मोरङका व्यवसायीले आन्तरिक राजस्व विभागलाई सोधे, कर बुझाउने अन्तिम मिति कुन हो ?

विराटनगर। मोरङका व्यवसायीले सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार कर दाखिला गर्ने अन्तिम मितिबारे जानकारी उपलब्ध गराउन माग गरेका छन् ।

मोरङ व्यापार संघले आन्तरिक राजस्व विभागलाई पत्र लेख्तै कर दाखिला गर्ने अन्तिम मितिबारे जानकारी मागेको हो ।

आन्तरिक राजस्व विभागले यसअघि जेठ २० गते सूचना निकाल्दै मूअकर, अन्तःशुल्क र करकट्टीको रकम तथा चैत मसान्तसम्म बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता जेठ २५ गतेभित्र बुझाउन सूचित गरेको थियो ।

उक्त सूचनाका बारेमा व्यावसायिक जगतमा विरोध भएपछि विभागले मिति सार्दै असार ७ गते कायम गरेको अर्को सूचना निकालेको थियो ।
असार ७ गतेभित्र वैशाख मसान्तसम्मको मूअकर, अन्तःशुल्क र करकट्टीको रकम तथा आयकरको दोस्रो किस्ता बुझाउन सूचित गरिएको थियो । यसपछि व्यवसायीहरू सर्वोच्चमा गएका थिए । सर्वोच्चले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने अन्तरिम आदेश जारी गर्‍यो । यसका विरूद्ध नेपाल सरकार अर्थ मन्त्रालयले सर्वोच्चमा भ्याकेट दायर गर्‍यो । सर्वोच्चले भ्याकेटमा मन्त्रालयको जिकिर खारेज गर्दै अन्तरिम आदेशलाई नै सही ठहर्‍याएको छ ।

यसबीच विभागले आफ्नो वेबसाइटबाट असार ७ को सूचना त हटाएको छ तर अर्को सूचना प्रकाशित गरेको छैन ।

‘यसबाट व्यावसायिक जगत अन्योलमा छ, वास्तवमा कर बुझाउने अन्तिम मिति कुन हो?,’ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने, ‘यस बारेमा अर्थ मन्त्रालय वा आन्तरिक राजस्व विभागले स्पष्ट सूचना प्रकाशित गर्नुपर्छ ।’

संघले पठाएको पत्रमा सर्वोच्च अदालतले कर विवरण लगायतका दायित्वको दाखिला गर्ने म्याद लकडाउन खुलेको ३० दिनभित्र बुझाउन सकिने भनी अन्तरिम आदेश जारी गरेको स्मरण गराइएको छ ।

पत्रमा सर्वोच्चको आदेश बमोजिम कर दाखिला गर्ने अन्तिम मितिबारे जानकारी गराइदिन माग गरिएको छ ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links