अर्थमन्त्रीले भेट नदिएपछि ब्यापारीले भन्सारमा थन्काएको चिनी उठाउन थाले, घटेन भन्सार मूल्य

विराटनगर। कारोबार मूल्यमा भन्सार महसुल तिर्न पाउनुपर्ने माग गर्दै आयातकर्ताले भन्सार यार्डको गोदाममै चिनी थन्क्याएर राजनीतिक नेतृत्वसँग ‘लबिङ’ थाले।
 
यसै मेसोमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारे। ओलीले ‘यो अर्थमन्त्रीजीको विषय हो,  तैपनि म सम्झाउँला’ भनेर ब्यापारीलाई फर्काइदिए।

तै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई सम्झाउँला भनेर आस्वासन दिएकाले ब्यवसायीले डा. युवराज खतिवडालाई भेट्ने प्रयास गरे।
 
अर्थमन्त्री खतिवडाले चिनीका आयातकर्ताको कुरा सुन्नु त परै जाओस्, भेटका लागि समेत समय दिएनन्।
 
अन्ततः केही नलागेपछि आयातकर्ता भन्सार यार्डको गोदाममा थन्क्याएको चिनी धमाधम छुटाउन थालेका छन्।
 
पैठारी गरिएको चिनी भन्सार यार्डमै थुपारेर विराटनगरका आयातकर्ताको समूह कारोबार मूल्यमा भन्सार महसुल तिर्न पाउनुपर्ने माग गर्दै काठमाडौं गएको थियो।
 
मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष एवम् नेउवा महासङ्घका पूर्व केन्द्रीय सदस्य शङ्करलाल अग्रवालको नेतृत्वमा गएको व्यवसायीको समूहमा दुगड समूहका नरेश दुगडको पनि सक्रिय सहभागिता थियो।
 
विराटनगरका व्यवसायी एवम् एमाले सांसद् मोती दुगडको पहलमा प्रधानमन्त्रीसित आयातकर्ताको भेटघाट गराइएको थियो। 
 
मोरङ व्यापार सङ्घका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले दस्तखत गरेको र प्रधानमन्त्रीलाई सम्बोधन गरिएको निवेदन बोकेर पूर्व अध्यक्ष शङ्करलाल काठमाडौं पुगेका थिए।
 
निवेदनमा अहिले भन्सार विन्दुमा कायम गरिएको चिनीको भन्सार मूल्य प्रति मेट्रिक टन ४ सय ६० अमेरिकी डलरलाई यथावत् राखेमा व्यवसायी टाट उल्टने र बैङ्कको लगानीसमेत डुब्ने उल्लेख गरिएको थियो। 
 
विराटनगर भन्सारका अधिकृत फणीन्द्र खतिवडाले व्यवसायीले भन्सारमा राखेको चिनी धमाधम छुटाउन थालेको पुष्टि गरे। व्यवसायीले वैशाख ५ गतेदेखि भन्सार परिसरमा चिनी थन्क्याउन थालेका थिए। जसमध्ये भन्सारमा अवस्थित ट्रान्स नेपालको गोदाममा थन्क्याएको ४० कन्टेनर र गोदाममा नअटेर बाहिरै राखेको ८० कन्टेनर चिनी पैठारीकर्ताले छुटाउन थालेका हुन्।
 
मर्नुभन्दा बहुलाउनु निको
‘मर्नुभन्दा बहुलाउनु निको’  नेपाली उखान उल्लेख गर्दै व्यवसायी शङ्करलालले भने, ‘चिनी त्यसै छाडिदिऔँ त हामी मर्छौं, छुटाएर ल्यायौँ भने बहुलाउँछौँ। बहुलाएपछि उपचार गर्न पाइएला, मरेपछि त सक्किई गो। त्यसैले मर्ने होइन बहुलाउने निर्णयमा पुगियो।’ 
 
अर्थमन्त्रीमा खतिवडा नियुक्त भएपछि सरकारले चिनीको भन्सार मूल्याङ्कन ४ सय ६० कायम गरेको हो। तर पैठारीको वास्तविक कारोबार मूल्य ३ सय ४० देखि ३ सय ६० डलर रहेको नेउवा महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहराको दाबी छ।
 
सरकारले भन्सार मूल्याङ्कन मात्रै बढाएन, एक हप्तापछि चिनीको भन्सार महसुलमा पनि दोब्बर वृद्धि गर्दै ३० प्रतिशत बनायो। यसपछि पैठारीकर्ता तिलमिलाएका हुन्।
 
केन्द्रीय सदस्य बोहरा भन्छन्, ‘भन्सार महसुल जति बढाए पनि हामी तिर्न बाध्य छौँ तर कारोबार मूल्यमा भन्सार छुटाउन पाउनुपर्ने हाम्रो नैसर्गिक अधिकारलाई सरकारले कुण्ठित बनाएको छ।’
 
सरकारले चिनी उद्योगलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै भन्सार महसुल र मूल्याङ्कनमा वृद्धि गरेको हो।
 
चिनीको निकासीमा पाकिस्तानको सरकारले त्यहाँका व्यवसायीलाई प्रति मेट १ सय १० देखि १ सय ३० डलर फ्रेट फ्यासिलिटी दिएपछि त्यहाँबाट नेपालमा सस्तो मूल्यमा चिनीको पैठारी गरिएको हो।
 
आयातकर्ता दिनेश राठीले चार/पाँच उद्योगलाई नाफामा लैजान चिनीको भन्सार महसुल र कारोबार मूल्य वृद्धि गरिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
 
यसबाट सर्वसाधारण उपभोक्ताको ढाड सेकिने र चिनीमा आधारित बिस्कुट, कन्फेक्सनरी, जुस, कोल्ड ड्रिङ्क्स लगायतका उद्योग सङ्कटमा पर्ने राठीको दाबी छ।
 
चिनीको मूल्य ३ थरी: ४९, ५९, ६९ रुपैयाँ
विराटनगरका उपभोक्ता अहिले सीमावर्ती भारतीय बजार जोगबनीबाट प्रति किलो ४९ रुपैयाँमा चिनी खरिद गरिरहेका छन्। वैशाख १ गते विराटनगरमा खुलेको भाटभटेनीले प्रति केजी ५९ रुपैयाँमा बेचिरहेको छ। यही चिनीको मूल्य स्थानीय खुद्रा बजारमा प्रति किलो ६९ रुपैयाँ छ।
 
यसअघि जोगबनीमा प्रति किलो ५५ र विराटनगरको बजारमा ६४ रुपैयाँ थियो। भाटभटेनीले मूल्य वृद्धि गरेको छैन।

यो समाचार बिजमाण्डू   बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links