ठूला करदाताहरुले तिरे १९ अर्ब कर


सरकारले सक्ने करदातालाई कर तिर्न आग्रह गरेपछि कर तिर्ने क्रम बढेको छ । आन्तरिक राजश्व विभाग ठूला करदाता कार्यालयका अनुसार हालसम्म विभिन्न क्षेत्रका ठूला करदाता कार्यालयहरुले १९ अर्ब ७९ करोड रुपैँयाँ बराबर कर तिरेका छन् । सबैभन्दा बढी कर बैंक तथा वित्तीय क्षेत्रले तिरेको ठूला करदाता कार्यालयले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रले १० अर्ब २३ करोड रुपैँयाँ कर तिरेका छन् । त्यस्तै बहुराष्ट्रिय कम्पनीहरुले ३ अर्ब ८२ करोड, सेवा क्षेत्रका २ अर्ब ६१ करोड रुपैँयाँ कर तिरेका छन् । त्यस्तै, सबैभन्दा कम ट्रेडिङ क्षेत्रले ९० करोड रुपैँयाँ कर तिरेको छ ।

कोरोना माहामारीका कारण सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण उद्योग व्यवसाय, यातायात सबै ठप्प हुँदा कसैले पनि कर तिर्न सकिरहेका थिएनन् । कर तिर्न नसकेपछि सरकारको ढुकुटी खाली भएको र कर्मचारीलाई तलब समेत खुवाउन नसकेको भन्दै अर्थमन्त्री डा.युवराज खतिवडाले गत जेठ २५ गतेसम्म कर तिर्नुपर्ने अन्यथा कारवाही गरिने भन्दै सूचना सार्वजनिक गरे । त्यस पश्चात अर्थमन्त्री खतिवडासहित सरकारको निकै आलोचना भयो । सरकारले बाध्य भएर कर तिर्ने समय सारेको थियो । तर सर्वाेच्च अदालतले लकडाउन खुलेको ३० भित्र दिए हुने गरी फैसला गरेपछि कर उठ्न सकिरहेको छैन । तर ढुकुटी नै खाली भए पनि तनावमा रहेका अर्थमन्त्री डा. खतिवडाले उद्योग व्यवसायीसँग हारगुहार गरेपछि सक्ने र ठूला करदाता कर तिर्न थालेपछि सरकारलाई केही सहज भएको हो ।

त्यस्तै, महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बिहिबारसम्म ७ खर्ब ७९ अर्ब ३६ करोड ४ लाख रुपैँयाँ बराबर राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख रुपैँयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । सरकारले हालसम्म ६६.६१ प्रतिशत राजश्व संकलन गरिसकेको छ ।

(यो समाचार  केन्द्रबिन्दु  असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links