लकडाउन अवधिभर कर छूट दिन माग

खोटाङका होटेल व्यवसायीले लकडाउन अवधिभरको कर छूट दिन माग गरेका छन् । होटेल व्यवसायी संघ, खोटाङले सोमवार जिल्ला प्रशासन कार्यालयमा ७ बुँदे ज्ञापनपत्र बुझाउँदै कर छूट तथा राहतको व्यवस्था गर्न माग गरेका छन् । तीन महीनादेखिको लकडाउनका कारण होटेल व्यवसायी, होटेल व्यवसाय क्षेत्रमा संलग्न कर्मचारी र मजदुरले आर्थिक संकट खेप्दै आएको भन्दै उनीहरूले सो माग गरेका हुन् ।

उनीहरूले घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ५० प्रतिशत घरभाडा र घरबहाल कर छूटको व्यवस्था गर्न, होटेल व्यवसायी, कर्मचारी र मजदुरलाई संघी, प्रदेश र स्थानीय सरकारबाट सामाजिक सुरक्षा कोष वा अन्य स्रोतबाट आर्थिक प्याकेजको व्यवस्था मिलाउन लगायत माग गरेका छन् ।

होटेल व्यवसायी संघ खोटाङका अध्यक्ष जयप्रसाद राई ‘जेपी’का अनुसार होटेल व्यवसायीले राज्य तथा स्थानीय सरकारबाट कार्ययोजना बनाएर बन्दाबन्दीको समय अवधिभरको बिजुली र खानेपानीको महशुल, संघीय तथा स्थानीय सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर तथा नवीकरण शुल्क छूट गराउन माग गरेको बताए । अधिकांश व्यवसाय भाडाका घरमा सञ्चालनमा रहेको भन्दै उनले व्यवसाय सञ्चालन हुँदा पनि घरभाडा र बैंकको ब्याज तिर्न व्यवसायीले नसक्ने बताए ।

बैंकको ब्याजमा ५० प्रतिशत छूटका साथै कम्तीमा १ वर्षसम्म ब्याज तथा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था गर्न पनि सरकारसँग व्यवसायीले माग गरेका छन् । यस्तै पुनः व्यवसाय सञ्चालनका लागि तीन ओटै तहका सरकारबाट सहुलियत ब्याज दरमा बैंकिङ कर्जाको व्यवस्था मिलाउन पनि उनीहरूले आग्रह गरेका छन् ।

(यो समाचार  आर्थिक अभियान २३ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links