८ सय करदाता बढे


ओखलढुंगामा बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महिना अवधिमा ८ सय करदाता बढेका छन् । आन्तरिक राजश्व कर कार्यालय लहानले दिएको जानकारीअनुसार उक्त संख्यामा करदाता थपिएका हुन् ।
अर्थिक वर्ष २०७३-७४ मा एक हजार ४०० संख्यामा रहेका करदाता गत आर्थिक वर्षमा भने उल्लेख्य थपिएका थिए । चालू आर्थिक वर्षको असोज मसान्तसम्म ओखलढुंगा जिल्लाबाट राजश्व बुझाउने करदाता संख्या २ हजार ३०० पुगेको आन्तरिक राजश्व कर कार्यालय लहानका कर अधिकृत पशुपति घिमिरेले बताए । “कर कार्यालय लहान र ओखलढुंगा उद्योग वाणिज्य संघ दुवैबाट हामीले कर तिर्ने र व्यवसायीहरुलाई नयाँ पान नम्बर जारी गर्ने व्यवस्था मिलाएका छौं,” घिमिरेले भने, “त्यसैले गर्दा ओखलढुंगामा करदाताको संख्या बढेको हो ।”
आन्तरिक राजश्व कर कार्यालय लहानसँगको सहकार्यमा ओखलढुंगा उद्योग वाणिज्य संघले २०७१ सालबाट जिल्लाबाटै अस्थायी पान जारी गरिरहेको छ । संघको तथ्यांकअनुसार हालसम्म जिल्लाबाट अस्थायी पान लिने व्यवसायीको संख्या ९ सय नाघेको छ । उद्योग वाणिज्य संघले व्यवसायीलक्षित करदाता सेवा प्रदान गरिरहेपनि अन्य सेवाग्राहीलाई भने पान जारी गर्ने गरेको छैन । ओखलढुंगा उद्योग वाणिज्य संघले जिल्लाबाटै कर तिर्ने व्यवस्था गरेपछि एक हजार ५०० देखि २ हजार ५०० रुपैयाँ कर तिर्नका लागि १० हजार रुपैयाँसम्म खर्चेर लहान पुगेर कर तिर्ने अवस्थाको अन्त्य भएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
संघले चालू आर्थिक वर्षबाट गाउँगाउँमा रहेका व्यवसायीहरुलाई करको दायरामा ल्याउने अभियानसमेत थालेको छ । यो अभियानअन्तर्गत जिल्लाका स्थानीय तहहरुसँग समन्वय गरी करदाता शिविर सञ्चालन गर्न थालिएको छ । गत असोजमा मात्रै जिल्लाका लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाबाट ३ सय करदाता थपिएको संघका कार्यालय सचिव नवराज दाहालले जानकारी दिए । संघले तिहारपछि थप गाउँपालिकामा करदाता शिविर सञ्चालन गर्ने तयारी गरिरहेको दाहालको भनाइ छ ।

यो समाचार  कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links