एक्जिम कोड नवीकरण गर्ने समय तीन महिना थपियो

गत आवको तुलनामा १० प्रतिशत एक्जिम कोड मात्रै नवीकरण भएपछि म्याद थपियो

भन्सार विभागले आयात–निर्यात संकेत नम्बर (एक्जिम कोड) नवीकरण गर्ने म्याद तीन महिनाका लागि थप गरेको छ । भन्सार व्यापार सहजीकरण समितिको सोमबारको बैठकले एक्जिम कोड नवीकरण गर्ने समय असोज मसान्तसम्मलाई सारेको हो । 

लकडाउनका कारण निर्धारित समयमै व्यवसायीले एक्जिम कोड नवीकरण गर्न नसकेकाले म्याद थप गरिएको विभागका महानिर्देशक सुमन दाहालले बताए । उनले भने, ‘अब व्यवसायीले असोज मसान्तभित्रमा आफ्नो एक्जिम कोड नवीकरण गर्न सक्छन् ।’ 

आयातकर्ता तथा निर्यातकर्ताले लिएको एक्जिम कोड हरेक आर्थिक वर्ष सुरु हुनुअगाडि नै नवीकरण गर्नुपर्ने व्यवस्था छ । विभागले ३० हजार कोड वितरण गरिसकेको छ । गत आर्थिक वर्षमा १० हजार एक्जिम कोड नवीकरण भएका थिए । तर, चालू आवमा भने हालसम्म १५ सय एक्जिम कोड मात्रै नवीकरण भएका छन् । ‘हालसम्म करिब १५ सय एक्जिम कोड नवीकरण भएका छन्, यो गत आवको तुलनामा करिब १० प्रतिशत मात्रै हो,’ उनले भने, ‘लकडाउनका कारण कर तिर्न नसकेको, कर चुक्ताको प्रमाणपत्र लिन नसकेकोलगायत विविध कारण देखाएर व्यवसायीहरूले एक्जिम कोड नवीकरणको म्याद थप्न आग्रह गर्नुभएको थियो, उहाँहरूको आग्रह जायज लाग्यो र म्याद थपिएको हो ।’ 

एकपटकमा ५० हजारभन्दा कम मूल्यका मालवस्तु आयात गर्ने र ५ लाख रुपैयाँभन्दा कमको मालवस्तु निर्यात गर्नेका लागि भने एक्जिम कोड आवश्यक पर्दैन । तर, एकपटक एक्जिम कोड लिइसकेका व्यवसायीले जुनसुकै परिमाणको आयात–निर्यात गर्दा उक्त कोड चाहिन्छ । 

यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल, समुद्रपार निकासी–पैठारी संघलगायतले लकडाउनको कारण देखाउँदै एक्जिम कोड नवीकरण गर्ने म्याद थप गर्न आग्रह गर्दै आएका थिए । उनीहरूकै आग्रहअनुसार म्याद थप गरिएको विभागका महानिर्देशक दाहालले बताए । ‘निकासी–पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७३’ को व्यवस्थाअनुसार विभागले नवीकरण गर्नुपर्ने म्याद थपेको हो । कार्यविधिको दफा ११ मा भनिएको छ, ‘कार्यविधिको कार्यान्वयनमा कुनै द्विविधा उत्पन्न भएमा वा कुनै बाधा अड्काउ परेमा वा यसमा उल्लेख भएको कुनै विषयको व्याख्या गर्नुपरेमा महानिर्देशकले निर्णय गरेर बाधा अड्काउ फुकाउ गर्न सक्नेछ ।’

के हो एक्जिम कोड ?
आयात–निर्यात गर्ने व्यवसायीलाई प्रदान गरिने संकेत नम्बर नै एक्जिम कोड हो । यो १३ नम्बरको हुन्छ, जसको अन्त्यमा अंग्रेजी भाषाका दुई अक्षरसमेत हुन्छन् । अहिले आयात–निर्यात व्यापारका लागि एक्जिम कोड अनिवार्य छ । व्यवसायीले जुनसुकै मुलुकबाट मालवस्तु आयात गर्न वा ती मुलुकमा निर्यात गर्न एक्जिम कोड लिनैपर्छ । सरकारले वैदेशिक व्यापारलाई प्रवद्र्धन गर्दै निकासी तथा पैठारीलाई व्यवस्थित, पारदर्शी र सरलीकृत बनाउन भन्दै ‘निकासी–पैठारी संकेत नम्बर प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७३’ ल्याएको हो । सोही कार्यविधिअनुसार एक्जिम कोड वितरण तथा नवीकरण गरिँदै आएको छ । 

अब नवीकरण गर्छौँ : व्यवसायी
एक्जिम कोड नवीकरणका लागि म्याद थप गर्ने विभागको निर्णयको निजी क्षेत्रले स्वागत गरेका छन् । नेपाल समुद्रपार निकासी–पैठारी संघका अध्यक्ष सुनीलकुमार धानुका वंशलले विभागको निर्णय स्वागतयोग्य भएको बताए । व्यवसायीको मागअनुसार नै विभागले तीन महिना म्याद थपिदिएको भन्दै उनले अब नवीकरणको संख्या उल्लेखनीय दरमा बढ्ने बताए । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले यसअघि लकडाउनका कारण एक्जिम कोड नवीकरण हुन नसकेको भन्दै अब थपिएको समयमा नवीकरण हुने बताए ।

‘लकडाउनका कारण भन्सार कार्यालयसम्म जाने अवस्था थिएन, अन्य कागज पनि उपलब्ध गराउन नसकिने अवस्था थियो, जसले गर्दा १५ सयभन्दा कम मात्रै एक्जिम कोड नवीकरण हुन सकेका थिए,’ उनले भने, ‘अहिले लकडाउन खुकुलो भएको छ, अझै सहज हुँदै जाने देखिन्छ, थपिएको समयमा गत वर्षै हाराहारीमा एक्जिम कोड नवीकरण हुने अनुमान गर्न सकिन्छ ।’

(यो समाचार  नयाँ पत्रिका असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links