आठौँ कर दिवस आजदेखि मनाईंदै

काठमाडौं,

आन्तरिक राजस्व विभागले आठौँ कर दिवस आजदेखि काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा साताव्यापीरुपमा कर सचेतनामूलक कार्यक्रमका साथ मनाउने भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको दिवसको यसपालिको नारा ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ तय गरिएको छ । मन्त्रिपरिषदको २०६९ सालको निर्णय अनुसार दिवस मनाइँदै आएको छ ।

काठमाडौँमा कर दिवस मनाउन विभागका महानिर्देशक कुँवरको संयोजकत्वमा एक समिति गठन गरिएको छ । दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरिने भएको छ । यस्तै साताव्यापी कार्यक्रम अन्तर्गत करदातासँग अन्तरक्रिया, कर सचेतना कार्यक्रम, कर मैत्री यात्राअन्तर्गत हास्यव्यङ्ग्य लगायत कार्यक्रम आयोजना गरिएको महानिर्देशक कुँवरले जानकारी दिनुभयो ।

छपन्न हजार करदाता करको दायरामा

आन्तरिक राजश्व कार्यालय दमौलीमा ५६ हजारभन्दा बढी करदाता करको दायरामा आएका छन् । तनहुँ, लमजुङ, गोरखा र मनाङ कार्यक्षेत्र रहेको कार्यालयमा हालसम्म ५६ हजार ६०० करदाता करको दायरामा आएका हुन् ।

कार्यालय प्रमुख सूर्यप्रसाद सेढाइँका अनुसार व्यावसायिक लेखा नम्बरतर्फ ३१ हजार २८०, मूल्य अभिवृद्धि करतर्फ तीन हजार ३३६ र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ १८ हजार ९२७ समेत गरी जम्मा ५६ हजार ६०० करदाता करको दायरामा आएका छन् । राजश्व असुलीको तथ्याङ्क र करदाताको दर्ता सङ्ख्या हेर्दा कार्यालयको कार्यक्षेत्र र जिम्मेवारी निरन्तररूपमा वृद्धि हुँदै गइरहेको कार्यालय प्रमुख सेढाइँले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७५/७६ सम्ममा व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या २५ हजार ३४६ रहेको थियो भने मूल्य अभिवृद्धि करतर्फ दुई हजार ७०४, व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ सात हजार ३८ समेत गरी कूल ३७ हजार ३४४ करदाता रहेका थिए । सरकारले चालू आवदेखि स्थायी लेखा नम्बर ९पान० अनिवार्य गरेपछि करको दायरामा आउनेको सङ्ख्या ह्वात्तै बढेको सेढाइँले जानकारी दिनुभयो ।

वि.सं. ०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रूपमा स्थापना भएको कार्यालय वि.सं. ०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालय साविक डिभिजन सहकारी कार्यालयको भवनमा सञ्चालन हुँदै आएको छ । वि.सं. ०७५ असोज ४ गते कार्यालयको उद्घाटन भएको थियो भने ०७५ मङ्सिर १ गतेदेखि कार्यालय पूर्णरूपमा सञ्चालनमा आएको थियो ।


(मिति  November 17, 2019 केन्द्रबिन्दु मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  केन्द्रबिन्दु  को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links