थिए ।
खतिवडा अर्थमन्त्री भएको दुई महिनाभन्दा बढी भए पनि उनले भने अनुसार राजस्व असुली बढ्न सकेको छैन।

भन्सार विभागका अनुसार खतिवडा अर्थमन्त्री हुनुभन्दा अगाडि प्रत्येक महिना औसत २४–२५ अर्ब रुपैयाँ राजस्व असुली हुन्थ्यो। फागुनपछि वैशाख १५ सम्म आउँदा यो तथ्यांकमा परिवर्तन भएको छैन।

अर्थमन्त्री खतिवडाले मुख्य–मुख्य भन्सार कार्यालयका प्रमुखलाई काठमाडौंमै बोलाएर राजस्व असुलीमा कडाइ गर्न निर्देशन दिएका थिए। खतिवडाले भनेका थिए, ‘सरकारले तोकेको राजस्वको लक्ष्य ‘फ्लोर’ मात्र हो र त्योभन्दा धेरै राजस्व उठ्छ र उठाउनैपर्छ । यो नै मेरो बटमलाइन हो।’

अर्थमन्त्रीले निर्देशन दिएको १–२ दिन राजस्व असुली उच्च पनि भएको थियो। त्यसपछिको संकलन चालु आवका अन्य महिनाभन्दा फरक छैन।

मेला, पर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका छन्। नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको थियो।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर कडा रुपमा प्रस्तुत हुँदै भन्सार नाकाहरुमा सही ढंगबाट काम नभएको आरोप लगाएका थिए। उनले अहिलेसम्म कसले के गर्दै आएको छ त्यसबारेमा  मतलब नभएको तर अबका दिनमा सम्पूर्ण जिम्मेवारी कार्यालय प्रमुखले लिनुपर्ने बताएका थिए।

अर्थमन्त्री खतिवडाले भन्सारमा न्यून बिजकीकरणको समस्या धेरै रहेको भन्दै सरकारले तयार गरेको सन्दर्भ मूल्यभन्दा कममा सामान नछुटाउन निर्देशन दिएका थिए।

भन्सार विभागका महानिर्देशक तोयम रायले पछिल्लो समय सवारी साधनको आयात घटेका कारण भन्सार राजस्व बढ्न नसकेको बताए। ‘सवारी साधनसँगै मूल्यवान सामानको आयात कम भएको छ,’ रायले बिहीबार नागरिकसँग भने ‘सस्ता मूल्यका सामान आयात भइरहेका कारण पनि राजस्व बढ्न नसकेको हो।’ उनले भन्सार बिन्दुमा कडाइका साथ काम भइरहेको बताए।  

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भन्सारको दस्तुरी प्रथा र चोरी पैठारी नियन्त्रण नगरेसम्म राजस्व असुली बढ्दैन । अर्थमन्त्री खतिवडा यी दुवैमा असफल देखिएका छन्। वर्षौंदेखि मिलेमतोमा राजस्व चुहावट गर्दै आएका कर्मचारी र व्यापारीले अर्थमन्त्रीलाई नटेरेको अवस्था छ । ‘भन्सारमा रहेको दस्तुरी प्रथा अहिले पनि हटेको छैन,’ ती अधिकारीले भने, ‘दस्तुरीलाई पूर्ण रुपमा नहटाउँदासम्म असुली बढ्दैन।’

उनका अनुसार भन्सार नाकाहरुमा भइरहेको अवैध व्यापारलाई नियन्त्रण गर्न पनि अर्थमन्त्रीले सकेका छैनन्। गृह प्रशासनको सहयोगबिना खतिवडाको एक्लो प्रयासले चोरी पैठारी नियन्त्रण हुन सक्दैन। अहिले ठूला र छोटी भन्सार नाकानजिकैबाट चोरी निकासी–पैठारी हुँदै आएको छ।

ती अधिकारीका अनुसार भन्सारका कर्मचारीले लामो समयदेखि व्यापारीसँग मिलेर प्रमुख रुपमा दुई किसिमबाट भन्सार राजस्व छली गर्दै आएका छन् । आयातित सामानको बिल कम मूल्यको (न्यून बिजकीकरण) बनाउने र सामानको परिमाण कम देखाएर भन्सार राजस्व कम तिर्ने। यो काममा मुलुकका ठूला भनिएका केही व्यापारिक घरानादेखि चीनसँग व्यापार गर्ने व्यापारीसमेत संलग्न रहेको दाबी ती अधिकारीको छ। भन्सार कर्मचारीसँग यो सबै मिलेमतो भन्सार एजेन्टले गर्दै आएका छन्।

अर्कोतिर वास्तविक कागजात र बिल–बिजक पेस गरे पनि भन्सारका कर्मचारीले प्रतिकन्टेनर चार हजार रुपैयाँ नदिएसम्म सामान नछाड्ने गरेको आरोप उद्योगी व्यापारीले लगाउँदै आएका छन्।
 

यो समाचार  नागरिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links