कर तिर्ने समय थप गर्न विभागमा निवेदनको चाङ


कोरोना माहामारी बढ्दै गएसँगै मुलुक अहिले पनि निषेधाज्ञामा छ । स्वास्थ्य जोखिमकै कारण दैनिक क्रियाकलाप प्रभावित बनेको छ । बैशाख १६ बाट लगाइएको निषेधाज्ञा २९ गतेसम्मको लागि लम्ब्याइएको छ । यो संगै राजस्व कसरी तिर्ने भन्ने अन्यौल भएपछि आन्तरिक राजस्व विभागमा अहिले कर तिर्ने समय थपको माग गर्दै निवेदनको चाङ परेको छ । 

आन्तरिक राजस्व विभागले वैशाख २६ सम्म बुझाउनुपर्ने कर बुझाइसक्न आग्रह गरिरहेको थियो  । अन्तःशुल्क र मूल्य अभिवृद्धि कर, भ्याट रकम हरेक महिनाको २५ गतेभित्र अघिल्लो महिना बुझाउनुपर्ने रकम दाखिला गर्नुपर्ने हुन्छ । यो समय सकिएको छ । कर तिर्नका लागि  विभागले विद्युतिय कारोबार गर्ने विकल्प खुला गरेको थियो ।
 

विभागका महानिर्देशक झक्क प्रसाद आचार्य भन्छन्, ‘अहिले हामीले कर समयमै तिर भनेर दबाव दिन मिल्दैन, किनभने यो समय सबैका लागि पीडादायी समय हो । विभागको हातमा कर तिर्ने समय थप गर्ने अधिकार पनि छैन । यसलाई मन्त्रिपरिषदले नै निर्णय गर्नुपर्छ ।’ 

विभागमा परेको निवेदन उसले अर्थमन्त्रालय पठाइसकेको छ । 

'अर्थमन्त्रालयले सरकारलाई सिफारिस गरे अनुसार मन्त्रिपरिषदको निर्णयबाट कर तिर्ने समय थप गर्न वा छुट दिन सक्नेछ', आचार्यले भने । 

यदि समयमै कर नबुझाए सो अवधिमा निर्धारण गरिएको करको ०.०५ प्रतिशत वा प्रति कर दिनको १ हजारमध्ये जुन बढी पर्न आउँछ त्यसै अनुसार जरिवानाको व्यवस्था छ । यहि जरिवानाबाट बच्न कर छुटको लागि करदाताले विभागमा निवेदन दिएका हुन् ।

कोरोनाकै कारण गत वर्ष चैत ११ गतेदेखि देश लकडाउनमा गएको थियो ।  

यसकारण सरकारले चैत र वैशाखमा तिर्नुपर्ने कर  मन्त्रिपरिषद् बैठकले जेठ २५ गतेसम्म तिरे हुनेगरी म्याद थप गरेको थियो । तर, २५ वैशाखमा आन्तरिक राजस्व विभागले कर तिर्ने समय जानकारी गराएपछि निकै आलोचना भएको थियो । 

त्यस समयमा ३१ जेठसम्म लकडाउनको अवधि थपिएको थियो तर विभागले जेठ २५ सम्म भुक्तानी गर्नुपर्ने अन्यथा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । सो बेला विभागको भनाइ निकै विवादित बन्यो । तर अन्तमा यो विषयले सर्वोच्चमा प्रवेश गरेपछि  जेठ २९ मा अदालतले सहज अवस्था नभएसम्मका लागि कर तिर्न ताकेता नगर्न र जरिवाना नलगाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।  

सामान्य अवस्थाकै जस्तो कर असुल
आन्तरिक राजस्व विभागले कर असुल सामान्य समयकै जस्तो भएको बताएको छ । विभागले यो महिना ३० अर्ब राजस्व उठेको दाबी गरेको छ । महानिर्देशक आचार्यले निषेधाज्ञा भएपनि विद्युतीय माध्यमको विकल्प खुला राखिएकोले ३० अर्ब रुपैयाँ कर उठेको बताए । लक्ष्य ३४ अर्बको थियो ।

यता नीजि क्षेत्रले पनि राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थप गर्न माग यस अघि नै गरेको छ ।
 
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतले पत्राचार नै गरेर कर छुट माग गरेका हुन् । 

कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरूसमेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने भन्दै समय थप गर्न नीजि क्षेत्रले माग गरेका थिए ।

(यो समाचार रातोपाटी २७ बैशाख २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links