करमा साना व्यवसायीलाई सुविधा- बैंकबाटै आय विवरण बुझाउन र कर तिर्न सक्ने


काठमाडौं- साना करदाताले कर कार्यालय नै नगई आफ्नो आय विवरण र कर बुझाउन सक्ने भएका छन्। वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने त्यस्ता करदाताले बैंकबाट आय विवरण र कर रकम बुझाउने तथा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको हो।

आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयले साउन १ गतेदेखि साना करदाताले आफ्नो विवरण र कर बैंकबाटै भुक्तानी गर्न सक्ने र बक्यौता नभएका करदताले प्रणालीबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी प्रणाली विकास गरेका छन्। यसअनुसार बैंकमा भौचरसँगै करदाताले आफ्नो आय विवरण पेश गर्न गर्ने र पैसा तिर्न सक्नेछन्। उनीहरूलाई प्रणालीले कर चुक्ता प्रमाणपत्र दिनेछ। 

'पहिले विवरण बुझाउन कार्यालय जानुपर्ने, त्यसपछि बैंकमा गएर पैसा तिर्ने र त्यो भौचर फेरि कर कार्यालयमा लैजानुपर्ने व्यवस्था थियो, अहिले यसैलाई सहजीकरण गर्न खोजिएको हो,' आन्तरिक राजस्व विभागका उपमहानिर्देश थानेश्वर गौतमले भने, 'करदाताले अब बैंक भौचरमै आय विवरण पनि उल्लेख गरेर कर बुझाउने छन्।' 

 

बैंकले प्रणालीमा करदाताको स्थायी लेखा नम्बर प्रविष्ट गरेसँगै उसको विवरण र तिरेको कर रेभेन्यू म्यानेजमेन्ट इन्फरमेनसन सिस्टम (रिम्स)मा जान्छ। करदाताले प्रणालीबाट नै करचुक्ता प्रमाणपत्र लिन सक्छ। 'हामीले अनलाइनबाट नै करचुक्ता प्रमाणपत्र दिन सक्ने व्यवस्था मिलाएका छौँ, कसैलाई हस्ताक्षर गरेकै प्रमाणपत्र चाहियो भने मात्रै अब कार्यालय गए भयो,' गौतमले भने। 

विभाग र महालेखा नियन्त्र कार्यालयले बैंकहरूलाई नयाँ व्यवस्थाअनुसारको भौचर छपाइ गरी साउन १ गतेबाट पूर्ण कार्यान्वयनका लागि तयार रहन निर्देशन दिइसकेका छन्। 'पूर्वतयारी भइसक्यो, अब कार्यान्वयनमा जान्छौँ,' गौतमले भने। 

 

स्थायी लेखा नम्बर लिएका ४ लाखभन्दा धेरै करदाताले २० लाखसम्म कारोबार गर्ने गरेका छन्। गाउँपालिका, नगरपालिका र महानगरपालिकामा दर्ता भएअनुसार उनीहरूले क्रमश: २५ सय, ४ हजार र ७५ सय रूपैयाँ कर बुझाउने गरेका छन्। अबको व्यवस्थासँगै यस्ता साना करदाता कर कार्यालयमा गएर विवरण बुझाउने, बैंकमा पैसा तिर्ने र फेरि कर कार्यालय गएर भौचर बुझाउने झन्झटबाट मुक्त भएका छन्। 

बजेटमा आएको व्यवस्था साउनबाटै कार्यान्वयनमा
सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्यमा २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमाट बुझाउन सक्ने र बैंकमार्फत कर भुक्तानी गर्न आय विवरणसमेत बुजाउन सक्ने व्यवस्था मिलाउने घोषणा गरेको थियो। बक्यौता नरेहका करदाताले पेश गरेको आय विवरणअनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट लिन सक्ने सक्ने व्यवस्था मिलाइएको घोषणा बजेट बक्तव्यमार्फत गरिएको थियो। 

यही घोषणाअनुसार अब बैंकबाटै आय विवरण र कर बुझाउन सकिनेछ। करदाताले स्वचालित प्रमाणपत्रबाट कर चुक्ता प्रमाणपत्र पाउनेछन्। 'बजेटमा आएको व्यवस्था तत्काल कार्यान्वयन हुने चरणमा पुगेको छ,' गौतमले भने। 

(यो समाचार  नेपाललाइभ २४ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links