आर्थिक वर्षको अन्त्यमा देशभर घरजग्गा कारोबारमा उछाल, एकै महिनामा तीन अर्ब राजस्व


काठमाडौं। गत आर्थिक वर्षको अन्तिम महिना असारमा भने देशभर घरजग्गाको कारोबारमा उछाल आएको छ।
 
असारमा गत आर्थिक वर्षको मात्र नभएर अहिले सम्मकै सबैभन्दा धेरै दुई अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन भएको छ। राजस्व लक्ष्य भने ९२ करोड रुपैयाँ मात्रै रहेको थियो। यो लक्ष्यको ३०९ प्रतिशतले बढी हो। काठमाडौं उपत्यकाबाट मात्रै असारमा जम्मा लक्ष्यको डेढ गुणा बढी एक अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 
 
जेठको तुलनामा असारमा सबै जसो मालपोत कार्यालयले दोब्बर कारोबार गरेपछि समग्र राजस्व पनि लक्ष्यको तीन सय प्रतिशत भन्दा बढी संकलन भएको हो।गत आर्थिक वर्षको सुरुवातमै सरकारले जग्गाको कित्ताकाटमा रोक लगाएको थियो। त्यसपछि १० लाख रुपैयाँ माथीको कारोबार बैंकबाट गर्नुपर्ने र ठूलो कारोबार चेकबाट मात्रै गर्नुपर्ने नियम पनि ल्याएको थियो।
सर्वोच्च अदालतले पनि कृषियोग्य जग्गाको वर्षमा एक पटक मात्र  कित्ताकाट गर्न दिने सरकारी निर्णयलाई सदर गरेपछि वर्षैभरी घरजग्गा कारोबार लक्ष्य भन्दा कम भयो।आर्थिक वर्षको ११ महिना बितिसक्दा सम्म लक्ष्य अनुसार राजस्व असुली नहुने अनुमान गरिएका बेला अन्तिम महिना उछाल आएको हो।
 
उपत्यकाबाट मात्रै एक अर्ब ३१ करोड राजस्व
असारमा सबैभन्दा धेरै काठमाडौं मालपोत कार्यालय डिल्लीबजारले ३२ करोड ३९ लाख राजस्व संकलन गरेको छ। डिल्लीबजारले जेठमा १४ करोड ५२ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो।
 
ललितपुर मालपोत कार्यालयले जेठमा १४ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। असारमा ३० करोड ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कलंकी मालपोत कार्यालयले जेठमा ११ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा २० करोड ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
 
चाबहिल मालपोत कार्यलयले जेठमा ११ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा १७ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भक्तपुर मालपोत कार्यालयले जेठमा सात करोड ८९ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा १३ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेका छ।
 
दुई देखि तीन करोड रुपैयाँकोबीचमा राजस्व संकलन गर्ने मनमैजु, साँखु र टोखा मालपोत कार्यालयले पनि दोब्बर बढी राजस्व संकलन गरेको छन्।
मनमैजु मालपोत कार्यालयले जेठमा तीन करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा सात करोड २५ लाख रुपैयाँ, साँखु मालपोत कार्यालयले जेठमा तीन करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा चार करोड ९२ लाख रुपैयाँ र टोखा मालपोत कार्यालयले जेठमा दुई करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा तीन करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
 
प्रदेशमा पनि उछाल
प्रदेश राजधानी तोकिएका ठाउँ देखि केन्द्रिय राजधानीसम्म सबै जसो मालपोत कार्यालयको राजस्व दोब्बरले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
 
प्रदेश १ को राजधानी विराटनगरले जेठमा पाँच करोड रुपैयाँ राजस्व संकलन गरेकोमा असारमा आठ करोड राजस्व संकलन गरेको छ।
प्रदेश २ को राजधानी जनकपुरले जेठमा दुई करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। असारमा चार करोड १३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
 
प्रदेश ३ को राजधानी हेटौडाले जेठमा तीन करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। असारमा छ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
प्रदेश ४ को राजधानी पोखराले  असारमा ७ करोड ५१ लाख राजस्व संकलन गरेको छ।जेठमा पाँच करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।त्यस्तै प्रदेश ५ को राजधानी बुटवलले असारमा ७ करोड ३४ लाख राजस्व संकलन गरेको छ। जेठमा चार करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
प्रदेश ६ को राजधानी सुर्खेतमा भने जेठ असारमा समान दुई करोड ३५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।प्रदेश ७ को राजधानी धनगढीले पनि विभागमा राजस्वको विवरण पठाएको छैन। धनगढीमा पनि पाँच करोड रुपैयाँ बढीको कारोबार भएको विभागको अनुमान छ।
 
यसकारण उचालियो घरजग्गा कारोबार
सरकारले १० लाख रुपैयाँ माथीको घरजग्गा कारोबारमा पूँजीगत लाभकर लिने घोषणा गरेपछि सेवाग्राहीले बैना बुझाएर जग्गा पास गर्दा तीन गुणाबढी कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले बताए।
 
वर्षमा एक पटक मात्र कित्ताकाट गर्न पाउने निर्णय अनुसार असारमा कित्ताकाट गर्दा साउनमा पुनः कित्ताकाट गर्न पाउने र साउनदेखि घरजग्गाको मूल्याङ्कन बढ्दा करको भारी बढ्ने भएकाले असार अन्तिम साता सबैभन्दा धेरै घरजग्गा किनबेच भएको मालपोत कार्यालयले जनाएका छन्।

यो समाचार  बिजमाण्डू डट कम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links