कोरोनाको असर आन्तरिक राजस्वतर्फ : ९ अर्ब ७२ करोडले राजस्व संकलन घट्यो


काठमाडौं  । कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ ।
 
चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष यही अवधिमा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । राजस्व संकलन गतवर्षको समीक्षा अवधिको तुलनामा ९ अर्ब ७२ करोडले घटेको देखिन्छ ।

यद्यपि चालू वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा सरकारले आयकर, मूल्य अभिवृद्धिकरमार्फत ठूलो राजस्व उठाउन सकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा मुख्यतः १ खर्ब १२ अर्ब ४३ करोड रुपैयाँ आयकरबाटै राजस्व संकलन भएको छ भने, ६५ अर्ब १२ करोड रुपैयाँ मूल्य अभिवृद्धि करबाट राजस्व उठेको छ । त्यस्तै, ४३ अर्ब ५८ करोड रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलन भएको छ भने शिक्षा सेवा शुल्क तथा अन्यतर्फ २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्यमा प्रभाव परेको विभागका अधिकारीहरूको भनाइ छ । ‘असुली न्यून हुनुको कारण कोभिडले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव नै हो,’ विभाग महानिर्देशक झक्कप्रसाद आचार्य भन्छन् ।

सरकारले चालू आवमा राजस्व संकलनका लागि राखेको लक्ष्य पूरा हुन नसक्ने अर्धवार्षिक समीक्षामार्पmत जानकारी दिँदै लक्ष्यसमेत फेरबदल गरेको थियो । अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गरेको १ महीनापछि हालै आन्तरिक राजस्व विभागले चालू आवको हालसम्मको काम कारबाही र राजस्व संकलनको अवस्थाको समीक्षा गरेको छ ।

ठूला करदाता, मध्यमस्तरीय करदाता, ४३ ओटा आन्तरिक राजस्व कार्यालय र ३९ ओटा करदाता सेवा कार्यालयले अहिलेसम्म गरेका कामबारे समीक्षा गरिएको विभागका अधिकारीहरूको भनाइ छ ।

समीक्षामा राजस्व सचिव रामशरण पुडासैनीदेखि कर कार्यालयका प्रमुखहरूसम्मको सहभागिता रहेको थियो । राजस्व सचिव पुडासैनीले राजस्व परिचालनका लागि नीतिगत मार्गदर्शन र प्रोत्साहनमा जोड दिएका थिए । प्रतिकूलता हुँदाहुँदै पनि कर प्रशासकहरूले राजस्व संकलनमा देखाएको तदारुकताको उनले प्रशंसा गरे । विभागका अनुसार समीक्षाका क्रममा राजस्व लक्ष्य प्राप्त गर्न वैकल्पिक योजना तयार गरेर प्रभावकारी कार्यान्वयन गर्नेबारे सघन छलफल भएको थियो भने करदातामैत्री वातावरण तयार गर्दै आगामी दिनमा राजस्व संकलनलाई लक्ष्यअनुसार नै वृद्धि गर्दै लैजानेबारेमा राजस्वका अधिकारीहरूले जोड दिएका थिए ।

त्यस्तै, कोभिड–१९ को प्रभाव विश्लेषण गरी आगामी आवको राजस्वको लक्ष्य तयार गर्नेबारे समेत समीक्षामा छलफल भएको थियो ।

कोभिड तथा समसामयिक हिसाबले पनि राजस्व नीति सुधार गर्नुपर्ने आवश्यकता रहेको र सुधारसम्बन्धी कार्यसूची निर्माण गर्नेबारे समेत समीक्षामा छलफल भएको विभागका अधिकारीहरूको भनाइ छ ।

(यो समाचार  आर्थिक अभियान २३ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links