धमाधम थपिँदै छन् भन्सार बिन्दु र कर कार्यालय

राजस्व संकलन बढाउने सरकारको जुक्ति

चालू आर्थिक वर्षमा महत्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य राखेर बजेट कार्यान्वयन गरिरहेको सरकारले राजस्व संकलन गर्ने प्रशासनिक केन्द्र विस्तारलाई तीव्रता दिएको छ । आर्थिक वर्ष सुरु भएसँगै राजस्व संकलन गर्ने भन्सार तथा आन्तरिक राजस्व प्रशासनका केन्द्रहरू थप गरी राजस्व संकलनको दायरा बढाउने अभियानमा अर्थ मन्त्रालय लागेको छ ।

 

चालू आवको दुई महिनाभित्रै ६ वटा आन्तरिक राजस्व कार्यालय र ११ वटा कर सेवा कार्यालय थप भइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये धेरैजसो कार्यालयको उद्घाटन गर्न स्वयं अर्थमन्त्री पुगेका छन् । चालू आवमै ५ वटा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मूल भन्सार कार्यालय बनाउने घोषणा गरिएको छ ।

५ छोटी भन्सारको स्तरोन्नति
सरकारले ५ वटा छोटी भन्सारलाई स्तरोन्नति गरी मूल भन्सार कार्यालय बनाएको छ । तर, यसमध्ये झापाको भद्रपुरमा भन्सार कार्यालय सञ्चालनमा आइसकेको छ । यसबाहेक सिरहाको ठाँडी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिमा भन्सार कार्यालय स्थापनाको तयारी छ । यी कार्यालयहरूका लागि भन्सार क्षेत्रको चार किल्ला तोक्ने कामसमेत भइसकेको अर्थमन्त्रालयले जनाएको छ ।

मध्यमस्तरीय करदाता कार्यालय किन आवश्यक
१ असोजदेखि बबरमहलमा मध्यमस्तरीय करदाता कार्यालय स्थापना भएको छ । आन्तरक राजस्व कार्यालयबाट सीधै ठूला करदाता कार्यालयमा करदाताको स्तरोन्नति हुँदा कर परिपालनामा कमी भएर राजस्व कम उठ्ने आंकलनसहित अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालय खोल्ने निर्णय गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

४० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म कारोबार (बैंक वित्तीय संस्था, बिमा कम्पनी, मेडिकल कलजे, ट्राभल तथा ट्रेकिङ व्यवसाय र ठेक्कापट्टाको हकमा २५ देखि ८० करोडसम्मको कारोबार) हुने करदाता यस कार्यालयको क्षेत्राधिकारभित्र पर्नेछ । अर्थमन्त्रालयका अनुसार अहिले मध्यमस्तरीय करदाताको संख्या ८ सय ३३ रहेको छ । यस कार्यालयमार्फत वार्षिक ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।

व्यापारिक क्रियाकलाप बढेका स्थानमा कर प्रशासन
राजस्व संकलन बढाउन सरकारले करका दरमा नभई दायरा विस्तारमा केन्द्रित रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदै आएका छन् । उनका अनुसार मन्त्रालयले कर प्रसासन सेवाको दायरा बढाएर अधिकतम जनताको बीचमा कर संलकन केन्द्र पु-याउने लक्ष्य लिएको छ । त्यसकारण व्यापारिक क्रियाकलाप बढेका स्थानमा करदाता सेवा कार्यालय स्थापनामा जोड दिइएको हो ।

९ खर्ब ४५ अर्ब राजस्व संकलन लक्ष्य
यस वर्ष सरकारले कुल ९ खर्ब ४५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ । अघिल्लो आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । चालू आवमा सरकारले गत आवको तुलनामा झन्डै ३५ प्रतिशत बढी राजस्व संकलनको लक्ष्य लिएको छ । यस वर्ष संकलन हुने राजस्वमध्ये १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ बाँडफाँडका माध्यमबाट स्थानीय र प्रदेशमा जानेछ भने केन्द्रले ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ मात्र सञ्चालन गर्नेछ ।

यो समाचार  नयाँ पत्रिका डटकम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links