कर प्रणालीमा चुनौतीः सचिव पुडासैनी


अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता हुने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती बढेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको कर प्रणालीमा भएका समसामयिक सुधार एवं आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव पुडासैनीले करको दायरामा आउने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौती थपिएको बताएका हुन् ।
अहिले पनि करको दायरा भन्दा बाहिर रहनेको संख्या ठूलो रहेको र दर्ता भएकाहरुले पनि विवरण पेस नगर्ने प्रवृति रहेको उनले बताए । मूल्य अभिवृद्धि करमा ३६ प्रतिशत र आयकरमा ५५ प्रतिशतको विवरण पेश नभएको देखिएको सचिव पुडासैनीको भनाइ छ ।

विवरण बुझाउनेले पनि ठूलो मात्रामा बक्यौता राख्ने गरेको उनले बताए । बिल बिजक जारी नगर्ने, कम मूल्यांकन गर्नेलगायतका प्रवृतिका कारण आर्थिक गतिविधि बढ्दै गएपनि ननकम्पलायन्स बढ्दै गएको सचिव पुडासैनीले बताए । स्वच्छ कर प्रणालीको विकास गर्न करदाताको व्यवहारमा परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मूल्य अभिवृद्धि कर र भन्सार दरलाई घटाउन माग गरे । उनले भन्सार निर्धारण गर्दा वस्तुको कारोबार मूल्यमा निर्धारण गर्ने व्यवस्था गर्न समेत माग गरे । सरकारले व्यवसायीमैत्री करका दरहरुको निर्धारण गरेमा विवरण नबुझाउने समस्या आफै कम भएर जाने पनि अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा करका दरहरु निर्धारण हुँदा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यान दिनुपर्नेमा व्यवसायीहरुले जोड दिए । यस्तै कर चुक्ता प्रमाणपत्र लिने व्यवस्थालाई थप सहज बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् ।

(यो समाचार  कारोबार ६ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links