अर्थमन्त्रीको कडाइपछि पुग्न थाल्यो भन्सारमा लक्ष्य, चैत र वैशाखमा भन्सारको लक्ष्य पुग्यो

विराटनगर ।अर्थ मन्त्रीमा डा युवराज खतिवडा आएपछि चलाएको अभियानले भन्सार महसुलबाट प्राप्त हुने राजस्वमा वृद्धि भएको छ ।

मन्त्री हुनेबित्तिकै देशका मुख्य भन्सारका प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर सन्दर्भ मूल्यसूची (रेफरेन्स भ्यालु)अनुसार भन्सार मूल्याङ्कन गर्न निर्देशन गरेका थिए ।मन्त्री खतिवडाले भन्सार विन्दुमा हुने न्यून विजकीकरणलाई रोक्न मातहतका कार्यालयलाई कडा निर्देशन दिएका थिए।जसअनुसार विराटनगर भन्सार कार्यालयले चैत र वैशाख महिनाको भन्सार महसुल लक्ष्यभन्दा बढी सङ्कलन गरेको छ ।यसअघि असोज, कात्तिक र माघ गरी तीन महिनामात्र भन्सार महसुलको लक्ष्य हासिल गरेको विराटनगर भन्सारले चैत र वैशाखमा पनि लक्ष्यभन्दा बढी भन्सार महसुल सङ्कलन गरेको छ ।
 
सामान्यतया भन्सार महसुलको लक्ष्य हासिल नभए पनि भ्याटमा हुने लक्ष्यभन्दा बढी असुलीका कारण कुल असुली पुगेको तथ्याङ्क भन्सार कार्यालयले उपलब्ध गराउँदै आएको थियो । तर अर्थमन्त्री खतिवडाको कडाइको निर्देशनले भन्सार महसुलमै लक्ष्य हासिल भएको हो ।कार्यालयले चैत र वैशाखमा भन्सार महसुलबाट १ अर्ब २१ करोडका दरले राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले लक्ष्यभन्दा बढी चैतमा १ अर्ब २९ करोड ८३ लाख र वैशाखमा १ अर्ब ३१ करोड ११ लाख असुली गरेको छ ।
 
कार्यालयले साउन, भदौ, मङसिर, पुस र फागुन महिनामा भन्सार महसुलको लक्ष्य हासिल गरेको थिएन । तर मूल्य अभिवृद्धि करको असुली लक्ष्यभन्दा बढी हुने गरेका कारण कुल असुलीमा मद्दत पुगेको थियो ।वैशाख मसान्तसम्म कार्यालयले भन्सार महसुलबाट मात्र १३ अर्ब ४५ करोड असुली गर्ने लक्ष्य राखेकोमा १० अर्ब ५८ करोड ४४ लाख सङ्कलन गरेको छ ।
 
मूल्य अभिवृद्धि करतर्फ १३ अर्ब २२ करोड ५७ लाखको लक्ष्यमा १३ अर्ब ६१ करोड ५० लाख असुल गरिएको छ ।अन्तःशुल्कतर्फ पनि कार्यालयले लक्ष्य हासिल गरेको छैन । अन्तःशुल्कबाट वैशाख मसान्त सम्ममा ४ अर्ब ५७ करोडको लक्ष्यमा १ अर्ब १४ करोड ५९ लाखमात्र असुल गरेको छ ।कार्यालयले वैशाख मसान्त सम्ममा कुल राजस्व ३१ अर्ब २४ करोड ४८ लाख सङ्कलन गर्ने लक्ष्य राखेकोमा २५ अर्ब ३४ करोड ५३ लाख मात्र असुली गरेको छ ।
 
टप टेनमा बढी राजस्व दिने चिनी
विराटनगर भन्सारमा गत वर्षसम्म हाइस्पिड डिजलको आयातले सबैभन्दा बढी राजस्व दिन्थ्यो । तर चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सबैभन्दा बढी राजस्व दिने वस्तु चिनी भएको छ । चिनीले २७ करोड ७४ लाख २९ हजार रुपैयाँ राजस्वमा योगदान गरेको छ ।
 
चिनीपछि मात्र हाइस्पिड डिजलले २५ लाख ४९ हजार राजस्व दिएको छ । यसपछि पेट्रोलबाट १४ करोड ७८ लाख, सिआर सिटबाट १३ करोड ८८ लाख र एचआर सिटबाट ११ करोड ४६ लाख राजस्व प्राप्त भएको छ ।कार्यालयले स्टिल वायर रडबाट ११ करोड ४० लाख, एमएस बिलेटबाट १० करोड ७२ लाख, सिमेन्ट क्लिङ्करबाट ९ करोड ३३ लाख, पोलिथिन दानाबाट ७ करोड ३४ लाख र मोटर साइकलबाट ७ करोड २१ लाख असुली गरिएको जनाएको छ ।  


यो समाचारबिजमाण्डू डट कमबाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links