NMB Bank

Nepal Life Insurance

बैंकबाट कर्जा लिन खोज्दै हुनुन्छ ? यसरी लिनुस् करचुक्ता प्रमाणपत्र

क्लिकमान्डु २०७६ पुष १४ गते ११:२२ मा प्रकाशित


काठमाडौं । आवश्यक परेको समयमा वा कुनै पनि व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नीति अनुसार र संस्थाको आन्तरिक व्यवस्था अनुसार कर्जा दिने गरका छन् ।
 

कुनै पनि नेपाली नागरिकले बालिक भइसकेपछि भविष्यमा भुक्तनी गर्न सम्झौता गरेर बैंक वित्तीय संस्थाले माग गरे अनुसारको प्रक्रिया पुरा गरि आवश्यकता अनुसार कर्जा लिन सक्ने व्यवस्था नेपालमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कार्यविधि बनाएर आवश्यक प्रक्रिया पुर्याएको आएको खण्डमा अपुग पूँजी कर्जा स्वरुप दिइरहेको छ ।

हिँजोको दिनसम्म बैंकबाट कर्जा लिएका ऋणीलाई भन्दा अब कर्जा लिन चाहने नयाँ ग्राहकलाई केही व्यवस्थाहरु परिवर्तन भएको छ । जसअनुसार बैंक वित्त कम्पनीहरुबाट गाडी किन्न वा उद्योग, घरजग्गा खरिद गर्न, व्यापार तथा कुनै प्रकारको गैर व्यवसाय कर्जा लिन चाहने ग्राहकले वार्षिक आयकर तिरेको कर चुक्ता प्रमाण पत्र पेश गर्नु पर्ने छ । यसअघि कर्जा लिने ग्राहकले कर चुक्ता प्रमाण पेश गर्नु पर्दैनथ्यो ।
 

बैंकबाट पाइने कर्जाहरु

-चालु पुँजीको आधारमा दिइने कर्जा
-ओभरड्राफ्ट कर्जा
-व्यक्तिगत कर्जा
-आवधिक कर्जा
-हार्यर पर्चेज कर्जा
-विपन्न वर्ग कर्जा
-सहुलियत कर्जा (७ प्रकारका कर्जा समाविष्ट)
-शैक्षिक कर्जा
-रियलस्टेट कर्जा
-सेयर धितो कर्जा
-साना तथा मझौला उद्योग व्यवसाय (एसएमइ) कर्जा
-कृषि कर्जा
-नारी कर्जा

राष्ट्र बैंकले यसअघि ५० लाख रुपैयाँ भन्दा बढी वा संस्थागत कर्जाको लागि स्थायी लेखा नम्बर (प्यान) दर्ता गरि अनिवार्य रुपमा प्यानबाट कर तिरेको आधारमा मात्र कर्जा प्रवाह गर्न निर्देशन दिइसकेको छ ।

राष्ट्र बैंकले गत मंगलबार जारी गरेको एकिकृत निर्देशिकाले ५० लाख रुपैयाँ भन्दा कम र व्यक्तिगत कर्जामा पनि कर चुक्ता भएको प्रमाण पेशीको आधारमा मात्र कर्जा प्रवाह गर्न निर्देशन दिएर पछि सोही व्यवस्था बैंकहरुले अवलम्बन गरिसकेका छन् ।

कर्जा लिन के चाहिन्छ ?

सबै बैंक तथा वित्तीय संस्थाहरुले धितोमा वा बिनाधितो दुबै प्रकारका कर्जा प्रवाह गर्ने गरेका छन् । धितो वा बिनाधितो दुबै कर्जा लिनको लागि अब भने आम्दानी अनुसारको सरकारलाई आयकर बुझाएको प्रमाण यस्ता सबै कर्जामा आवश्यक पर्ने हुन्छ ।

यदी उद्यमी तथा स्वरोजगार, व्यापार व्यवसाय गर्न वा कुनै पनि किसिमको गैरव्यवसायीक कर्जा लिन अथवा सरकार तोकेको सहुलियत ब्याजदरमा कर्जा लिनको लागि बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ग्राहकले बुझाउनु पर्ने आवश्यक कागजपत्र निम्न अनुसार छन् ।

-धितोका आवश्यक कागजपत्रहरु
– बार्षिक आम्दानीको कर तिरेको कर चुक्ता प्रमाण पत्र
-कर्जा सम्बन्धी कागजपत्र (नागरिकता, फोटो, स्थायी लेखा नम्बर)
-आयव्ययको विवरण
-व्यवसाय दर्ता प्रमाणपत्र
-जमानी बस्ने व्यक्ति र आवश्यक कागजपत्र

आयकर कति र कसले तिर्नु पर्छ ?

सरकारले आव २०७५/७६ देखि नयाँ आयकर तोकेको थियो । जसमा वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म आम्दानी हुने १ प्रतिशत, ४ देखि ५ लाख रुपैयाँसम्म १० प्रतिशत, ५ देखी ७ लाख रुपैयाँसम्म २० प्रतिशत, ७ देखि २० लाख रुपैयाँसम्म ३० प्रतिशत र २० लाख रुपैयाँ भन्दामाथि जतिसुकै भएपनि ३६ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था सरकारको छ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर लाग्दछ । श्रमको लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तिभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आय अन्तर्गत पर्दछ ।

सक्रिय श्रम, पूंजीको निस्कृय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग ब्यापार पेशा व्यवसायको श्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको विक्रीबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पुँजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरु व्यवसायको श्रोतबाट प्राप्त आय मानिन्छ ।

कुनै पनि प्रकारले पूंजी वा पूंजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक श्रोत वापतको भुक्तानी, लगानी बीमा वा अवकाश कोषबाट प्राप्त लाभ, पूंजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरु लगानीबाट भएको आय अन्तर्गत पर्दछ ।

चिठ्ठा, उपहार ,पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभको २५ प्रतिशत आयकर तिर्नु पर्दछ ।

यदी कोही व्यक्ति कुनैपनि संघ संस्थामा आवद्ध भएर भएर मासिक रुपमा तलब लिएको छ वा व्यापार व्यवसाय गरिरहेको हो, भने सरकारी नीति अनुसार उसको बार्षिक आम्दानीको हिसाबमा कर तिर्नु पर्ने हुन्छ ।

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरुले बाहेक अन्य व्यक्तिको कृषि आम्दानीमा कर लाग्दैन । तर घर भाडाको संर्दभमा भने आम्दानीको १० प्रतिशतले आयकर लाग्दछ । यस्तो कर प्राकृतिक (निजी प्रयोजनका घर) व्यक्तिका लागि अन्तिम हुने व्यवस्था छ ।

बहालमा लगाउने कम्पनीहरुका हकमा भने आय विवरण पेश गरी स्वयंकर निर्धारण गर्नु पर्दछ । यस्तै, विदेशमा बस्ने नेपालील विदेशमा आर्जन गरेको आयमा पनि नेपालमा कर लाग्दछ ।

तर, विदेशमा तिरेको कर भने नेपालमा तिर्नु पर्ने करमा (नेपाली करको सरदर दरले हुने गणनामा नबढ्ने गरी) हिसाब मिलान गर्न वा खर्च लेख्न पाइन्छ । तर यस्तो प्रकारको आयकरको प्रमाण भने बैंकमा कर्जा लिदाँ बुझाउनु नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

के हो कर चुक्ता प्रमाणपत्र ?

कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण÷वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाणपत्र भनिन्छ । करदाताको आवश्यकता आवश्यकता अनुसार कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ ।

नियमित रुपमा सरकारलाई आयकर तिर्नेहरुले सहजैरुपमा कर चुक्ताको प्रमाणपत्र लिन सक्छन् । पारिश्रमिक वा आम्दानी आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले वार्षिक आयकर चुक्ता प्रमाण दिन्छन् ।

कर चुक्ता प्रमाण पत्र प्राप्त आवश्यक कागजपत्र

-करदाताले व्यहोरा खुलाई १० रुपैयाँको राजपत्र अंकित टिकट टासेर पायक पर्ने आन्तरिक राजश्व कार्यलयमा दिने ।
-आय विवरण पेश गर्नु पर्ने हकमा सो विवरण पेश गरि निर्धारित कर दाखिला गरेको हुनुपर्छ ।
-विगत आवहरुको आय विवरण र वक्यौता नभएको व्यक्तिले मात्र कर चुक्ता प्रमाण पाउँछ ।
-वित्तीय विवरण पेश गर्नु पर्ने संस्थागत करदाताले वित्तीय विवरण र कर तिरेको भौचर बुझाउनु पर्नेछ ।
-रोजगारीको आय हुनेको सम्वन्धमा रोजगारदाताबाट आम्दानी र कर दाखिलाको विवरण बुझाउनु पर्नेछ ।
-अन्य आयकरको कर चुक्ता प्रमाणपत्र लिने हकमा भने कार्यलयले तोकेको विवरण बुझाउनु पर्ने हुन्छ ।

कर चुक्ता प्रमाण पत्र लिदाँ कुनै पनि शुल्क तिर्नु पदैन् । तर जुन आवको कर चुक्ता प्रमाण लिने हो त्यो आवको सबै कर दाखिला भने भएको हुनु पर्ने छ ।यी सबै कागजात आन्तरिक राजस्व विभागको वेबसाइडम गएर अनलाइनबाटै फर्म भरेर पनि करचुक्ताको प्रमाणपत्र लिन सकिन्छ ।

यदी कर कार्यलयको कर्मचारीले कर चुक्ता प्रमाणपत्र दिनमा कुनै प्रकारको कठिनाईहरु वा वातावरण र्सिजना गरेमा सम्वन्धीत कार्यलय प्रमुख वा आन्तरिक राजश्व विभाग प्रमुखलाई उजुरी दिन सकिन्छ ।

(२०७६ पुष १४ गतेक्लिकमान्डुमा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं क्लिकमान्डुको यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links