कर तिर्नेलाई धन्यवाद पत्र, नतिर्नेलाई विभाग आउन आग्रह


काठमाडौं महानगरपालिकाको राजस्व विभागले बजार अनुगमन थालेको छ। आइतबारबाट विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा थालेको अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाउने गरेको छ। 

विभागले व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभागमा बोलाएको छ।    

टोलीले आइतबार नयाँ सडक क्षेत्रको बजार हेरेको थियो भने,सोमबार वडा-२ लाजिम्पाटदेखि पानी पोखरी हुँदै महाराजगञ्जसम्म मूलसडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमूलक रूपमा अनुगमन गरेको थियो। व्यवसाय दर्ता र नवीकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरलाई तिर्नु बुझाउने पर्ने कर तिरे नतिरेको अनुगमनका क्रममा हेरिएको थियो। 

‘एउटै घरका दुईवटा सटरको भाडादर धेरै रकमले तलमाथि देखियो। एउटा सटरको भाडा १० हजार रुपैयाँ, अर्कोको २० हजार रुपैयाँ र छिमेकीको ४० हजार रुपैयाँ छ,’ अनुगमनबाट प्राप्त अवस्थाका बारेमा जानकारी दिँदै राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने,‘भाडा दरमा यति धेरै तलमाथि हुनुलाई हामीले राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका छौँ।’

कानुनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने अबको योजना रहेको पनि उनले जानकारी दिए। विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन्। प्रतिनिधिमुलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गर्ने विभागले योजना बनाएको छ। 

(यो समाचार थाहा खबर ९ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links