सवारी साधनमा स्थानीय कर संकलन सुरु

डोल्पा — ठूलीभेरी नगरपालिकाले सवारी साधनमा स्थानीय कर संकलन सुरु गरेको छ । नगरभित्र आउजाउ गर्ने सवारी साधनबाट कर संकलन थालिएको नगरपालिकाले जनाएको छ ।
ठूलीभेरी ३ स्थित वडा कार्यालयमार्फत कर संकलन थालिएको हो ।

नगरपालिकाका अनुसार जिपबाट प्रतिट्रिप दुई सय र ट्याक्टरबाट तीन सय रुपैयाँका दरले कर संकलन भइरहेको छ । असार २७ गते बसेको नगरसभाको निर्णय बमोजिम कर संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार दुनैदेखि जुफाल र सुंपानीसम्म चल्ने यातायातका साधनले आउजाउ गरेबापत प्रत्येक ट्रिपमा कर तिर्नुपर्नेछ । बुधबारबाट यातायातका साधनबाट कर संकलन सुरु गरिएको वडा सचिव धर्मबहादुर शाहीले बताए ।

असारमा निर्णय गरिएको भए पनि यसअघि कर संकलन गरिएको थिएन । संघीय सरकारले क्रमागत योजनाका रुपमा यस वर्षबाट २५ करोड बजेट बिनियोजन गरी सदरमुकाम दुनै बचाउ योजना सुरु गरेको छ । सोही योजनाको काम ठेक्कामार्फत सुरु भएपछि ढुंगा ओसारेबापत ट्याक्टरबाट पहिलोपटक कर उठाइएको हो ।

यात्रुबाहक जिपका प्रतिट्रिप दुई सय रुपैयाँ कर महंगो भएको व्यावसायीको भनाइ छ । व्यावसायीेले मालबाहक ट्याक्टरको प्रति ट्रिप तीन सय रुपैयाँ करसमेत महंगो भएको भन्दै विरोध जनाएका थिए । विरोधपछि नगरपालिकाले स्थानीय प्रशासनको सहयोगमा कर संकलनको काम गरेको हो । कर संकलनको कामलाई प्रभावकारी बनाउँदै लगिने नगरले जनाएको छ ।

यो समाचार  कान्तिपुर राष्ट्रिय दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links