चिनीको भन्सार महसुल वृद्धिमा सर्वोच्चको रोक, भन्यो-कार्यान्वयन नगर्नू, नगराउनू

विराटनगर। चिनीको पैठारीमा ३० प्रतिशत भन्सार महसुल लिने सरकारी निर्णय कार्यान्वयन नगर्न, नगराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले वैशाख २८ शुक्रबार अन्तरकालीन आदेश जारी गरेको हो ।

उद्योग र किसानको संरक्षणका लागि भन्दै सरकारले चैतको पहिलो सातामा चिनीको भन्सार महसुल दोब्बर बढाउँदै ३० प्रतिशत पुर्याएको थियो ।

भन्सार महसुलका साथ सरकारले चिनीको भन्सार मूल्यसमेत वृद्धि गरेको छ । पाकिस्तान, युएई, ब्राजिल, थाइल्यान्डबाट प्रति मेट्रिक टन ३ सय ४० देखि ३ सय ६० अमेरिकी डलरमा पैठारी भइरहेको चिनीको भन्सार मूल्य ४ सय ६० डलर निर्धारण गरिएको छ ।

सरकारले मुहानमा सफाइ र न्यून विजकीकरणलाई नियन्त्रण गर्ने दलिल दिँदै चिनीको भन्सार मूल्य ४ सय ६० डलर कायम गरेको हो ।
चिनीमा कायम गरिएको भन्सार मूल्यका बारेमा सर्वोच्चको अन्तरकालीन आदेशमा केही उल्लेख छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विराटनगर भन्सारलाई समेत विपक्षी बनाएर ज्ञान इन्टरप्राइजेज साझेदारी फर्मका तर्फबाट केएल दुगड ग्रुपका नरेश दुगडले वैशाख २४ गते सर्वोच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

न्यायाधीश श्रेष्ठले गरेको अन्तरकालीन आदेशमा एलसी खोलिसकेको, सिपमेन्ट भइसकेको, पैठारीका लागि बन्दरगाहमा आइसकेको, आउँदै गरेको मालवस्तुको सौदाबाजीसमेत भइसकेको र केही सामान सीमा नाकामा आइसकेको अवस्थामा भन्सार महसुल वृद्धि गर्न नमिल्ने भन्दै वृद्धि गरिएको भन्सार महसुल कार्यान्वयन नगर्नू, नगराउनू भन्ने उल्लेख छ ।

ज्ञान इन्टरप्राइजेजका तर्फबाट सर्वोच्चमा बहस पैरवी गरिरहेका अधिवक्ता भेषराज न्यौपानेले सर्वोच्चले उक्त ब्यहोराको आदेश गरेको पुष्टि गरे ।
‘शुक्रबार ढिलो आदेश जारी भएकाले त्यसको सक्कल र नक्कल कुनै प्रति पनि ल्याउन भ्याइएन’, अधिवक्ता न्यौपानेले भने, ‘शनिबार र आइतबार लगातार दुई दिन छुट्टी भयो । आदेशको हुबहु भाषा तत्काल थाहा नभए पनि आशय यही हो ।’

अधिवक्ता न्यौपानेका अनुसार जेठ १४ गते मुद्दाको सुनवाइ हुने भएको छ ।
 
सर्वोच्चको आदेशले राहत अनुभव
चिनीका पैठारीकर्ताले सर्वोच्चको आदेशबाट राहत अनुभव गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

‘सर्वोच्चको अन्तरकालीन आदेशको खबर हामीले सुन्यौँ’, नेपाल उद्योगवाणिज्य महासङ्घ प्रदेश १ का कार्यकारी सदस्य श्रवण अग्रवालले भने, ‘सर्वोच्चको आदेशलाई सरकारले सर्वोपरि मानेर ससम्मान कार्यान्वयन गरोस् भन्ने हाम्रो आग्रह  छ । डुब्न लागेको व्यवसायले यो आदेशबाट त्राण पाउने आशा हामीले गरेका छौँ ।’

सरकारले सर्वसाधारण उपभोक्ताको सरोकारसित जोडिएको चिनीको भन्सार महसुल र मूल्य दुबै वृद्धि गरेको टिप्पणी गर्दै व्यवसायी अग्रवालले यसबाट उद्योग र किसानको समेत हित र संरक्षण नहुने दाबी गरे ।

उनले सर्वोच्चको आदेशको मर्मलाई आगामी बजेटमा पनि सम्बोधन गरिनुपर्ने माग गरे ।

प्रति किलोग्रामको घाटा १४ रुपैयाँ
विराटनगरमा चिनीका एक मुख्य आयातकर्ता हेमकरण दुगडले आइतबार प्रति किलोग्राम ५८ रुपैयाँ ५० पैसाका दरले चिनी विक्री गरेका छन् ।

‘सरकारले भन्सार मूल्य र महसुल दुबै बढाएपछि भन्सार नाकामा आइपुग्दा चिनीको मूल्य प्रति किलोग्राम ७१ देखि ७२ रुपैयाँ परिरहेको छ’, व्यवसायी दुगडले भने, ‘यसरी प्रति किलोग्राम १३ देखि १४ रुपैयाँ घाटा खाएर विक्री गर्नु परेको छ ।’

सीमापारि भारतीय बजारबाट अवैध पैठारी भई आएका कारण नेपालको बजारमा चिनी सस्तो भएको उनको दाबी थियो ।

‘भारतीय बजारमा होलसेलमा चिनीको मूल्य प्रति किलोग्राम भारु २१ भइसकेको छ र खुद्रा मूल्यमा जोगबनीमा नेरु ४९ मा विक्री भइरहेको छ’, पैठारीकर्ता दुगडको भनाइ थियो, ‘त्यही भारतीय चिनी अवैध पैठारी भएर आइरहेका कारण नेपालको चिनी सस्तो भएको र आयातकर्ताको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको हो ।’

दुगडका अनुसार नेपालका व्यवसायीले अधिकांश चिनी पाकिस्तानबाट आयात गरेका हुन् । यस वर्ष पाकिस्तानमा चिनीको उत्पादन अत्यधिक भएको तर त्यहाँ परिवत्र्य विदेशी विनिमयको सञ्चिति घटेको अवस्था हो ।

यही कारणले परिवत्र्य विदेशी विनिमयको सञ्चिति वृद्धि गर्न पाकिस्तान सरकारले चिनीको निर्यातमा प्रति मेट्रिक टन १ सय १० अमेरिकी डलर फ्रेट फ्यासिलिटी दिएपछि नेपालमा आयातीत चिनीको मूल्य सस्तिएको हो ।

‘पाकिस्तानमा चिनीमा अझै मन्दी आइरहेछ, अहिले त्यहाँबाट चिनी आयात गर्ने हो भने प्रति मेट्रिक टन ३ सय डलरमा ल्याउन सकिन्छ’, हेमकरणको दुखेसो थियो, ‘तर सरकारको नीतिका कारण यति बेला पैठारीकर्ता हच्किएका छन् । चिनीको मौज्दात पनि नेपालमा टन्न भइसकेको छ । अब थप पैठारी हुने स्थिति छैन ।’
 
आयातको तुलनात्मक तथ्याङ्कमा आकाशजमिनको फरक
विराटनगर भन्सारबाट गत र चालु आर्थिक वर्षमा गरिएको चिनीको पैठारीको तुलनामा आकाश–जमिनको अन्तर देखिएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षको चैत मसान्त सम्ममा १ लाख ६९ हजार र चालु आवको सोही अवधिमा ४ करोड २५ लाख २३ हजार किलोग्राम चिनीको पैठारी गरिएको छ ।

त्यस्तै गत आवको ९ महिनामा चिनीबाट कार्यालयले २६ लाख ८१ हजार र चालु आवको सोही अवधिमा ६१ करोड राजस्व सङ्कलन गरेको तथ्याङ्क छ ।


यो समाचार बिजमाण्डू  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links