NMB Bank

Nepal Life Insurance

अर्थमन्त्रीको स्वेतपत्रलाई तथ्यांक विभागको काउन्टरः नेपाली धनी भए, आर्थिक क्रियाकलाप बढ्यो

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन अर्याल यो वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा एउटा कुरामा बढी खुसी देखिन्थे ।

उनको खुसीको कारण रेमिटेन्सबिनै नेपालीको औसत आम्दानी पहिलो पटक एक हजार डलर नाघेकोले थियो ।

विभागका अनुसार नेपालीको प्रतिब्यक्ति औषत बार्षिक आय रेमिटान्स नजोड्दा १००४ अमेरिकी डलर पुगेको छ । यसअघि कहिल्यै पनि नेपालीको औषत बार्षिक आय हजार डलर पुगेको थिएन । यस्तो आयमा रेमिटान्स जोड्ने हो भने प्रतिब्यक्ति औषत बार्षिक आय १२९४ अमेरिकी डलर पुगेको छ ।

११ वर्षको आर्थिक बृद्धिदर

 

पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको तथ्यांकमा पहिलो पटक नेपालीको आम्दानी एक हजार डलर नाघेको घोषणा गर्दै अर्यालले भने, नेपालमा आर्थिक क्रियाकलाप बढेको छ, पहिलो पटक नेपालीको बार्षिक आय एक हजार अमेरिकी डलर नाघेको छ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नेपालीको आम्दानी औसतमा वार्षिक १००४ अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष नेपालीको बार्षिक औषत आय ८६६ अमेरिकी डलर थियो । एक वर्षको अवधीमा नेपालीको आम्दानीमा १३८ अमेरिकी डलरले बढेको छ । अर्थात, एक बर्षमा नेपालीको औषत आम्दानी १५ प्रतिशतले बढेको छ ।

विभागले नेपालको जनसंख्या यो वर्ष २ करोड ९१ लाख पुगेको अनुमान गरेको छ । जनगणना गरेर नेपालको जनसंख्या तोक्ने काम पनि विभागकै हो ।

विभागले नेपाली अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब रुपैयाँ बराबरको भएको तथ्यांक सार्बजनिक गरेको छ । गत बर्ष नेपाली अर्थतन्त्रको आकार २६ खर्ब ४२ अर्ब रुपैयाँको थियो । एक बर्षको बीचमा नेपाली अर्थतन्त्र ३ खर्ब ६५ अर्ब रुपैयाँले बढेको छ ।

अघिल्लो वर्ष नेपालले ७.३९ प्रतिशत आर्थिक बृद्धि गरेको थियो । त्यसको असर अर्को वर्ष आम्दानीमा देखिएको हो ।

तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०६७÷६८ मा नेपालीको औसत आय ७१४ अमेरिकी डलर थियो । त्यसपछि नेपालीको आम्दानी खासै बढेको छैन । यही बीचमा अर्थात आर्थिक बर्ष २०६८÷६९ मा नेपालीको बार्षिक औषत आय घटेर ७०२ अमेरिकी डलरमा सिमित भएको थियो ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.८९ प्रतिशत हुने विभागको भनाइ छ । गत आर्थिक वर्ष ७.३९ प्रतिशत आर्थिक बृद्धि भएको थियो ।

अर्थतन्त्री डा. युवराज खतिवडाले स्वेतपत्र सार्बजनिक गर्दै सरकारी ढुकुटी ‘लगभग रित्तो’ अबस्थामा पुगेको घोषणा गरेका छन् । तर, तथ्यांक संकलन, विश्लेषण र सार्बजनिक गर्ने सरकारको आधिकारिक निकाय केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांकले अर्थमन्त्रीको भनाइलाई सहयोग गर्दैन ।

नेपालीको आम्दानी

 

विभागले तथ्यांक सार्बजनिक गर्नको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक अर्याललाई सरकारी ढुकुटी रित्तिएको अबस्थामा अर्थतन्त्रमा यस्तो सुधार कसरी आयो भनेर प्रश्न पनि गरियो । जवाफमा उनले ‘विभागले तथ्यांकमा काम गर्ने हो, अरु विषय थाह हुँदैन,’ भने ।

उनले आम्दानी बढ्नुको प्रमुख कारणमा आर्थिक क्रियाकलाप बढेको र विभागले स्वतन्त्र ढंगले नै तथ्यांकलाई विश्लेषण गरेर प्रस्तुत गरेको बताएका थिए ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष कृषि क्षेत्र २.९२ प्रतिशतले बढेको छ । कृषि क्षेत्रको योगदान जिडिपीमा २८.२१ प्रतिशत छ ।

यस्तै उद्योग क्षेत्रको बृद्धि ८.७७ प्रतिशत छ । जिडिपीमा उद्योग क्षेत्रको योगदान १४.१८ प्रतिशत छ ।

सेवा क्षेत्रको योगदान अर्थतन्त्रमा सबैभन्दा बढी अर्थात ५७.६१ प्रतिशत छ । यसको बृद्धिदर यो वर्ष ६.६२ प्रतिशत हुने अनुमान विभागको छ ।

यी तथ्यांकले नेपाली अर्थतन्त्र असाध्यै कठिन अबस्थामा पुगेको देखाउदैन ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अघिल्लो वर्षको ७ प्रतिशतभन्दा माथिको बृद्धि र यो वर्ष करिब ६ प्रतिशतको बृद्धिले अर्थतन्त्र सुधारमा ठूलो योगदान गरेको बताउँछन् ।

‘अर्थतन्त्र कस्तो दिशामा छ भन्ने कुरा तथ्यांक विभागको तथ्यांकले नै देखाएको छ, बाढीको कारण धान उत्पादनमा कमी आएपनि करिब ६ प्रतिशतको आर्थिक बृद्धि हुनु ठूलो उपलब्धी हो, यसलाई निरन्तरता दिन सके अर्थतन्त्रमा आगामी वर्ष अझै सुधार आउने छ,’ वाग्लेले क्लिकमाण्डूसँग भने ।

नेपालीको आम्दानी १ हजार डलर नाघेको विषय राम्रो भएपनि अतिकम विकसित देशबाट माथि उठ्न अझै आम्दानी बढ्नु पर्ने वाग्लेको भनाइ छ ।

जिडिपीमा योगदान

‘प्रतिब्यक्ति बार्षिक औषत आय १ हजार अमेरिकी डलरको मनोवैज्ञनिक थ्रेसहोल्ड हामीले पार गरेका छौं, यो नोमिनलमा हो, एलडिसीमा जानको लागि प्रतिब्यक्ति १२८३ डलर पुर्याउनुपर्छ, जुन नोमिनलमा होइन,’ वाग्लेले भने ।

यो समाचार clickmandu.com  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links