NMB Bank

Nepal Life Insurance

कस्तो सम्पत्ति कर ?

मूल्यवान् कम्पनी खडा गरेका उद्यमीले सम्पत्ति कर तिर्दा उनीहरूको सम्पत्ति घट्छ र उनीहरूले उद्यमशील प्रयास गर्न छोड्छन् भन्ने तर्क विश्वसनीय छैन 

सम्पत्तिमाथि व्यापक कर लगाउने प्रस्ताव नयाँ होइनन् । यद्यपि ती प्रस्तावले अमेरिकामा पुनः ध्यानाकर्षण गर्न थालेका छन् । लगातार बढ्दो आय र सम्पत्ति असमानताले सामाजिक एवं नैतिक चासो बढाएको छ । यसबाट धनाढ्यसमेत चिन्तित छन् । यस प्रवृत्तिसँगै सामाजिक गतिशिलतामा आएको कमीले राजनीतिक धु्रवीकरणमा योगदान दिइररहेको छ । यसले अन्ततः अनपेक्षित एवं कमजोर नीति छनोटतर्फ डोर्‍याउनेछ । साथै, बढ्दो असमानता र घनिभूत भनिरहेको सामाजिक एवं राजनीतिक ध्रुवीकरणबाट नाटकीय र हिंसात्मक परिणामसमेत निम्तिन सक्ने इतिहासले देखाइदिएकै छ । 

सौभाग्यवशः आय तथा सम्पत्ति असमानताको गम्भिरता, आयाम, इतिहास र मार्गमाथि प्राथमिक अध्ययन गर्ने संस्था बढिरहेका छन् । कुनै समस्या सम्बोधनका लागि कुनै प्रकारको कर नीतिको माग बढ्दै गयो भने कुन कर सबैभन्दा बढी प्रभावकारी हुन्छ भन्ने कुराको निर्धारण वास्तवमा त्यसको विशिष्ट उद्देश्यमा निर्भर गर्छ ।  

डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका प्रत्याशी उम्मेदवारका कुरा सुन्दा फरक–फरक सम्पत्ति करका उद्देश्य पनि फरक–फरक हुन्छन् जस्तो लाग्छ । बर्नी स्यान्डर्स ‘अर्बपति अस्तित्वमै रहनु हुन्न,’ भन्छन् । उनका लागि चरम असमानता आफैँमा अपराध हो । अरूचाहिँ तल्लो आधा वा दुईतिहाइ हिस्साका नागरिकका लागि सम्पत्ति तथा आय असमानताले के अर्थ राख्छ, त्यसमा बढी केन्द्रित छन् । उदाहरणका लागि एलिजावेथ वारेनलाई लिऔँ, उनी सामाजिक सुरक्षा एवं अन्य सेवाको महत्वाकांक्षी विस्तारका लागि धनीमाथि कर लगाउन चाहन्छिन् । 

सम्पत्ति कर आधारभूत रूपले एउटा लेबी नै हो, जसले लगानीको प्रतिफल घटाउँछ । सम्पत्तिमा लगाइने ३ प्रतिशत करले कर लगाउनुपूर्व १० प्रतिशत रहेको लगानीको प्रतिफललाई ७ प्रतिशतमा झार्छ । र, त्यो प्रतिफल आम्दानीमा परिवर्तन हुँदा ३० प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, यदि ५ प्रतिशत कर लगाइयो भने करपूर्वको प्रतिफलमा लागू हुने यस खाले कर ६० प्रतिशत करबराबर हुन्छ भने करपूर्वको प्रतिफलमाथि लागू हुने २० प्रतिशत कर १५ प्रतिशत करबराबर हुन्छ । त्यो धेरै ठूलो फरक हो । यी उदाहरणले देखाएजस्तै सम्पत्ति कर स्थिर हुँदा लगानीको प्रतिफलमा लगाइने करको परिमाण अनुपातिक रूपले घट्छ भने करपूर्वको प्रतिफलमाथिको करको आकार बढ्छ ।

यसबाहेक धनाढ्य व्यक्तिसँग सामान्यतयाः व्यापक दायराका सम्पत्तिमा पहुँच हुन्छ । तत्काल तरल बनाउन नसकिने खालका सम्पत्तिमाथि उनीहरूकै बढी पहुँच हुन्छ । विभिन्न नियामनकारी अवरोध र प्रतिफलका लागि निश्चित अवधि पर्खनुपर्ने ‘इलिक्विडिटी प्रिमियम’ का कारण यस वर्गका सम्पत्तिको करपूर्वको प्रतिफल बढी हुन सक्छ । यस्तोमा, ५० करोड डलरको सम्पत्तिमाथि २ प्रतिशत र १ अर्ब डलर सम्पत्तिमाथि ३ प्रतिशत कर (वारेनले प्रस्ताव गरेअनुसार) त्यति धेरै भएजस्तो लाग्दैन । ५० करोड डलरको बेन्चमार्कले अधिकांश मानिसको खर्च गर्ने क्षमतालाई सीमित पनि गर्दैन । साथै, यसले उनीहरूलाई लगानी प्रतिफलमा तुलनात्मक रूपले प्रगतिशील कर कम लाग्ने उच्च प्रतिफल दिने तरल सम्पत्तिमा लगानी गर्ने स्वतन्त्रता पनि दिन्छ । 

मौजुदा व्यवस्थामा विचार गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा पनि छ । लगानीको प्रतिफलमा जतिपछि कर तिर्नुपर्ने अवस्था आउँछ लगानी प्रतिफलमा लगाइने त्यस्तो कर उत्तिकै उल्लेख्य रूपले घट्दै जान्छ । त्यसैले धनाढ्य व्यक्तिहरूमा मूल्यवान् कम्पनीमा रहेको आफ्नो सेयर स्वामित्व लामो समयसम्म कायमै राखिराख्ने र पुँजीगत लाभ करलगायत सम्पत्ति करबाट लामो समय बचिरहन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूले आफ्नो सम्पत्ति दान गर्ने वा गरेको अवस्थामा त कहिले कर तिर्छन् त्यसको कुनै निश्चितता हुँदैन । उदाहरणका लागि यदि वास्तविक आम्दानीमाथिको कर ३० प्रतिशत हुँदा त्यस्तो सम्पत्तिको करपूर्वको प्रतिफलमा लाग्ने कर १५ प्रतिशत हुन आउँछ । त्यसैगरी, वास्तविक प्रतिफलको गणना २५ वर्षसम्म नगरिँदा त्यस्तो प्रतिफलमाथि लाग्ने कर (इफेक्टिभ ट्याक्स) घटेर साढे १० प्रतिशत मात्रै हुन्छ । २५ वर्षको स्थगन अवधिले करको दरलाई दुईतिहाइ घटाउनुका साथै र करपछिको सम्पत्तिको मूल्य झन्डै दोब्बरसमेत बनाइदिसकेको हुन्छ ।

स्पष्ट रूपमा भन्नुपर्दा कर भुक्तानीको स्थगनले प्रभावकारी करको दरमा धेरै ठूलो प्रभाव पार्छ । शीर्ष ५ प्रतिशत धनाढ्यहरूमा यस्तो अभ्यास रहेको छ । यद्यपि सम्पत्ति करलाई पन्छाउन कठिन हुन्छ । वास्तविक बजार मूल्य नभएका धेरै सम्पत्तिमाथि कब्जा राखिराख्नु त्यत्ति सजिलो हुन्न । व्यवहारमा भने सम्पत्ति कर सम्पत्तिको हालको वास्तविक मूल्यमाथि लगाइन्छ भने भर्खरैका लगानीमा केही कर छुटको व्यवस्था पनि हुन्छ । साथै, लगानीको प्रतिफलमाथि लगाइने कर वास्तविक प्रतिफलमा लगातार लगाइन्छ । 

सम्पत्ति कर स्थगन (डिफरेवल) गरिरहन नसकिने भएकाले र यसको प्रभाव करपूर्वको प्रतिफलमा निर्भर हुने भएकाले सामान्य सम्पत्ति कर हालको व्यवस्थामा रहेको लगानीको प्रतिफलमा लगाइने प्रभावकारी करको दरभन्दा थोरै मात्रै बढी हुन सक्छ ।  नयाँ सम्पत्ति करको विरोध गर्नेले अझै पनि यसको विरोधमा थुप्रै तर्क प्रस्तुत गरिरहेका छन् । एकपटक सम्पत्ति कर लागू भएपछि समयक्रमसँगै सो बढ्दै जान्छ भन्ने तर्क एकथरीको छ । तर, पछिल्ला दशकमा अमेरिकामा आय कर दर ओरालो लाग्दै गरेको सन्दर्भले यस तर्कलाई समर्थन गर्दैन । 

यस सम्पत्ति करको कारण उत्पादकत्व, आर्थिक बृद्धि एवं रोजगारी चपेटामा आउँछ भन्ने दोस्रो दाबी छ । तर, मूल्यवान् कम्पनी खडा गरेका उद्यमीले सम्पत्ति कर तिर्दा उनीहरुको सम्पत्ति घट्छ, र उद्यमशील प्रयास गर्न छोड्छन् भन्ने कुरा विश्वसनीय छैन । 

यस आलेखमा उल्लेख गरिएको १ अर्ब डलरभन्दा माथिको सम्पत्तिको लाभमा लाग्ने सम्पत्तिको प्रतिफलमाथिको प्रगतिशील करले ती धनाढ्यको उपभोग तथा जीवनशैलीसँग खासै अर्थ राख्दैन । उपभोग र जीवनशैली त उनीहरूको सफलता र सामाजिकस्तरका सूचक हुन् । सम्पत्ति करले उनीहरूको सम्पत्तिको स्तरलाई समायोजन गर्न सक्छ, तर यसले उनीहरूको समग्र क्रमसूचीमा भने परिवर्तन गर्न सक्दैन । 

अन्ततः केहीले सबै सम्पत्ति आफ्नै बलबुतामा कमाएकाले त्यो आफैँसँग राख्न पाउनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् । तर, यस तर्कले वास्तविकतालाई बेवास्ता गरेको छ । अमेरिकामा सफल सबै व्यक्ति एउटा व्यापक प्रणालीका लाभग्राही हुन्, त्यसै प्रणालीले उनीहरूको सफलताका लागि स्रोत एवं अवसर जुटाइदिएको हो । असमानतामाथिको विमर्श तातिरहेको छ । 

धनाढ्यहरूको एउटा प्रभावशाली समूहले सामान्य सम्पत्ति कर (मोडरेट वेल्थ ट्याक्स) को वकालत गर्न थालेको छ । प्रस्तावित यस करलाई, कमाउने समूहका तल्ला ५० प्रतिशतलाई उपलब्ध अवसर विस्तारित गर्ने गरी तयार गरिएको छ । यो कर कसरी सबैभन्दा राम्रो हुन्छ भन्नेमा मतैक्य छैन । कम आय भएका परिवारलाई सिधैँ आय हस्तान्तरण (ट्रान्सफर) वा शैक्षिक तथा रोजगारीलक्षित सामाजिक सेवाका कार्यक्रममा सार्वजनिक कोषको विस्तारमध्ये कुन तरिकाले उत्कृष्ट हुन्छ भन्नेमा दुईमत छ । 

यो महत्वपूर्ण विमर्श होला, तर यो छुट्टै मुद्दा हो । जेसुकै भए पनि वर्तमान सामान्य सम्पत्ति करको प्रस्तावमा गम्भीर ध्यानाकर्षणको आवश्यकता छ । अमेरिकी अर्थतन्त्रमा विद्यमान अनिष्टकारी वितरण (सम्पत्ति तथा आय) लाई सम्बोधन गर्ने उत्तम एवं खराब दुवै तरिका होलान् । तर, केही नगर्नुचाहिँ सबैभन्दा खराब विकल्प हो ।

अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त स्पेन्स न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यापक र हुभर इन्स्टिच्युसनका सिनियर फेलो हुन् ।
Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य


माइकल स्पेन्स


(मिति  २०७६ कार्तिक १७ आइतबार   नयाँ पत्रिका मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  नयाँ पत्रिका को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links