आयकर ऐन बमोजिम ब्याज र शुल्कको गणना (भाग १)

व्याज, शुल्क र सजाय के मा लाग्छ ?

समयमा कर दाखिला नगरेमा ब्याज लाग्दछ । समयमा विवरणहरु (आय विवरण, किस्ताबन्दीको अनुमानित करको विवरण) दाखिला नगरेमा वा कागजात नराखेमा वा आयकर ऐन वा नियमको कुनै व्यवस्थाको पालना नगरेमा वा झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा तथा कर सम्बन्धी कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गरेमा शुल्क लाग्दछ । त्यसै गरी अदालतको फैसला अनुसार कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूरमा मतियार हुने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा तथा ऐनको पालना नगर्ने व्यक्तिलाई नगद जरिवाना वा कैद वा दुबै सजाय (अवस्था अनुसार) हुने व्यवस्था आयकर ऐनले गरेको छ ।

कुन कुन कर समयमा नबुझाएमा व्याज लाग्दछ ?

दाखिला गर्नु पर्ने भनि आन्तरिक राजस्व कार्यालयले गरेको सूचना अनुसारको कर समयमा नबुझाएमा, किस्ताबन्दी कर, अग्रिम कर वा आय विवरणसाथ दाखिला गर्नु पर्ने कर समयमा नबुझाएमा ब्याज लाग्दछ ।

आयकरमा व्याजको दर कति छ ?

ब्याजको दर वार्षिक १५ प्रतिशत छ । यसलाई सामान्य ब्याजको दर भनिन्छ । 

व्याजको हिसाब कुन आधारमा गरिन्छ ?

कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याज दरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्दछ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनु पर्ने मितिबाट आगामी आ.ब.को असोज मसान्तसम्मको अवधिको लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याज दरले ब्याज लाग्दछ । आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको आश्विन मसान्त पश्चात्को कर दाखिला नभएसम्मको अवधिको लागि तिर्न बाँकी रकममा ब्याज लाग्दछ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छूट हुँदैन । यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अबस्थामा आर्थिक बर्ष समाप्त भएको असोज मसान्त सम्म किस्ता कम बुझाएको हिसाबले व्याज लाग्दछ भने कार्तिक १ देखि कर ढीला बुझाएको हिसाबले व्याजको गणना गरिन्छ ।

शुल्क भनेको के हो ? शुल्क र व्याजको बीचमा के फरक छ ?

शुल्क भनेको विवरण नबुझाउने, झुठा विवरण बुझाउने, भ्रमपूर्ण वा झुठा विवरण बनाउन मतियार भई मद्दत गर्ने वा आयकर कानून (ऐन नियम) को पालना नगर्ने व्यक्तिलाई कर प्रशासनले/आ.रा.वि.ले लगाउने एकप्रकारको आर्थिक दण्ड हो । ब्याज भनेको कर रकम ढिला तिरे वापत असूल गरिने आर्थिक क्षतिपूर्ति वापतको रकम हो अर्थात् कर दाखिला नगरी वा ढिला गरी अन्यत्र लगानी गर्ने अवस्थाबाट सरकारी राजस्व संकलनलाई प्रभावित हुन नदिन र त्यसो भएमा सो को क्षतिपूर्ति दावी गर्न लगाइने आर्थिक दुरुत्साहन स्वरुपको रकम हो ।

व्याज र शुल्कको गणना आफैले गर्ने हो वा कसले गर्छ ?

ब्याज र शुल्कको निर्धारण आ.रा.वि.ले अर्थात् सम्बन्धित आन्तरिक राजस्व कार्यालय ,करदाता सेवा कार्यालयले गर्दछ र सोको सूचना ऐनको दफा १०२ बमोजिम जारी गरिने सूचनामा संशय वा संशोधित कर निर्धारण आदेशको साथ संलग्न गरी विभागले ( आन्तरिक राजस्व कार्यालयले) पठाउन सक्दछ ।

शुल्क कुन कुन अवस्थामा गणना गरिन्छ ?

कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्दछ । झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा शुल्क लाग्दछ । कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सल्लाह दिने मतियारलाई शुल्क लाग्दछ । साथै यी कुराहरु बाहेक आयकर ऐन वा नियमको कुनै व्यवस्था पालना नगर्ने व्यक्तिलाई पनि शुल्क लाग्दछ । 

(बाँकी प्रश्नहरु भाग २ मा प्रकाशित हुनेछन् )

Social Links