काठमाडौंका घरबेटी : डेरावालसँग भाडा असुल्ने कर छल्ने !

राष्ट्रिय जनगणना, २०६८ अनुसार काठमाडौँ महानगरका ६६ प्रतिशत परिवार भाडामा बस्छन् । अर्थात् १ लाख ६७ हजार परिवार नियमित रूपमा घरधनीलाइ भाडा बुझाउँछन् । कोठा-फ्ल्याट भाडामा लगाएवापतको रकममा १० प्रतिशत कटाएर घरधनीले स्थानीय सरकारलाइ कर तिर्नुपर्छ । घरधनीहरूले न्यूनतम एउटा परिवारबाट मासिक ५ हजार भाडा उठाएको मान्ने हो भने पनि वार्षिक ६ हजार रूपैयाँ करवापत काठमाडौँ महानगरमा उठ्नुपर्छ । यस हिसाबले वर्षमा कम्तीमा १ अर्ब रूपियाँ घरबहाल कर उठ्नुपर्छ । यो त भयो आवासीय प्रयोगमा लगाइएको घरबहालको न्यूनतम हिसाब । यसबाहेक ससाना सटर, स्टलदेखि, संघसंस्था, निजी कम्पनीका कार्यालय र ठूला व्यापारिक प्रतिष्ठानको हिसाब गर्ने हो भने घरबहाल करको आँकडा अझै कैयौँ गुणा बढी हुन्छ । तर काठमाडौं महानगरले गत आर्थिक वर्षमा ५६ करोड ३५ लाख रूपैयाँ मात्र घरबहाल कर उठाएको छ, त्यो पनि आवासीयबाट निकै कम र संघसंस्था एवं व्यापारिक प्रतिष्ठानका कारण उठेको हो । घरभाडा उठाएपछि त्यसको निश्चित हिस्सा कर तिर्नुपर्छ भन्ने दायित्वको बोध प्रायः घरधनीमा देखिँदैन । कुनै सिफारिस वा अन्य कागजी प्रक्रिया पुर्याउनुपर्यो भने बाध्यात्मक अवस्थामा नाम मात्रको कर तिर्ने गरिएको छ । धेरैजसो घरधनीले त आफूले नतिरी बहाल लिने पक्षमाथि नै करको बोझ थोपरेका छन् । घरभाडावापतको कर तिरेको छ छैन, वास्तविक रकम लुकाएर नाम मात्रको भाडा देखाएको पो छ कि भनेर अनुमगन राज्यका तर्फबाट समेत भएको छैन । घरभाडा कमाउने तर कर तिर्न आनाकानी गर्नेहरूलाइ छूट दिइरहने हो भने करछलीको संस्कृति मौलाइरहनेछ । त्यसैले महानगरले सबै घरधनीलाइ करको दायरामा ल्याउन विशेष कदम चाल्नुपर्ने देखिन्छ ।

यो समाचार  कान्तिपुरटिभी डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links