सामुदायिक वनलाई तेब्बर कर


सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले संघीयता लागू भएसँगै सरकारले सामुदायिक वनलाई मनपरी रुपमा कर लगाएको भन्दै आयकर ऐनको मर्मविपरीत रहेको बताएको छ । बुधबार फेकोफनले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा फेकोफनका पदाधिकारी तथा अन्य सरोकारवालाहरुले तेब्बर कर आयकर ऐनको मर्मविपरीत रहेको बताएका हुन् ।
अबको अर्थ विधेयकमा सामुदायिक वनमा लगाइएको तेब्बर कर छुटको माग गरिएको छ । सामुदायिक वन नाफामूलक संस्था नभई सामाजिक संस्था भएकाले आयकर तिर्नु नपर्ने व्यवस्था गर्न फेकोफनको माग छ ।
आर्थिक विधेयक अनुसार सामुदायिक वनले १५ प्रतिशत रकम सञ्चित कोषमा जम्मा गर्नुपर्छ । प्रत्येक स्थानीय तहले सामुदायिक वनलाई वन पैदावारको बिक्रीबापत प्राप्त हुने रकमको १० प्रतिशत करको दर निर्धारण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन ०७४ संशोधन गर्दै सरकारले १० प्रतिशत सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको सञ्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको हो ।
वन तथा प्राकृतिक कानुन विषयका विज्ञ दिलराज खनालले सामाजिक संस्थाको रुपमा चिनिने सामुदायिक वन उपभोक्ता समूहहरु तेब्बर करको मारमा पार्नु आयकर ऐनको विपरीत भएको बताएका छन् । “सामुदायिक वन उपभोक्ता समूहको कोषमा रहेको रकमलाई आय मानेर लगाउँदै आएको कर हटाउने र सामुदायिक वनलाई आयकर नलाग्ने क्षेत्रको रुपमा चिनिने व्यवस्था गरिनुपर्छ,” उनले भने ।
महासंघले कर थप्ने प्रावधानले संघीयता कमजोर हुने र सामुदायिक वन कार्यक्रम नै असफल हुने भन्दै चिन्ता व्यक्त गर्दै आइरहेको छ । मनपरी कर लिएर सामुदायिक वन उपभोक्तालाई मारमा नपार्न भन्दै फेकोफनले अनुरोध गर्दै आएको छ । फेकोफनकी अध्यक्ष भारती पाठकले विगतदेखि सामुदायिक वन उपभोक्ता समूहहरुले नेपाल सरकारलाई तिर्दैै आएको आयकर खारेज गर्न माग गरेकी छिन् ।
पाठकका अनुसार, सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप गर्दै संघ, प्रदेश र स्थानीय सरकारले अहिले तेहोरो कर लगाएका छन् । संघीय सञ्चित कोषमा साल र खयरको बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत, स्थानीय सरकारको सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत, प्रदेश नं १ को सरकारबाट साल र खयर बाहेकका अन्य वन पैदावारको बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत तिर्नुपर्छ । त्यसैगरी प्रदेश नं. ३ को सरकारबाट वन पैदावार बिक्रीको १० प्रतिशत र सेवा शुल्क ०.२५ प्रतिशत, मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम काठमा लाग्ने मू.अ. कर १३ प्रतिशत र आयकर ऐन २०५८ वमोजिम उपभोक्ता समूहको बचत रकममा २५ प्रतिशत आयकर लगाइँदै आएको उनले जानकारी दिइन् ।
सामुदायिक वन उपभोक्ता समूहहरु कुनै नाफामूलक संस्था नभएकोले आम्दानीको सम्पूर्ण रकममध्ये २५ प्रतिशत वन व्यवस्थापनमा, ३५ प्रतिशत विपन्न वर्गको जीविकोपार्जनमा र ४० प्रतिशत सामुदायिक विकासमा खर्च हुने उनले बताइन् । कार्यक्रममा गैरसरकारी महासंघका अध्यक्ष जितराम लामाले मुनाफारहित संस्थालाई आयकर लगाउन नहुने बताए ।

(यो समाचार कारोबार १२ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links