व्यापारीकै समर्थनमा विराटनगर महानगरले कर बढाएको रहस्य खुल्यो, को को थिए सहभागी?


विराटनगर।विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि करका दर निर्धारण गर्दा मोरङका दुई मुख्य उद्योग वाणिज्य संघले समर्थन गरेको रहस्योद्घाटन भएपछि दुबै संस्थाको नेतृत्व आफ्नो बचाउमा लागेको छ ।
वीरगञ्ज महानगरपालिकामा त्यहाँका व्यवसायीको तीव्र दबाबपछि महानगर करका दरका घटाउन बाध्य भएको छ । तर विराटनगरमा भने व्यवसायीकै संस्थाले करवृद्धिका निर्णयलाई स्वीकार गरेको तथ्य बाहिर आएपछि सामाजिक स्तरमा तीव्र आलोचना भइरहेको छ ।करका दर वृद्धि गर्ने बैठकमा विराटनगरका दुबै व्यावसायिक संस्थाले सहमति जनाएकाले ती संस्थाले वीरगञ्जकै जस्तो विरोध प्रदर्शन गर्न नैतिक साहस जुटाउन सकिरहेका छैनन् ।
 
महानगरका अधिकृत अर्जुन थपलियाले महानगरको राजस्व परामर्श समितिमा रहेका दुई व्यावसायिक संस्थाले करवृद्धिको नयाँ प्रस्तावमा सहमति जनाएको बताएका हुन् ।अधिकृत थपलियाका अनुसार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ गरी राजस्व परामर्श समितिमा २ वटा उद्योग वाणिज्य संघ छन् । परामर्श समितिको बैठकमा दुबै संस्थाले कर वृद्धिमा सहमति जनाएका छन् ।
 
मोरङ व्यापार संघका अध्यक्ष एवम् पूर्व सांसद् पवनकुमार शारडाले आफ्नो बचाउ गर्दै व्यापार संघ बैठकमा मात्र उपस्थित भएको तर निर्णयमा सहमति जनाएर हस्ताक्षर नगरेकोे दाबी गरे ।‘हामीले करवृद्धिका निर्णय स्वीकार गरेर कुनै माइन्युटमा हस्ताक्षर गरेका छैनौँ’, आफ्नो बचाउ गर्दै अध्यक्ष शारडाले भने, ‘हामी बैठकमा उपस्थित भएको साँचो हो । तर कर वृद्धिको निर्णय हुन थालेपछि हामी असहमत भएर बैठक नै छाडेर हिँडेका हौँ ।’
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायले दुबै संस्था करका वृद्धिमा सहमति जनाएको स्वीकार गरे । 
 
‘महानगरपालिकाभित्र ठूलाठूला व्यवसायी र नर्सिङ होम छन्, उनीहरूलाई करको दर थोरै भइरहेको थियो’, उपाध्यायको भनाइ थियो, ‘साना करदातालाई केही भार परेको छैन । ठूला करदातालाई अलिअलि मात्र बढाइएको हो ।’व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले भने, ‘महानगर भएपछि अलिअलि करको वृद्धि त भइहाल्छ नि, गाउँपालिकामा पो थोरै कर हुन्छ ।’
 
उद्योग सङ्गठनका नवनिर्वाचित अध्यक्ष भीम घिमिरेले बढेको करका विषयमा आफूले महानगरका प्रमुख भीम पराजुलीसित वार्ता थालेको बताए ।
‘करमा दरमा गरिएको वृद्धि हामीलाई मान्य छैन, मेयर पराजुलीसित हामीले वार्ता सुरु गरेका छौँ’, अध्यक्ष घिमिरेले भने, ‘पहिलेका अध्यक्षले सहमति गर्नुभयो होला तर उद्योग संगठनको नयाँ टिमले महानगरको करका दरलाई स्वीकार गर्न सक्तैन ।’
 
उद्योग संगठनका उपाध्यक्ष प्रदीप मुरारकाले दुबै व्यावसायिक संस्थाले कर वृद्धिका निर्णयमा सहमति जनाएर गल्ती गरेको भन्ने टिप्पणी गरे ।
उपाध्यक्ष मुरारकाले काम गर्ने मानिसले नै गल्ती गर्ने उल्लेख गर्दै अब त्यसलाई सच्याइने वचनबद्धता प्रकट गरे ।‘गल्ती भएको छ’, मुराराकाको भनाइ थियो, ‘त्यसलाई सच्याइने छ ।’  

यो समाचार बिजमाण्डू डट कम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links