न्युरोड र नयाँ बजारका कर नतिर्नेको घर-आँगनमा आज पञ्चेबाजासहित नाचगान


काठमाडौं । तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

‘हामीले पटक-पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौँ,’ काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले  भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर-आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौँ ।’

उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए ।

कर बुझाउन  आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, हृवाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपटि्रज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको अधिकारीले बताए ।

‘दोस्रो पटक सूचना निकालेको पनि करीब एक महिना पुग्न लाग्दा समेत उहाँहरुले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौँ,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौँ, असल नागरिकको परिचय दिऔँ’ भन्ने नाराको व्यानरसहित महिलाहरुको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आहृवान गर्छ ।’

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए ।

यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए । ‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुशीको कुरा हो ।’

(यो समाचार अनलाइन खबर ९ भाद्र २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links