भ्याटमा दर्ता भएर सम्पर्कविहीन भएका करदाताको विवरण सार्वजनिक

काठमाडौं। आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर सम्पर्कविहीन भएका करदाताको विवरण सार्वजनिक गरेको छ। दशौं वर्षदेखि कर विवरण नबुझाएका २९ हजार ४ सय ४७ करदातालाई विभागले कर विवरण बुझाउन आग्रह गर्दै विवरण सार्वजनिक गरेको हो।

लामो समयदेखि कर विवरण नबुझाएका करदातालाई आर्थिक ऐनले दिएको सुविधा प्रयोग गरी करमा छुट दिइएको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। उनले भने ‘हामीले हालसम्म भ्याटमा दर्ता भएर विवरण नबुझाउने कम्पनीको सूची तयार गरेका छौं। यदि कुनै कम्पनीले कर छली गर्ने नियतले नयाँ कम्पनीबाट कारोबार गरे/नगरेको पनि अध्ययन गर्दैछौं। यदि त्यस्तो गरेको भेटिएमा राजस्व छलीमा कारवाही गरिनेछ।‘

भद्रपुरको २०५५ सालमा भ्याटमा दर्ता भएको सन्दीप मिल मेसिनरी स्टोर्स २०६५ सालदेखि भ्याटको विवरण बुझाएको छैन। आन्तरिक राजस्व कार्यालय ललितपुरबाट २०६७ सालमा भ्याटमा दर्ता भएको लोकवीर एण्ड बेताली जगदम्बा जेभी २०७० देखि कर विवरण बुझाएको छैन। यस्तै महाराजगंज कार्यालयबाट २०७२ मा भ्याटमा दर्ता भएको शिव ट्रेडिङ हाउस प्रालिले २०७४ बाट कर विवरण बुझाएको छैन।

माथि उल्लेखित कर विवरण नबुझाउने प्रतिनिधि कम्पनी मात्र हुन्। यस्तै हजारौं कम्पनीहरुले कर विवरण बुझाएका छैनन्। कोभिड संक्रमणअघि नियमित कर विवरण बुझाइरहेका कम्पनीहरु पनि नियमित कर बुझाउन आउन छोडेको विभागको भनाइ छ।

भ्याटमा दर्ता भएका कम्पनीहरु सम्पर्कमा आउन छाडेपछि सरकारले चालु वर्षको बजेटबाट ५० प्रतिशत सम्म कर छुटको नीति ल्याएको थियो। सो नीतिपछि पनि उल्लेख्य रूपमा कर विवरण बुझाउन नआएको विभागको भनाइ छ।

उपमहानिर्देशक पाण्डेका अनुसार फागुन मसान्तसम्ममा यी करदाताले विवरण पेश गरेमा हालसम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुनेछ। यस्तै सो अवधिको जरिवाना थप ब्याज पनि मिनाहा हुनेछ।

(यो समाचार  बिजमाण्डू २६ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links