कर नउठे पनि अन्तिममा हतारमै खर्च

२०७५ साल साउन १ गते शुरु भएको आर्थिक वर्ष आज राति १२ बजेदेखि सकिंदै छ। सामन्यतया बेलुका पाँच बजे कार्यालय समय सकिने भएपनि आज भने विकासे निकाय र हिसाब राख्ने सरकारी निकाय भने जागाराम छन्।

बजेटबाट विनियोजन भएको रकम खर्च गर्न पाउने आज अन्तिम दिन भएकाले सकेसम्म चेक काट्ने र भुक्तानी दिने काम आज विहानैदेखि तीब्र पारिएको छ। भन्सारदेखि कर कार्यालयसम्म पनि त्यस्तै अवस्था छ।

सरकारले बजेटबाट लिएको लक्ष्यअनुसार कर उठाउन भने असफल हुने देखिएको छ।

आजै सकिने आर्थिक वर्षको बजेटबाट ८ खर्ब ३१ अर्ब राजस्व उठाउने केन्द्रीय सरकारको लक्ष्य थियो। तर आज राति १० बजेको तथ्यांकअनुसार त्यो सम्भावना धेरै टाढा रहेको छ।

अर्थमन्त्रालय स्रोतका अनुसार केहीबेर अघिसम्म सरकारी राजस्व खातामा ७ खर्ब ३२ अर्ब रुपैयाँमात्र जम्मा भएको छ। राति १२ बजेसम्म रकम दाखिला हुने भएकाले त्यसमा केही बढोत्तरी भएपनि उल्लेखनीय नहुने अधिकारीहरुले बताएका छन्।

अर्थमन्त्रालयका अधिकारीहरुका अनुसार बजेटले लिएको शुरुवाति लक्ष्यको तुलनामा १० बजेसम्मको तथ्यांकअनुसार १ खर्बभन्दा न्यून राजस्व हो।

यद्यपी सरकारले दुईपटक यो लक्ष्यमा संसोधन गरिसकेको छ। मध्यावधि समिक्षाबाट ८ खर्ब १५ अर्ब निर्धारण गरिएकोमा बजेटबाट त्यसलाई घटाएर ७ खर्ब ५८ अर्बमा झारिएको थियो।

अन्तिम पटक संसोधन गरिएको लक्ष्यअनुसार पनि राजस्व संकलन नहुनेमा अर्थ मन्त्रालयकै अधिकारीहरु ढुक्क छन्।

'अहिलेसम्मको स्वभाविक ट्रेन्ड हेर्दा राजस्वको लक्ष्य कुनै पनि हालतमा पूरा हुने देखिदैन तर यसमा अग्रिम कर कट्टी गर्न लगाउनेजस्ता काम भएमा भने भन्न सकिंदैन' अर्थमन्त्रालय सम्बद्ध स्रोतले भन्यो।

कर नउठे पनि खर्चमा भने हतारो

लक्ष्यअनुसार कर उठ्न नसकेर के भयो। खर्चमा भने सरकार फेरि जागरुक देखिएको छ। वर्षका ११ महिना सुस्त देखिएको सरकार अन्तिम महिना निकै आक्रमक देखिएको छ।

गएको ३ दिनमा मात्र सरकारले झन्डै १ खर्ब रुपैयाँ भुक्तानी गरेको छ।

यसरी असारमै आएर हुने खर्चलाई वित्तीय अनुशासनका कोणबाट गलत मानिन्छ। अर्थमन्त्री डा युवराज खतिवडाले असारमा धेरै हुने सार्वजनिक खर्च नियन्त्रण गर्ने बताउँदै आएका थिए।

राति १० बजेको तथ्यांकअनुसार सरकारले १० खर्ब ९६ अर्ब रुपैयाँ भुक्तानी गरेको छ।

यो समाचार  सेतोपाटी डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links