कानुनअनुसार कर नतिरी भित्रियो बिएमडब्लू सेभेन सिरिज हाइब्रिड


शिव बोहराआइतबार, जेठ ३२, २०७७, ०९:२१

काठमाडौं- जेठ १४ गते भन्सार जाँचपास गरेर भित्रिएको जर्मन बिलासी कार बिएमडब्लूको सेभेन सिरिज हाइब्रिड कार आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले कानुनअनुसार लाग्नेभन्दा आधा मात्र कर तिरेको भेटिएको छ।

नेपाल लाइभलाई प्राप्त भन्सारको विवरणअनुसार कार आयातकर्ताले आधामात्र अन्तःशुल्क तिरेको पाइएको हो। 
 

सरकारले २०७६ मा ल्याएको आर्थिक ऐनमा हाइब्रिड कारमा लाग्ने भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो। तर सरकारले भने अनुरूपका हाइब्रिड कार नभई सामान्य स्टार्टमा मात्र ब्याट्रीको प्रयोग भएको हाइब्रिड कार आएको भन्दै मन्त्रिपरिषद्ले अन्तःशुल्क छुट दिने व्यवस्था खारेज गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय अनुसार हाइब्रिड कारमा दिइदै आएको अन्तःशुल्क खारेज गरेको निर्णय २०७६ मंसिर १६ गते राजपत्रमा प्रकाशित गरेको थियो। सरकारको उक्त निर्णय गरेपश्चात हाइब्रिड कार आएका थिएनन्।

पछिल्लोपटक लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्लूको सेभेन सिरिज हाइब्रिड कार ल्याएको हो। कम्पनीले ल्याएको यो कारको भन्सारमा घोषणा गरेको खरिद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँ रहेको छ। यो कार हाइब्रिड भएको र बजेटको अघिल्लो दिन भन्सार जाँचपास भएकाले आर्थिक ऐन २०७६ अनुसार भन्सार दरमा ५० प्रतिशत छुट पाउँछ भने अन्तःशुल्कलगायत सबै करका दर समान नै लाग्छ।

तर सरकारले हाइब्रिड कारमा दिइएको अन्तःशुल्क छुटको व्यवस्था भने हटाएको थियो। हटाइएको व्यवस्था भन्सार कार्यालयले अपडेट नगर्दा लक्ष्मी प्रिमियमले ल्याएको बिएमडब्लूको हाइब्रिड कारले ३० प्रतिशतमात्र अन्तःशुल्क अर्थत ५० प्रतिशत छुट दिएको पाइएको छ।

१९ सय ९८ सिसी इन्जिन क्षमताको यो कार बिएमडब्लूले उत्पादन गरेको बिलासी सेडान हो। हाइब्रिड सेगमेन्टको यो कार पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै भएको कार हो।

यस्तो छ तिरिएको कर
खरिद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँमा ८० प्रतिशत भन्सार लाग्नेमा ५० प्रतिशत छुट दिइएको छ। भन्सार बापत उक्त कारले ४९ लाख २५ हजार ७ सय ८६ रूपैयाँ सरकारलाई तिरेको छ। खरिद मूल्य र भन्सारपछिको मूल्यमा लाग्ने ६० प्रतिशत अन्तःशुल्कमा कम्पनीले ३० प्रतिशत अर्थात ५१ लाख ७२ हजार ७५ रूपैयाँ तिरेको छ। अन्तःशुल्कपछिको मूल्य २ करोड २४ लाख १२ हजार ३ सय २५ रूपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर बापत २९ लाख १३ हजार ६ सय ६८ रूपैयाँ हुन्छ। 

कम्पनीले यसपछि आउने मूल्य २ करोड ५३ लाख २५ हजार ९ सय ९३ रूपैयाँमा सडक मर्मत दस्तुर ८ प्रतिशत बापत २० लाख २६ हजार ७५ रूपैयाँ तिरेको छ।

सबै कर तिरेपछिको मूल्य २ करोड ७३ लाख ५२ हजार ६८ रूपैयाँ हुन्छ। 

हुनुपर्ने कर 
खरिद मूल्य १ करोड २३ लाख १४ हजार ४ सय ६४ रूपैयाँ छ। भन्सार ८० प्रतिशतमा छुटपछि ४० प्रतिशत लाग्दा ४९ लाख २५ हजार ७ सय ८६ रूपैयाँ हुन्छ। अन्तःशुल्क छुट सरकारले हटाएको र यो कार २ हजार सिसीसम्मको भएकाले लाग्ने ६० प्रतिशत अन्तःशुल्क हो।

खरिद मूल्य र भन्सार शुल्कपछिको मूल्य १ करोड ७२ लाख ४० हजार ३ सय ३२ रूपैयाँमा ६० प्रतिशत अन्तःशुल्क लगाउँदा १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ थपिन्छ। अन्तःशुल्कपछिको मूल्य २ करोड ७५ लाख ८४ हजार ५ सय ३१ रूपैयाँमा १३ प्रतिशत भ्याट लगाउँदा ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ लाग्छ। भ्याटपछिको कारको मूल्य ३ करोड ११ लाख ७० हजार ५ सय २० रूपैयाँ हुन्छ। यसमा सडक मर्मत शुल्क बापत ८ प्रतिशत लगाउँदा २४ लाख ९३ हजार ६ सय ४१ रूपैयाँ हुन्छ। सबै कर लगाउँदा यो कारको मूल्य ३ करोड ३६ लाख ६४ हजार १ सय ६१ रूपैयाँ हुन्छ। 

 

फरक
•    खरिद मूल्य र भन्सार समान।
•    तिरेको अन्तःशुल्क- ५१ लाख ७२ हजार ७५ रूपैयाँ
•    तिर्नुपर्ने अन्तःशुल्क- १ करोड ३ लाख ४४ हजार १ सय ९९ रूपैयाँ
•    तिरेको भ्याट- २९ लाख १३ हजार ६ सय ६८ रूपैयाँ
•    तिर्नुपर्ने भ्याट- ३५ लाख ८५ हजार ९ सय ८९ रूपैयाँ
•    तिरेको सडक मर्मत शुल्क- २० लाख २६ हजार ७५ रूपैयाँ
•    तिर्नुपर्ने सडक मर्मत शुल्क- २४ लाख ९३ हजार ६ सय ४१ रूपैयाँ

बिएमडब्लू सेभेन सिरिज ‘७४० एलई एक्सड्राइभ’ कारमा भएको इलेक्ट्रिक मोटरको पावर २ सय ४० केडब्लू (ब्याट्री क्षमता  ९.२ केडब्लुएच) छ भने इन्जिनको पावर ३ सय २२ बिएचपी छ। यो कारमा ४६ लिटरको इन्धन ट्यांक छ भने इलेक्ट्रिक रेन्ज ४२ किलोमिटर रहेको छ। गाडीको इन्जिन भने युरो ६ मापदण्डको छ।

(यो समाचार  नेपाल लाइभ  मा, ३२ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )


 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links