प्रदेश सरकारको नीति विपरीत कर उठाउँदै स्थानीय सरकार

भैरहवा– प्रदेश सरकारको नीति विपरीत स्थानीय तहले पटके सवारी कर उठाउँदै आएका छन्। कुनै पनि खालका पटके कर नउठाउन सबै स्थानीय तहलाई प्रदेश सरकारले परिपत्र गरेको र सार्वजनिक सूचना मार्फत् जानकारी समेत गराएको भएपनि स्थानीय तहले पटके कर उठाउन छोडेका छैनन्। रुपन्देहीका सिद्धार्थनगर नगरपालिका तथा मायादेवी, कञ्चन गाउँपालिकालगायत स्थानीय तहले खुला रूपमा पटके कर उठाउँदै आएका छन्।

कर वृद्धिको चौतर्फी विरोध भइरहेको बेला सिद्धार्थनगर नगरपालिकाले नगरको १३ वटै वडामा ठेक्का लगाएर पटके सवारी कर संकलन गर्दै आएको छ। भौतिक पूर्वाधार उपयोग शुल्कका नाममा नगरपालिकाले पटके कर असुलेको हो। स्वदेशी र विदेशी सवारी गरी छुट्टा–छुट्टै दरमा कर संकलन गरिँदै आएको छ।

 

मायादेवी गाउँपालिकाकाे पटके करकाे नगदी रसिद


नगरपालिकाको तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५।०७६ को बजेट र नीति तथा कार्यक्रमको अनुसूची ९ अन्तर्गतको आफ्नो क्षेत्राधिकार प्रयोग गर्दै सवारीबाट कर संकलन गरिएको बताउँदै आएको छ।

कुन सवारीमा कति कर?

सिद्धार्थनगर नगरपालिका लगायतका स्थानीय तहमा ठेकेदारले १३ प्रतिशत भ्याटसहितको दर तय गरी स्वदेशी नम्बरका बस र ट्रकबाट ४० रुपैयाँ र ट्याक्टर र पिकअप भ्यानबाट २८ रुपैयाँ ५० पैसा पटके कर असुल्दै आएका छन्। यसैगरी, निजी तथा भाडाका जिप र कारमा १७ रुपैयाँ, मिनी ट्रक र मिनीबसमा २८ रुपैयाँ ५० पैसा र ह्यान्ड ट्याक्टर तथा टायर गाडामा १७ रुपैयाँ कर लगाउँदै आएका छन्।

विदेशी नम्बरका बस र ट्रकबाट ५ सय ६५ रुपैयाँ, ट्याक्टरबाट २ सय २६ रुपैयाँ, निजी तथा भाडाका जिप, कार र भ्यानबाट १ सय १३ रुपैयाँ कर असुल गर्दै आएका छन्। मिनी ट्रक र मिनी बसबाट ३ सय ३९ रुपैयाँ, रिक्सा र टायर गाडाबाट १३ रुपैयाँ ५० पैसा, ६ चक्केसम्मको ट्रलीबाट ३ सय ४० र ६ चक्काभन्दा माथिको ट्रलीबाट ५ सय ६५ रुपैयाँ उठाउँदै आएको छ।

 

सिद्धार्थनगर नगरपालिकाले असुलेकाे पटके कर रसिद


नगरपालिकाले पटके सवारी कर उठाउने जिम्मा स्टार सर्भिसेज नामक फर्मलाई ठेक्का दिएको छ।

सवारीमा पटके कर लगाइएकोप्रति व्यवसायी तथा स्थानीयबासी भने रुष्ट देखिएका छन्। सवारीमा पटके कर लगाएर जनताको ढाड सेकेको व्यवसायी अजय वर्माको ठम्याई छ। ‘भन्सार कार्यालयमा राजश्व तिरेर ल्याएको भारतीय सवारीबाट स्थानीय सरकारले पुनः पटके कर उठाउनु गलत हो’, उनले भने।

नगरपालिका भन्छ – सडक उपयाेग गरेबापत पटके कर

नगरको भौतिक पूर्वाधार उपयोग गरेकाले सवारीसाधनबाट पटके सवारी कर उठाइएको सिद्धार्थनगर नगरपालिकाका अधिकृत एवम् आर्थिक प्रशासन महाशाखा प्रमुख गणेश बहादुर क्षेत्रीले बताए। ‘पटके सवारी कर नउठाउने विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन तथा परिपत्र आएको छैन’, उनले भने।

 

राजमार्ग क्षेत्रमा पटके कर उठाउँदै व्यवसायी


मुख्य र सहायक राजमार्गबाहेक नगरपालिकाको सम्पूर्ण सडकखण्ड प्रयोग गर्ने सवारीबाट कर संकलन गरिँदै आएको उनले स्वीकारे।

पटके कर नउठाउनू : प्रदेश सरकार

यता, प्रदेश सरकारले स्थानीय तहले पटके सवारी कर उठाउन नपाउने गरी परिपत्र गरेको सूचना प्रकाशित गरेको छ। कुनै पनि स्थानीय तहले पटके सवारी कर उठाउन नपाउने नीति अवलम्बन गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

‘कुनै पनि स्थानीय तहले पटके सवारी कर उठाउन पाउँदैनन्। यदि कसैले उठाएको छ भने त्यो सरासर गलत हो। त्यसलाई सम्बन्धित स्थानिय तहले तत्काल खारेज गर्नुपर्छ।’, उनले भने।

यो समाचार  नेपाल लाइभ डटकम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links