जार र बोतलको पानीमा अनिवार्य भ्याट लगाउन निर्देश


काठमाडौं । जार र बोतलमा पिउने पानी उत्पादन गर्ने उद्योगलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चालु आर्थिक वर्षको अन्त्यसम्म भ्याटमा दर्ता भएर व्यवसाय सञ्चालन नगरे त्यस्ता कम्पनीको उत्पादन, वितरण र बिक्री रोक्न निर्देशन दिएको हो । व्यवसायीले पिउने पानीमा भ्याट लगाए उपभोक्ता मूलय पनि बढ्ने चेतावनी दिएका छन् ।

केही कम्पनी भ्याटमा दार्ता भएपनि धेरै जसो भ्याटको दायरामा आएको नदेखिएको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले बताए । जार तथा बोत्तलको पिउने पानी उत्पादक कम्पनीहरुबारे परेको उजुरी छानबिन गर्न समितले गठन गरेको उपसमितिले गरेको सिफारिसको आधारमा सरकारलाई यस्तो निर्देशन दिएको सभापति श्रीवास्तबको भनाइ छ ।

‘देशभर रहेका पाँच सय बढी पानी उद्योगहरु मध्ये करिब एक सय मात्रै भ्याटमा दर्ता रहेको पाईयो, सबै उद्योगलाई भ्याटको दायरामा ल्याउनुस् भनेर निर्देशन दिएका छौं,’ सभापति श्रीवास्तबले भने ।

समितिबाट प्रतिवेदन पारित भएको ३५ दिन भित्र कार्यान्वयन गर्ने गरी सरकारलाई निर्देशन दिइएको पनि उनको भनाइ छ । पानी कम्पनीको बेथितिका कारण राज्य र उपभोक्तामा परेको असर न्युनीकरण गर्न समितिले काम गरेको अध्ययन उपसमितिका संयोजक प्रकाश रसाइली -स्नेही) ले बताए ।

‘पानीको मूल्य निर्धारण र ९० प्रतिशत पानी कम्पनीलाई करको दायरामा ल्याउन सरकारलाई सिफारिस गरिएको छ, यसले बेथितीलाई अन्त्य गर्छ,’ संयोजक रसाइलीले भने । स्नेही नेतृत्वको उपसमितिमा सांसाद अमृता अग्रहरी, दिल कुमारी र मायादेवी  न्यौपाने सदस्य थिए ।

गत असारमा वाणिज्य विभागको कार्यदलले तोकेको पानीको मूल्यलाई समितिले स्वीकार गरेको छ भने उपत्यका बाहिरीको पानी उद्योगको हकमा पानीको मूल्य केही बढाउन पनि निर्देशन दिएको छ ।

उपभोक्ता मूल्य बढ्छ- व्यवसायी

संसदीय समितिको निर्देशनले पिउने पानीको उपभोक्ता मूल्य बढ्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । पानी उद्योग भ्याटमा जाँदा उद्योगीलाई भन्दा पनि उपभोक्तालाई अतिरिक्त भार पर्ने नेपाल बोटल वाटर उद्योग संघका उपाध्यक्ष गोकर्ण सिलवालले बताए ।

भ्याटमा दर्ता रहेका उद्योगको पानी पि्रमियम मूल्यमा बिक्री भइरहेको उनले बताए । ‘संसदीय समितिले निर्देशन दिनु स्वभाविक होला, यसले उपभोक्तालाई अतिरिक्त १३ प्रतिशत मूल्य भार थप्छ,’ उपाध्यक्ष सिलवालले भने ।

जनताका प्रतिनिधिमुलक संस्थाले उपभोक्तालाई सहुलियत दिने गरी हुनुपर्नेमा जार र बोत्तलको पानीलाई भ्याटमा लैजानु भन्नु गलत हुने उनको भनाइ छ ।

थोत्रा जार हटाउनुपर्ने

समितिले जार तथा बोत्तल बन्द पिउने पानीको शुद्धता र गुणस्तर सुधार गर्न सरकार तथा व्यवसायीलाई १६ बुँदामा निर्देशन दिएको थियो । जसअनुसार उपभोक्ताको घरमा पुगेका पुराना, कुच्चिएका र थोत्रा पानीका जारहरु अब कम्पनीले ३५ दिन भित्र फिर्ता ल्याउनु पर्ने हो ।

एउटा पानी उद्योग खोलेर त्यसबाट विभिन्न ब्राण्डमा पानी उत्पादन तथा बिक्री गर्ने गरेको पाइएको उपसमिति सदस्य दिल कुमारीले बताइन् । ‘प्रशस्तै बेथिति देखियो, हामीले सरकारलाई गरेको सिफारिस कार्यान्वयन भए केही हदसम्म उपभोक्ताले राहत पाउने छन्,’ कुमारीले भनिन् ।

समितिले एक कम्पनीले अर्को कम्पनीको जार प्रयोग गर्न निषेध गर्न र जारमा पानी उत्पादकको परिचय र जारको बिर्कोमा उत्पादन मिति, खुद्रा मूल्य, ब्याच नम्बर, उपभोग्य अवधि तथा सरकारलाई तिरेको करको विवरण अनिवार्य उल्लेख गर्न पनि भनेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हरेक तीन महिनामा अनिवार्य पानी कम्पनीको अनुमगन गर्नुपर्ने, पानी कमपनीले आफ्नो उद्योगमा माईक्रो बायोलोजिष्टसहितको आधुनिक प्रयोगशाला बनाउनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

यस्तै हरेक दुई वर्षमा पानीको मूल्य निर्धारण गर्ने वैज्ञानिक संयन्त्र बनाउन र पानी उद्योग बस्तीबाट टाढा खोल्न पनि निर्देशनमा भनिएको छ ।

समितिले पानी कम्पनीले एक स्थानमा एउटा मात्रै डिलर हुने व्यवस्था गर्न, प्रत्येक उद्योगले अनिवार्य रुपमा ट्रेडमार्क लिनुपर्ने र पानीको मूल्यमा एकरुपता हुनुपर्ने बताएको छ ।

(यो समाचार अनलाइन खबर १ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links