भन्सारको राजस्व भुक्तानी अब अनलाइनबाट


भन्सार कार्यालयहरुबाट संकलन गरिने सबै प्रकारका राजस्व अब अनलाइन प्रणालीमा आधारित हुने भएको छ । वार्षिक ५ खर्ब हाराहारीमा संकलन हुने यस्तो राजस्व नगदरहित ढंगबाट संकलन गर्ने पूर्वाधार निर्माण अन्तिम चरणको परीक्षणमा रहेको भन्सार विभागले जनाएको छ ।

आयात तथा निर्यात हुने वस्तुमा लाग्ने सरकारी दस्तुर व्यापारीले घरमै बसेर तिर्न सक्ने अनलाइन प्रणालीमा आधारित डिजिटल प्रणालीको परीक्षण शुरु गर्न लागेको भन्सार विधागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले बताए ।

पहिलो चरणमा पर्साको वीरगञ्जस्थित सिसिर्या सुख्खा बन्दरगाहमा पुस १ गतेबाट र माघ १ गतेदेखि सबै भन्सारमा यो सेवा शुरु हुने उनले बताए । ‘सुख्खा बन्दरगाहको नगदरहित सेवा पुस १ गतेबाट थालनी गर्नेगरी पूर्वाधारमा काम भइरहेको छ । वीरगञ्ज भन्सार कार्यालयसहितमा यो सेवा माघ १ गतेबाट शुरु गर्ने तयारी गरिएको छ,’ सूचना अधिकारी खड्काले भने ।

आयात निर्यातमा काम गर्ने व्यवसायीले आफ्नो बैंक खाताबाट सिधै सरकारको राजस्व खातामा रकम जम्मा गर्नेगरी यस्तो प्रणाली शुरु गर्न लागिएको उनले बताए । माघ १ गतेदेखि पूर्ण नगदरहित सेवाका लागि सम्पूर्ण तयारी सकिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए ।

अहिले अनलाइन र नगद भुक्तानीमार्फत व्यावसायीले राजस्व दाखिला गर्दै आएका छन् । आसिकोडा वल्र्ड भन्सार प्रणाली मै जाडिएको भुक्तानी प्रणालीमार्फत नगदरहित सञ्चालनमा आउने छन् । अहिलेसम्म आसिकोडा तथ्यांकका आधारमा महालेखाको राजस्व दाखिलासम्बन्धी फारम १०८ बाट रिपोर्ट तयार गरेर अर्को कार्यदिनमा राष्ट्र बैंक भएर रिम्स (रेभिन्यू म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) पठाउने गरिन्छ ।

अहिले नगदरहित सेवाका लागि महालेखा, अर्थ, आन्तरिक राजस्व र बैंकहरुलाई एकीकृत गरेर भूक्तानी प्रणाली तयार गरिएको पौडेल बताउँछन् । यो प्रणालीपछि गरिने भुक्तानी रियल टाइम राजस्व प्रणालीमा आउने उनको भनाइ छ ।

नगदमा हुने जोखिम घट्छ : निजी क्षेत्र

दुई ठूला भन्सार कार्यालयमा शुरु गर्न लागिएको नगदरहित सेवाको निजी क्षेत्रले स्वागत गरेको छ । लामो समयदेखि निजी क्षेत्रले उठाउँदै आएको मुद्दा समाधान हुन लागेको भन्दै नेपाल समुद्रपार निकासी पैठारी संघले देशैभरका भन्सारमा यो सुबिधा पुर्‍याउन माग गरेको छ ।

राजस्व राफसाफका लागि भन्सार एजेन्टलाई नगद पठाएर बुझाउने प्रक्रियाले निम्त्याउने जोखिम नगदरहित सेवाले हटाउने संघका प्रथम उपाध्यक्ष विकासकुमार सेठियाले बताए । भन्सार तिर्न पठाएको नगद कयौं पटक हुण्डी भन्दै समातिएको भन्दै उनले अब व्यवसायीले दुःख नपाउने आशा व्यक्त गरे ।

‘हामीले पहिले पैसा एजेन्टलाई पठाउने वा आफैं जानु पर्ने अवस्था थियो, दशौं लाख रुपैयाँ बोकेर जानु पर्ने जोखिम र कसैको नियत लाग्दा हुण्डी भन्दै दुःख पाइन्थ्योे,’ सेठियाले थपे, ‘यो व्यवस्था राम्रो छ ।’ भन्सार र बैंकको कार्यदिन र समय फरक हुने भएकाले यो व्यवस्थापन भने चुस्त हुनुपर्ने उनले बताए ।

(यो समाचार  अनलाइन खबर २७ मंसिर २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links