गृहमन्त्रीले व्यवसायीलाई भने-कर छली गर्ने व्यापारीको विवरण दिनुस्, कारवाही म गर्नेछु

काठमाडौं, चैत ११ 
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्धक्क भएर व्यवसाय तथा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँग आइतबार गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले देशमा दुई तिहाईको समर्थनसहित स्थिर सरकार बनेको, लोडसेडिङमुक्त भएको तथा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने भन्दै अहिले लगानी गर्ने उपयुक्त समय भएको बताए।

दलाल पूँजीपतिहरूलाई कारवाही गरिने र राष्ट्रिय पूँजीपतिहरूको सरकारले संरक्षण गर्ने सरकारले नीति लिने मन्त्री थापाले स्पष्ट पारे।

गृहमन्त्रीले भने, ‘कर छल्नेहरू को–को छन्? चेम्बरले त्यसको सूचना दिनुहोस्, घूस माग्ने कर्मचारी र अनावश्यक दुख दिने सुरक्षाकर्मी को-को हुन्? तिनीहरूको सूची हामीलाई दिनुहोस्,त्यस्तालाई कारवाहीमा कुनै कसर बाँकी राखिने छैन।’

चेम्बर अफ कमर्सभित्रै पनि केही व्यवसायी कर छली गर्नेहरू हुनसक्ने भन्दै त्यस्ता व्यक्तिका कारण संस्थाकै बदनाम हुनसक्ने भन्दै सो अगावै उनीहरूबारे गृहमन्त्रालयलाई जानकारी दिन मन्त्री थापाले आग्रह गरे।

तस्करी, घूसखोरी, कर छली र अन्य सबै विकृति, विसंगति विरुद्ध गृहमन्त्रालयले अभियान सुरू गरेको पनि उनले जानकारी दिए।
(श्रोत-  सेताेपाटी २०७४ चैत ११ गते )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links