स्वेत पत्रबारेको अर्थशास्त्री बिश्व पौडेलको गहिरो बिश्लेषण

स्वेत पत्रमा उल्लेख गरिएको तथ्य तथा विवरण माथि अर्थशाश्त्री बिश्व पौडेलले गर्नु भएको विश्लेषण पढ्नु पुर्ब स्वेत पत्रमा के छ भनेर सरल भाषामा बुझ्न यहाँ क्लिक गर्नुहोला।

-- बिश्व पौडेल

शब्द शब्दमा खेलबाड?

================
श्वेतपत्रले समस्यानै समस्या देखाउन जोड दिएको छ। यहाँँसम्म कि सरकारको ऋण कम भएको कुरालाई समेत नराम्रो मानिएको छ (बुँदा ७०,ऋण ".. परिचालन नहुँदा बिकास प्रभावित भएको छ।")। त्यस्तै चरम गरिबीको दरलाई शुन्य प्रतिशतमा ल्याउने लक्ष प्रस्तुत गर्दा यसरी प्रस्तुत गरिएको छ: (बुँदा २२: "... अझै २१.६% नेपाली आय गरिवी र २८.६% घरपरिवारहरु वहुआयामिक गरिवीको रेखामुनी रहेका छन। अन्तरराष्ट्रिय परिभाषा अनुसार गणना गर्ने हो भने ३६% नेपालीहरु गरिविको रेखामुनी छन। आगामी दशवर्षमै चरम गरिविलाई शुन्यमा झार्ने अठोटमा यो अवस्था निकै चुनौतिको रुपमा रहेको छ।") चरम गरिबी, आय गरीबी , वहुआयामिक गरिबी, अन्तरराष्ट्रिय पारीभाषाका गरिबी सबै फरक छन। सन १९९६ को तथ्यांक अनुसार नेपाल मा चरम गरिबी ४६% रहेकोमा सन २०११ मा चरम गरिबी जम्मा १५% मा झरेको थियो। अहिले १०% को हाराहारिमा होला।चरम गरिवी शुन्य प्रतिशतमा झार्ने भनेको यही १०% मा भएको गरिबीलाई ०% मा झार्ने भनिएको हो। यो तथ्यांक प्रस्तुत नगरेर किन अरु असंबद्ध तथ्यांक प्रस्तुत गरियो होला? समस्यालाई जबर्जस्ती ठुलो देखाउन?
नेपाली परिवार हरुले आयको कती प्रतिशत उपभोगमा खर्च गर्छन्? यसलेखकलाई उपलब्ध सरकारी तथ्यांक मध्य सवभन्दा नयाँँ राष्ट्रवैंकले निकालेको पाचौँ 'हाउसहोल्ड बजेट सर्भे' हो जुन यहाँँ पढ्न पाईन्छ: https://nrb.org.np/red/publications/study_reports/Study_Reports--Fifth_Household_Budget_Survey_2014-2015.pdf , त्यसका अनुसार औसत नेपाली परिवारले रु ३०,१२१ कमाउछ र रु २३,८८३ उपभोगमा खर्च गर्छ। यसार्थमा उपभोग्य सामानमा हुने खर्च कुल आयको ८०% छ। श्वेतपत्रको स्रोत के हो मलाई थाहा छैन, तर बुँदा १३ मा उपभोग्य सामानमा आयको ९०% भन्दा बढी खर्च हुन्छ भनिएको छ। कुल आयको नभै कुल खर्चको ९०% भन्दा बढी उपभोग्य सामानमा खर्च हुन्छ। यो पनि कि त रिपोर्ट पढ्न नजान्नेले लेखेकोले भयो कि त समस्यालाई ठुलो देखाउने मानसिकताले भयो।
अर्को कुरा 'अर्थतन्त्रको संरचना' भनेको आय र व्यय को अंश हैन, यो कुल गार्हस्थ्य उत्पादनमा कृषिले कती, उद्योगले कती , सेवाले कती (अथवा यि अन्तर्गतका सेक्टरहरुले कती) भाग ओगटेको छ भन्नेकुरा हो। बुँदा १३ मा 'बोल्ड' एउटा कुरामा गरिएको छ, त्यसपछिको छलफल अर्कै कुरामा छ। यो पनि अर्थशास्त्रका परीभाषा राम्ररी नबुझिकन लेख्नाले भयो।
साधारण तर गर्न नहुने कुरा चाँही एक ठाउँमा सन २००८ का तथ्याँकहरु प्रस्तुत गरिएकोछ (बुँदा २३ ), तर पछील्लो श्रमशक्ती सर्वेक्षण (जुन २००८ मा गरिएको थियो) भनेर मात्र भनिएको छ, कुन साल को हो भनेर लेखिएको छैन। 'श्वेतपत्र' भनिसकेपछी थाहा भएका र नयाँँ तथ्यहरुमा मात्र अाधारित भईदिएको भए राम्रो हुन्थ्यो।

ढुकुटी टाँट छ?
=============
राष्ट्र वैंकको भर्खरै निस्केको रिपोर्ट अनुसार सरकारी मौज्दात ३०१.६४ अरब रुपैयाँ छ। (हेर्नुस्, https://nrb.org.np/ofg/current_macroeconomic/CMEs%20Seven%20Months%20Nepali%202074-75.pdf , प्री.७ ) उक्त रिपोर्ट कै अन्य अंशहरु श्वेतपत्रमा साभार गरिएका छन (जस्तो: रेमिट्यान्सको व्रिद्धिदर गत वर्ष ५.२% रहेकोमा यो वर्ष १.७% छ भन्ने कुरा उक्त रिपोर्ट को पृष्‍ठ ४ मा छ भने श्वेतपत्रको बुँदा ४० मा त्यही तथ्य परेको छ। यस्ता अरु पनि छन। ) राजश्व पनि लगभग लक्ष अनुसार उठेकै छ। श्वेतपर्वमा कहिलेको तथ्य राखिएको हो कुन्नी (बुँदा ४६), तर चालुखर्च हिजो राखिएको तथ्यांक अनुसार वार्षिक लक्षको ६२.०४% राजश्व उठेको छ भने खर्च ४८.७% भएको छ। पुँजीगत खर्चमा मार खाने पुरानो प्रथा कायम छ र यो ३०.८% छ। (हेर्नुस्: http://fcgo.gov.np/uploads/reportpublication/2018-03-29/2074-12-14.pdf ) श्वेतपत्रमा तथ्यहरु राख्दा यस्ता हेलचेक्राइ गरिएको छ। खर्च भएको छैन, विदेशी ऋण लिने भनेको लिइएको छैन (श्वेतपत्रको बुँदा ६७ र ७०) भने यो अवस्थामा ढुकुटी टाटै त नहुनुपर्ने हो।

फूल को आँखामा फूलै संसार
=========
राष्ट्रवैंकका अनुसार मुद्रास्फिती यो वर्षको माघ मसान्त सम्म नेपालमा ५% छ, पोहोर साल माघ मसान्तमा ३.३% थियो, तर श्वेतपत्रमा गएको १० वर्षको औसत मुद्रास्फिती करीब ९% थियो भनेर र हालका तथ्यांकहरु उल्लेख नगरेर स्थिती भयावह देखाउन एक दशकको औसत राखिएको छ। (बुँदा २२)। optimistic तरिकाले लेख्दा हालका केही वर्षमा मुद्रास्फिती को स्थितिमा उल्लेखनीय सुधार भएर पहिला १०% को हाराहारीमा रहेको मुद्रास्फिती अहिले ५% मा आएको छ भनेर पनि लेख्न सकिन्थ्यो।
यस्तै मुलुकमा पोहोर साल को अहिल्लो सात महिनामा ७ अरब जती प्रतक्ष्य वैदेशिक लगानी रहेको मा यो सात महिनामै १३ अरब नाघेको कुरा श्वेतपत्रमा कही पाइदैन। पर्यटन आगमन दर २०% ले बढेको कुरा, मुलुक को कर संकलन लगभग २०% दरले बढेको कुरा, मान्छे विदेश जान ४.९% ले कम हुँदापनी रेमिट्यान्स १.७% ले बढेको कुरा पनि पाइदैन।
आयात को व्रिद्धिदर गएको वर्षको माघ मसान्तमा ६०.८% भन्दा बढी थियो भने अहिले यो व्रिद्धिदर १८.९% छ। निर्यात अघिल्लो वर्षको माघ मसान्तमा १५% ले बढेकोमा अहिले १३% ले बढेको छ। व्यापार घाटा बढ्दो छ तर 'ट्रेण्ड' नराम्रो छैन। गाडीहरुको आयात लगभग ८% ले घटेको छ। व्यापार घाटामा पनि TEPC को तथ्यांक अनुसार यो सात महिनामा मशीनरी हरुको आयात ५४% ले बढेको छ (http://www.tepc.gov.np/assets/upload/fck_upload/Foreign%20Trade%20Balance%20of%20Nepal.pdf)। यो भनेको मुलुक औद्योगिकिकरणमा जान लागेको छनक हो। सबै मुलुकहरुले औद्योगिकिकरणको शुरुमा मेशीन किन्ने हो र यस्तो खाल को घाटा हुँदैमा आत्तिनेहो भने घरेलु कपडा लगाएर , भुटेको मही र मकै खाएर, जताततै पैदल यात्रा गरेर राष्ट्रबैंकमा संचित भएको विदेशी मुद्रा हेरेर रमाएर बसे हुन्छ।
यि चिज रातारात सुध्रिने पनि हैनन। हाम्रो मुलुक गरीब भएकोले हाम्रो अर्थतन्त्रको तस्बिर खराब देखाउन खोज्नेहो भने सधैं र अर्को केही दशक खराब देखाउन सकिन्छ। के सँग तुलना गरेर खराब देखाउने हो त्यसमा भर पर्छ। तुलना गर्ने भनेको एक वर्ष अगाडिको डाटा सँग हो, हाम्रा छिमेकी हरु सँग हो किनभने भोली अहिलेको सरकार लाई तुलना गर्ने मापदण्ड पनि तिनै हो। तर श्वेतपत्रमा यि सबै तथ्यहरुलाई जसरी राख्दा मुलुक को स्थिती भयावह देखिन्छ त्यसरी राखिएको छ। मुलुक खराब अवस्था बाट विस्तारै सुध्रिदै पनि छ भनेर acknowledge गर्दा पनि के के न गुमाइएला भनेर डराइएको छ। वित्तिय सेवाको पहुँच न्युन छ भनिएको छ तर त्यो वर्षौ देखी विस्तार हुँदैछ भनिएको छैन।वैंक का शाखाहरु बढेको बढ्यै छन भन्ने कुरा कतै उल्लेख गरिएको पाइदैन, बरु 'जम्मा ४०%' नेपालीमा वैंक सम्म पहुँच छ भनिएको छ।
व्यापार घाटा प्रस्तुत गर्ने क्रममा श्वेतपत्रमा २५ वर्ष अगाडि रु २२ अरब व्यापार घाटा रहेकोमा अहिले ४२ गुणाले बढेको छ भनिएको छ। तर त्यसलाई अर्को तरिकाले पनि प्रस्तुत गर्न सकिन्थ्यो। २५ वर्ष अगाडि देशको कुल बजेट को ७१% बजेट घाटा रहेकोमा अहिले बजेटको ७५% छ। अर्को, तरिका, त्यसबेलाको व्यापार घाटा कुल जिडिपिको १३% जती रहेकोमा अहिले जिडिपिको ३४% छ। यि तिनवटा मध्य कुनै पनि तथ्य प्रस्तुत गर्न सकिन्थ्यो, स्थिती भयावह देखाउन वहाँँहरुले आफुलाई अनुकुल हुने तथ्य प्रस्तुत गरिदिनुभएको छ।

नीजिकरण असफल हो?
=========
अहिले सार्वजनीक संस्थानहरुको कोषमा नभएको दायित्वनै ३२ अरब भन्दा माथिको छ। ति सार्वजनिक संस्थामा देशले लगानी गरेको ऋण आव २०७२/७३ रु १ खरब ३० अरब भन्दा बढी भएको छ। आर्थिक वर्ष २०७२/७३ मा सरकार ले चलाएका सबै उद्योग (दुग्ध बिकास संस्थान्, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी, हेटौंडा सिमेन्ट , नेपाल औषधी लिमिटेड, उदयपुर सिमेन्ट , ओरिण्ड म्याग्नेसाइड ) घाटामा थिए। ट्रेडिङ मात्र गर्ने नेशनल ट्रेडिङ, खाद्य संस्थान्, टिम्बर कर्पोरेशन, सेवा दिने नेपाल वायुसेवा निगम , सांस्कृतिक संस्थान, जनक शिक्षा सामग्री लिमिटेड, नेपाल टेलिभिजन सबै घाटामा थिए। नेपाल टेलिकम लाई हटाउने हो भने सार्वजनिक संस्थानहरुको आर्थिक वर्ष २०७१/७२ को संचित घाटा ५८ अरब भन्दा बढी र २०७२/७३ को संचित घाटा ४३ अरब रुपैया जती छ। (स्रोत: सार्वजनिक संस्थानहरुको वार्षिक स्थिती समिक्षा (२०७४), अर्थमंत्रालय)
श्वेतपत्रमा नीजिकरण अध्ययन नभै लहडमा गरिएको थियो भन्ने 'बोल्ड' अभिव्यक्ती आयो, तर कसको लहडमा गरिएको थियो भन्ने आएन। त्यसबेला अर्थमंत्रालय सम्हाल्नु भएका महेश आचार्यलाई कसैले भ्रष्टाचारी भनेर भनेको चाँही मैले सुनेको छैन। मैले वहाँँ र डा राम शरण महतलाई चार पाँच महिना अघी नीजिकरणमा भएको बदमासी कोबारेमा सोधेको थिएँ। वहाँँहरु दुबैले आफुहरुलाई राजाको भक्तबहादुर आयोग, त्यसपछी मंत्रीभएका सबै दलका अर्थमंत्रालय हाँक्न खोज्नेहरुले फसाउन कागज खोज्दा अहिलेसम्मा सकेका छैनन, हामीले यस्तै प्रश्न आउछ भनेर पारदर्शी भएर काम गरेका थियौं भन्नु भएको थियो।
एक सर्वसाधारणको हिसाबले म के निवेदन गर्नचाहन्छु भने यो विगतमा भएको निजिकरणको परे फेरी छानविन गरौं , कसैले पैसा खाएको रहेछ भने परे फेरी छानविन गरौं र जनतालाई न्याय दिऔं। पाँच वर्षको लागि आएको स्थिर सरकारले आरोप लगाएर मात्र बस्दा मानिसले राम्रो सोच्दैनन।
अर्थशास्त्रमा It takes a model to be a model भनिन्छ। नीजिकरण असफल हो भने के हो त विकल्प? सन २००१ तिर मुलुक को सरकारी संस्थान हरु सबै को बिजोग थियो। वैंकहरुको NPL ६०% सम्म थियो, विद्युत प्राधिकरण वा आयल निगम त अस्ती सम्म घाटामा थिए। अहिले पनि बाँकी भएका सरकारी कम्पनिहरुको कुनै राम्रो पक्ष बाँकी छैन। एकाधिकार पाए त्यही एकाधिकार प्रयोग गरेर फाईदामा जान्छन नत्र केही गर्न सक्दैनन। तर हाम्रो मुलुकमा मात्र त्यो समस्या हैन, सरकारी कम्पनिहरु धेरै भएका हाम्रा छिमेकी दुई मुलुकका सरकारी कम्पनीहरुले पनि लामो समय देखी सार्वजनीक वित्त हेर्नेहरुलाई धुरुक्क रुवाएका छन भने जनतालाई तल्लो गुणस्तरको सुविधा दिएका छन। श्वेतपत्रको बुँदा २१ आँफैमा पनि किन हाम्रो देशको उद्योग धराशायी भए भन्ने प्रश्नको केही उत्तर दिइएको छ: (क) कारोबार लागत धेरै हुनु (ख) संस्थागत लगानी कम हुनु (ग)औद्योगिक उत्पादन को बजार बिकास नहुनु र (घ) आयातित कच्चा पदार्थमा भर पर्नु। सरकारी स्वामित्वमा यि समस्या (ख बाहेक) त्यसै त जाँदैनन। बरु अरु समस्या थपीइन्छन।
मेरो बिचारमा नीजिकरण आँफैमा असफल नभै नीजिकरणको अभ्यासको क्रममा केही गल्ती भएको थियो भन्ने कुरा मात्र सहि हो।श्वेतपत्रले यो कुरा भन्न खोजेको हो जस्तो त देखिन्छ तर फेरी व्यक्तिको नियतलाई नै प्रश्न गरेर यो पोजिसनलाई गोलमटोल गरिदिएको छ। सबैभन्दा ठुलो गल्ती निजी कम्पनी सकार्नेले त्यो कम्पनी चलाऊन सकारेको भनेर बुझ्नुपर्नेमा त्यो कम्पनी कुडाकरकट मुल्यमा बेचेर जग्गा घडेरी बनाउन सकारिएको जस्तो देखियो। त्यो नीजिकरणको अभ्यासको क्रमको एक मुख्य गल्ती भयो। सबैले जान्न चाहेको पक्ष के हो भने के त्यसो गर्दा नीजिकरण प्रकृयामा मुख्य भूमिका खेल्नेहरुले व्यक्तिगत फाईदा लिएका थिए? यदी लिएका थिए भने त्यो पाप नै भयो र ति व्यक्तिहरुलाई छानविन गरेर जेल पठाउनुपर्छ। हैन भने काम गर्दा भूलवस भएको गल्ती हो र त्यो थाहा पाइएपछी सच्याइएको थियो भने त्यसलाई त्यसको रुपमा नै लिनुपर्छ। नीजिकरण हुँदा धेरै पार्टीका अर्थमंत्रीहरु भएका छन। पछील्ला नीजिकरण सँयुक्त सरकारको अभ्यास भएको बेला नीजिकरण गरिएका नेपाल दुरसञ्चार कम्पनी (सन २००८ मा), लुम्बिनी चिनी कारखाना र रोजिन एन्ड टर्पेन्टाइन (सन २००६ मा) , चिया बिकास निगम (सन २०००मा) हुन भने खारेज गरिएका हिमाल सिमेन्ट, शिल्पकला बिक्री भण्डार , कोल लिमिटेड, हेटौंडा कपडा, विरगञ्ज चिनी कारखाना , कृषि औजार कारखाना, नेपाल यातायात संस्थान (सन २००२मा ) र कृषि चून उद्योग र ड्र्लिङ कम्पनी सन २००६ मा खारेज गरिएका हुन। कसले कसरी काम गरेका थिए हेरौ।
फेरी पनि यदी अहिलेको सरकार लाई नीजिकरण अभ्यास प्रती 'शंका' छ भने कुनै अर्थशास्त्र र कानून दुबै बुझेको रेस्पेक्टेबल मान्छे लाई लगाएर यसको मुल्यांकन गर्न लगाउनुपर्छ जस्तो मलाई लाग्छ। घुस खाएर मुलुक को सम्पत्ति बेच्ने हरुलाई जेल पठाऔं, इमान्दारीपुर्वक काम गरेकाहरुलाई सफाइ दिऔं।कुनै कुरालाई दशकौं सम्म राजनीतिक मुद्दा बनाएर बस्नु राम्रो हैन। त्यसको closure खोज्नुपर्छ।

सार्वजनीक खर्चको बारेमा चित्रण राम्रो पक्ष
====
गएको दुई वर्षमा मुलुकको सार्वजनीक खर्चको व्यवस्थापनामा दूरगामी असार पार्ने केही काम भए: (१) राजनीतिक कारणले कतिपय प्रोजेक्ट लाई त्यसै 'स्रोत सुनिश्चितता' भनेर भनिदिदा अती नै अराजकता बढ्यो तर त्यसका बेनेफिसियरी भने सबै पार्टीका प्रभावशाली नेतागण हुन। बुँदा ४३ र ४४ मा मुलुक माथी गरिएको त्यस्तो घातलाई स्पष्टसँग लेखिदिनुभएकोमा अर्थमंत्रीको म प्रशंसा गर्न चाहन्छु। यो भन्दा अघी महराले बजेट ल्याउदा के आधारमा ट्रेजरी संचितिको गलत प्रक्षेपण गरेका थिए ? अथवा महराले वीमा आदी कम्पनी स्विक्रिती गर्दा के आधारमा गरेका थिए भन्ने अर्थमंत्रीको प्रश्न जायज छ। (२) त्यसबाहेक अर्थमंत्रीज्युले बुँदा ४८ मा राख्नु भएका आर्थिक अराजकताका कुराहरुले मुलुकलाई लामो समय देखी घात गरेको छ र यस अघिको देउबा सरकारदेखी हामीले थाहा पाएका सबै सरकारहरु त्यसमा नियतवश चुकेका छन। खनियाँले TU मा १४२० जना अांशिक प्राध्यापक करारमा नियुक्त गरेका रहेछन। कही मेडिकल खर्च भनेर जथाभावी पैसा बाडिएका रहेछन, कहि के भनेर। मेरो अर्थमंत्रीलाई सुझाव के छ भने यि सबै निर्णयहरु खारेज गरिदिनुस्। तपाईंलाई राष्ट्रिय सभा सदस्य बनाउन पनि देउबाको निर्णय खारेज गरिएको थियो भने अब देशलाई हित गर्न पनि यि पुराना दीर्घकालीन असर पार्ने निर्णयहरु खारेज गर्दिनुस। तर आफु चाँही सामाजिक सुरक्षा भत्ता बढाउने , अरुले मुटु कलेजो रोगीलाई वर्षको १ अरब को भत्ता दियो भनेर गनगन गर्ने चाँही गर्न पाइदैन।
निव्रित्तिभरण आदिको खर्च धान्न नसक्ने भयो भनेर सरकारहरुले केही समय देखिनै कामहरु गरिरहेका छन। यसमा नतिजा आउने गरी काम गर्न स्थिर र बलियो सरकार नै चाहिन्थ्यो। योगदानमा आधारित निव्रित्तिभरणहरु गर्नलाई भर्खर आएको योगदानमा अाधारित सामाजिक सुरक्षा ऐनले सहयोग पुर्याउला।यसमा अर्थमंत्रीज्युले राम्रो कदम चाल्नु होला भन्ने आशा गर्न सकिन्छ। के गर्ने भन्ने प्रश्न भने श्यामश्वेत छैन: एकातर्फ सबै जनताले व्रिद्ध अवस्थामा आफुलाई सुरक्षा खोज्छन र मनमोहन अधिकारीको पाला देखिनै सबै सरकारहरुले व्रिद्ध अवस्थाको सुरक्षालाई प्रत्याभूती गर्न स्रोतले भएसम्म गर्न खोजिरहेका छन। यस्तो अवस्थामा जीवन भरी काम गरेर निव्रित्त भएका व्यक्तिलाई केही न केही त गर्न पर्‍यो।

समस्या २९ पेज, समाधान १ पेज??
======================
गंभिर नभै कन आर्थिक समस्याहरुको समाधान खोज्न सकिदैन। आजका दिन सम्म सबैजसो पार्टीका नेताहरुको भनाइ के रहेको छ भने 'म इमान्दार भएकोले म आएपछी समस्या स्वत: समाधान भईहाल्छ, देश स्वत: बिकास भईहाल्छ'। खासमा हाम्रो मुलुकमा घुस छुदै नछुने नेताहरु पनि प्रधानमंत्री भएका थिए, तर त्यसले मुलुकलाई स्वत: विकसित गराएन। चीनका नेताहरु एक से एक भ्रष्ट छन, तर मुलुक विकसीत छ। किनभन्दा बिकासको लागि स्पष्ट र सहि कार्यदिशा चाहिन्छ, अरुलाई खराब भनेर मात्र हुँदैन र आफु भ्रष्ट नभएर मात्र हुँदैन। यो श्वेतपत्रमा समाधान का concrete कुराहरु नआएकोले यसलाई कसरी मुल्यांकन गर्ने? सार्वजनीक वित्तको अनुशासन हिनता, बिकास खर्च नभएको स्थिती, व्यापार घाटा रकम बढ्दै गएको स्थिती सबैलाई थाहा छ र त्यस बारेमा काठमाडौंमा कती बैठक भईसके, हरेक प्रधानमंत्री आउँदा यि कुराहरु कती पटक भए भन्नेकुरा धेरै अर्थशास्त्रीहरुले बुझेकै कुरा हो । मुख्य कुरा समाधान के र त्यसलाई कसले लागू गर्छ? नयाँ अर्थमंत्रीको पनि यसैले परिक्षा हुन्छ। अर्को वर्ष आर्थिक सुचकहरु पुन: हेर्न हामी सबै हुनेनै छौ।
र अन्तमा: अर्थतन्त्र यस्तो अवस्थामा रहेछ भने अर्थमंत्रालयले कसैको 'लहड' को लागि पानीजहाज किन्ने पैसा दिन होलाकी नहोला?
छ ।
अर्थशास्त्री बिश्व पौडेलले आफ्नो फेसबुक वालमा लेख्नु भएको स्वेत पत्र बारेको विश्लेषणलाइ यहाँ  साभार गरिएको हो।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links