ठूला करदाता कार्यालयको पहिलो चौमासिक : कर संकलन १४.२९ प्रतिशत वृद्धि

काठमाडौं । ठूला करदाता कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ४ महीनामा गत आवको सोही अवधिको तुलनामा १४ दशमलव २९ प्रतिशत बढी कर संकलन गरेको छ । कार्यालयले गत आवको साउनदेखि कात्तिकसम्म रू. ३३ अर्ब कर संकलन गरेकोमा चालू आवको सोही अवधिमा करीब रू.३८ अर्ब कर उठाएको हो । यद्यपि, कार्यालयले सो अवधिमा लक्ष्यभन्दा कम कर संकलन गरेको छ । कार्यालयले ४ महीनामा रू. ४७ अर्ब कर उठाउने लक्ष्य पाएको थियो । 

कार्यालयले चालू आवमा २ खर्ब ३४ अर्ब रुपैयाँ कर संकलन गर्ने लक्ष्य पाएको छ । कार्यालयले विभाजन गरेका ६ ओटै क्षेत्रको कुल कर संकलन गत आवको तुलनामा वृद्धि भएको छ । कार्यालयका अनुसार विशेषगरी व्यापार, बैंक तथा फाइनान्स र गैरकृषि क्षेत्रबाट गत आवको सोही अवधिको तुलनामा कर संकलन धेरै बढेको छ । 

कार्यालयले आफूमातहतका करदातालाई कृषि, बैंक तथा फाइनान्स, बहुराष्ट्रिय कम्पनी, उद्योग, सेवा र व्यापार गरी ६ क्षेत्रमा विभाजन गरेको छ । गत आवको प्रथम चौमासिकको तुलनामा चालू आवको सोही अवधिमा व्यापार क्षेत्रबाट कर संकलनमा सर्वाधिक ३८ दशमलव ६ प्रतिशत वृद्धि भएको कार्यालयको तथ्यांक छ । चालू आवको ४ महीनामा कार्यालयले व्यापार क्षेत्रबाट रू. ३ अर्ब ४३ करोड कर संकलन भएको छ, जबकि गत आवको सोही अवधिमा उक्त क्षेत्रबाट रू. २ अर्ब ४७ करोड कर संकलन भएको थियो ।

यस्तै, गैरकृषिमा २७ दशमलव ९ प्रतिशतले वृद्धि हुँदै रू. २ अर्ब ६३ करोड कर संकलन भएको छ भने बैंक तथा फाइनान्स क्षेत्रमा २७ दशमलव १ प्रतिशतले वृद्धि भई रू. १३ अर्ब ९१ करोड कर कार्यालयले उठाएको छ । कृषि क्षेत्रमा ५ दशमलव १, बहुराष्ट्रिय कम्पनीमा ६ दशमलव ८ र सेवा क्षेत्रमा १५ दशमलव १ प्रतिशतले कर संकलन बढेको कार्यालयको तथ्यांक छ ।

गत आवमा व्यापार क्षेत्रअन्तर्गत अटोमोबाइल्स तथा इलेक्ट्रोनिक्स क्षेत्रबाट कम कर संकलन भएको थियो । सवारी किन्ने कर्जामा नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै अटोमोबाइल्स क्षेत्रमा मन्दी छाएको थियो भने अवैध मोबाइल आयातमा कडाइ गरेसँगै किनबेचमा कमी आएको थियो । तर, गत ७ महीनायता सवारीसाधनको किनबेच बढेसँगै अटोमोबाइल्स क्षेत्रमा २१ प्रतिशतले कर संकलन बढेको कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले जानकारी दिए ।

‘चालू आवको प्रथम चौमासिकमा सबै क्षेत्रको कर संकलन बढेको छ । यद्यपि, यसमा टीडीएसबाट धेरै कर कट्टी भएको छ,’ उनले भने, ‘चालू आवको ६ महीनापछि मात्र ठूला करदाताहरूले आफूले तिर्ने करको प्रारम्भिक विवरण बुझाउनेछन् । त्यसपछि सबै क्षेत्रको वास्तविक अवस्था थाहा हुनेछ ।’

केही उपक्षेत्रबाट कर संकलनमा कमी
कार्यालयका अनुसार केही उपक्षेत्रबाट भने कर संकलन घटेको छ । बैंक तथा वित्तीय क्षेत्रअन्तर्गतको बीमाक्षेत्रबाट २ दशमलव ८ प्रतिशतले मूल्य अभिवृद्धि कर (भ्याट) घटेको छ । पछिल्लो वर्षयता बीमा क्षेत्रमा भ्याट रकम घट्दै आएको कार्यालयको तथ्यांक छ । यस्तै, बहुराष्ट्रिय कम्पनीबाट पनि भ्याट संकलनमा १० दशमलव ६ प्रतिशतले कमी आएको छ । 

त्यस्तै, सूर्तीजन्य वस्तु, ब्रुअरी, क्यासिनो, वेभरेज, सुपरमार्केट, होटल तथा रेस्टुराँ, फाइबर, निर्माण, अस्पताल, डिस्टिलरी, व्यवस्थापन, शिक्षा, टेक्सटाइल र लगानी कम्पनी जस्ता उपक्षेत्रबाट संकलन हुने कुल कर घटेको कार्यालयको तथ्यांकले देखाउँछ ।

उत्तम अर्याल

(मिति  Nov 26, 2019 मंगलवार आर्थिक अभियान  मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं   आर्थिक अभियान  को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links