सेयर बजारबाट सरकारको कर १२ गुणा र ब्रोकरको कमिसन ८ गुणा बढ्यो

गत आर्थिक वर्ष ०७७/७८ मा करिब १५ खर्बको सेयर कारोबार हुँदा सरकारले १४ अर्ब कर उठाएको छ  । त्यस्तै, लगानीकर्ताले कमिसनबापत मात्रै ब्रोकरलाई ११ अर्ब रुपैयाँ बुझाएका छन् । यसरी लगानीकर्ताले शुल्क, कमिसन र पुँजीगत लाभकरबापत समेत गरी २५ अर्ब रुपैयाँ खर्च गरेका छन् । वार्षिक सेयर कारोबार नै १ खर्ब ५० अर्बबाट १० गुणा बढेपछि कर र ब्रोकर कमिसन रकमसमेत उच्च रूपमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षसम्म सरकारले व्यक्तिलाई ५ प्रतिशत र कम्पनीलाई १० प्रतिशतका दरले पुँजीगत लाभकर लिँदै आएको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का अनुसार लगानीकर्ताबाट सरकारले गत आवमा १४ अर्ब १४ करोड पुँजीगत लाभकर पाएको छ । त्यो अघिल्लो आव ०७६/७७ को तुलनामा १२ गुणा बढी हो । सो आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट पुँजीगत लाभकरबापत १ अर्ब १७ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । 

गत आवमा १४ खर्ब ६० अर्बको सेयर किनबेच हुँदा लगानीकर्ताले प्रत्येक कारोबार रकमका आधारमा धितोपत्र बोर्डलाई शुल्कबापत ४३ करोड र कारोबार कमिसनबापत ब्रोकरलाई १० अर्ब ४२ करोड बुझाएका छन् । अघिल्लो आर्थिक वर्षमा ब्रोकरको कमिसनबापत १ अर्ब ३९ करोड रुपैयाँ संकलन भएकोमा त्यो ८ गुणा बढेर १० अर्ब ८५ करोड पुगेको हो । 

३ वर्षपछि गत पुसमा ब्रोकर कमिसन परिमार्जन गरिएकाले गत आवमा दुई थरी कमिसन २ दरमा लागू भएको थियो । १३ पुसअघिसम्म बजारमा ३ खर्ब ४८ करोडको सेयर कारोबार हुँदा ब्रोकर कमिसनबापत औसत शून्य दशमलव ४५ प्रतिशतका आधारमा लगानीकर्ताले ३ अर्ब १३ करोड रुपैयाँ बुझाएका थिए । त्यसपछि ११ खर्ब रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले कमिसनबापत ७ खर्ब २९ करोड खर्चिएको तथ्यांक छ । १३ पुसयता औसत शून्य दशमलव ३३ प्रतिशतका दरमा कमिसन शुल्क लाग्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले सेयर किन्दा र बेच्दा दुवैमा शुल्क र कमिसन लाग्ने गर्छ । यसरी कुल १४ खर्ब ६० अर्ब रुपैयाँबराबरको कारोबार भएको बजारमा लगानीकर्ताले २९ अर्ब २० करोड रुपैयाँका आधारमा शुल्क र कमिसन बुझाउँछन् । 

हरेक कारोबारमा धितोपत्र बोर्डले शुल्कबापत शून्य दशमलव शून्य १५ प्रतिशत र ब्रोकरमार्फत उठेको कमिसन रकमबाट थप शून्य दशमलव ६ प्रतिशत रकम प्राप्त गर्छ । नेप्से र सिडिएससीले पनि कमिसन रकमबाटै २० प्रतिशत प्राप्त गर्छन् । यसरी गत वर्ष धितोपत्र बोर्डले शुल्कबाहेक कमिसनबापत ६ करोड २५ लाख, नेप्से र सिडिएससीले २ अर्ब ८ करोड र ब्रोकरहरूले ८ अर्ब २७ करोड रुपैयाँ पाएका छन् । 

थप विस्तारमा पढ्न यो लिंकमा क्लिक गर्नुहोस  नयाँ पत्रिका । (यो समाचार नयाँ पत्रिका ४ साउन २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links