टुटललाई सरकारको पत्रः छलिएको ३ करोड ३९ लाख कर तिर्नू

१६ वैशाख, काठमाडौं । ‘राइड सेयरिङ’ कम्पनी टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर छलेको पुष्टि भएको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिलाका लागि लेखेको  छ ।

३ करोड ३९ लाख बराबरको कर छलिएको भेटिएको कार्यालयले जनाएको छ । यसमा ३ वर्षको अवधिको मूल्य अभिवृद्धि कर -भ्याट), आयकर, जरिवाना र ब्याज समेत जोडिएको छ ।
 

आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख लालबाहदुर खत्री टुटलले कर छली गरेको देखिएकाले कर निर्धारण गरेर दाखिलाका लागि पत्र लेखिएको बताए ।

कार्यालयले लामो समय लगाएर टुटलको कारोबारको अनुसन्धान गरेको थियो । टुटलले सुरुमा जानकारी नभएर भ्याट उठाएको र कर कसरी कहाँ कुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था आएको जवाफ कार्यालयलाई दिएको थियो ।

कम्पनीले सेवा सुरुआतको वर्षमा ग्राहकसँग भ्याटसहितको रकम जोडेर शुल्क उठाएको थियो । तर, उठाएको करबापतको रकम सरकारलाई बुझाएन । पछिल्लो वर्ष भने उसले भ्याट शीर्षकमा कर उठाउन छाड्यो ।

‘उठाएको कर सरकारलाई नबुझाएपछि हामीले कारोबार हेरेर कर निर्धारण गरेका हौं,’ प्रमुख खत्रीले भने । टुटलले आफ्नो आय कर पनि नतिरेको भेटिएको छ ।

आय कर पनि नतिरी व्यवसाय चलाएकाले त्यसअनुसार कर निर्धारण गरेर त्यसमा ब्याज र हर्जना पनि लगाइएको छ ।

अब टुटलले आफूलाई लगाइएको कर चित्त नबुझे आन्तरिक राजश्व विभागमा पुनरावलोकनका लागि निवेदन दिन सक्छ । यदि पुनरावलोकन नजाने भए निर्धारित कर टुटलले तिर्नैपर्नेछ ।

तर, पुनरावलोकनपछि निर्धारित कर भने आन्तरिक राजश्व कार्यालयले जोड गरेर असुल गर्नेछ ।

टुटल पछिल्लो सयममा काठमाडौंमा निकै प्रचलित मोबाइल एप हो । जसमा जोकोही मोटरसाइकलवाला आवद्ध भएर यात्रुलाई ट्याक्सीकै जसरी सेवा दिन सक्छन् ।

केही समयअघि सरकारले निजी सवारीले शुल्क लिएर यात्रु बोक्न नपाउने भन्दै यो सेवा बन्द गर्न लागेको थियो । तर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा महानगरीय ट्राफिक प्रहरी माहाशाखा पछि हट्यो ।

हालका यातायात विभागका महानिर्देशक कुमार दाहाल टुटल, पठाओ जस्ता कम्पनीको सेवा अवैधानिक भएकाले यसलाई बन्द गर्नुपर्ने पक्षमा छन् । नेपालको कानूनमा भाडाका सवारीले मात्रै शुल्क लिएर यात्रु बोक्न पाउँछन् ।

यो समाचार  अनलाइनखबर डटकम   बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links