गैरकर राजस्व दोब्बर


चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो चौमासिक सकिनै लाग्दा गत आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिकको तुलनामा गैरकर राजस्व झन्डै दोब्बर उठेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष कात्तिक २८ गतेसम्मको अवधिमा १४ खर्ब ११ लाख रुपैयाँ संकलन भएको गैरकर राजस्व चालू वर्षको कात्तिक २८ सम्ममा २८ खर्ब ६६ लाख पुगेको छ । यो आँकडा लक्ष्यको २५.४५ प्रतिशत हो ।
गत आर्थिक वर्षको तुलनामा अवस्था सहज बन्दै गएकाले गैरकर राजस्वमा वृद्धि भएको हुनसक्ने महालेखा नियन्त्रक कार्यालयका सहसचिव थानप्रसाद पंगेनी बताउँछन् । “गैरकर राजस्वमा पासपोर्ट बनाउँदाका शुल्क, सार्वजनिक संस्थानहरूले बुझाउने रोयल्टी, हिमाल चढ्दा लाग्ने शुल्कदेखि लिएर प्रत्यक्ष्य अप्रतक्ष्य करबाहेकका सम्पूर्ण शुल्क पर्छन्,” उनले भने, “यिनै शुल्क तथा रोयल्टीमा वृद्धि भएकाले गैरकर राजस्व बढेको हुनुपर्छ ।”
अघिल्लो आर्थिक वर्षमा तिर्नुपर्ने पैसा होल्ड गरेर यस वर्ष तिरेका कारण पनि गैरकर राजस्वमा वृद्धि भएको हुन सक्ने पंगेनीको तर्क छ । त्यस्तै अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख रामेश्वर दंगालले पनि गत वर्षकोे तुलनामा सरकारी सेवा बढ्दै जाँदा गैरकर राजस्वमा वृद्धि भएको बताए । “गत वर्ष कोरोनासँगै भएको लकडाउनले सरकारी सेवामा समेत असर पारेको थियो,” उनले भने, “यस वर्ष कोरोनाको प्रभाव घटैसँगै सरकारी सेवा बढेका कारण गैरकर राजस्वमा वृद्धि भएको छ, जुन निकै सकारात्मक पक्ष हो ।” अघिल्लो वर्षको तुलनामा यस वर्ष सरकारले प्रवाह गर्ने सेवामा सुधार आउनुका साथै त्यसबाट उठ्ने शुल्क तथा रोयल्टीमा समेत वृद्धि भएको उनको तर्क छ ।
गत वर्ष भने लकडाउनका कारण सरकारी सेवा सुस्ताउँदा वर्षभरिमा लक्ष्यको ६९ प्रतिशत अर्थात् ६८ अर्ब २० करोड रुपैयाँमात्र संकलन भएको थियो । यस वर्ष सरकारले एक खर्ब १२ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकमा २५ प्रतिशतभन्दा बढी गैरकर राजस्व उठेका कारण लक्ष्यअनुसार कै राजस्व संकलन हुने अपेक्षा राखेको दंगालले बताए ।

(यो समाचार  कारोबार दैनिक ३० कात्तिक २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links