६० प्रतिशत करदाताले अब घरबाटै कर तिर्न सक्ने

७ साउन, काठमाडौं । वार्षिक २० लाखसम्म कारोबार गर्ने साना करदाताले मोबाइल एप्सलगायत अन्य विद्युतीय माध्यमबाट कर बुझाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । बजेटमा गरिएको घोषणा कार्यान्वयनमा आएसँगै अब करिब ६० प्रतिशत करदाताले घरबाटै कर तिर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कुल ६ लाख ९० हजार करदाताले आय विवरण बुझाएका थिए । उनीहरुमध्ये ४ लाख ११ हजार करदाता साना करदाता हुन्, जसको वार्षिक कारोबार २० लाखभन्दा कम छ । नयाँ व्यवस्थापछि उनीहरुले छिटो र छरितो सेवा पाउने छन् भने कर प्रशासनको कार्यबोझ पनि कम हुनेछ ।

चालु आर्थिक वर्षमा यस्ता साना व्यवसायीलाई सरकारले सहुलियत प्याकेजसमेत ल्याएको छ । यसअनुसार उनीहरुलाई ७५ प्रतिशतसम्म कर छुट दिने निर्णय सरकारको छ । वार्षिक २० लाख कारोबार वा २ लाख रुपैयाँसम्म आय भएको महानगर र उपमहानगरपालिकामा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले सामान्य अवस्थामा वार्षिक ७ हजार ५ सय रुपैयाँ आयकर तिर्नुपर्छ । यस वर्ष भने यस्ता व्यवसायीले १ हजार ८ सय ७५ रुपैयाँ मात्र आयकर तिर्दा पुग्छ ।

नगरपालिकामा २० लाखसम्म कारोबार वा २ लाख आय हुनेले वार्षिक ४ हजार कर तिर्नुपर्नेमा यो वर्ष मात्र १ हजार तिरे पुग्नेछ । गाउँपालिकामा वार्षिक २० लाख कारोबार वा २ लाख आय गर्ने व्यक्तिले सामान्य अवस्थामा २५ सय रुपैयाँ कर तिरे पुग्नेमा यो वर्ष मात्र ६२५ तिर्दा हुने गरी सरकारले छुट दिएको छ ।

यो छुट सुविधाबाट सरकारलाई आयकरमा ठूलो घाटा पुग्ने छैन किनकी नेपालमा साना करदाताको संख्या ठूलो भए पनि उनीहरुले कुल आयकरमा गर्ने योगदान भने न्यून छ । विभागका अनुसार साना करदाताबाट १ प्रतिशत हाराहारी मात्र आयकर असुल हुन्छ ।

यसरी तिर्नुस् घरबाटै कर

विभागले राजस्व व्यवस्थापन सूचना प्रणाली अन्तर्गत नयाँ सफ्टवेयर बनाएर १ साउनबाट सन्चालनमा ल्याएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा व्यवसाय गर्ने व्यक्तिले तोकिएको आयकर बैंकमार्फत तिर्दा आय विवरणसमेत पेश गर्न सकिने गरी नयाँ प्रणाली विकास गरिएको छ । आन्तरिक राजस्व विभागका अनुसार साना करदाताले आयकर ऐनअनुसार आय विवरण तथा कर दाखिला फारम भर्नुपर्छ ।

यस्तो फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम, कट्टी हुने रकम, करदाता वा निजको प्रतिनिधिको पूरा नाम, हस्ताक्षर र मोबाइल नम्बर भर्नुपर्छ । यसरी विवरण भर्दा आय रकम, लाग्ने कर रकम र म्याद गुजारी आय विवरण र कर दाखिला गर्दा लाग्ने शुल्क तथा ब्याजसमेत कम्प्युटर प्रणालीबाट स्वतः गणना हुन्छ । यसले करदाता र बैंकका कर्मचारीलाई समेत कर दाखिला र संकलन सहज हुनेछ । यो प्रणालीमा त्रुटीको सम्भावना समेत कम हुने विभागले जनाएको छ ।

अहिले प्रत्येक वर्षको आय विवरण र कर दाखिला गर्ने प्रणाली रहेको छ । अबदेखि एकै पटकमा एकभन्दा बढी आय वर्षको आय विवरण र कर दाखिला गर्न सक्ने प्रणालीमा समेत सुधार गरिएको विभागले जनाएको छ ।

अबदेखि आफू दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको राजस्व संकलन गर्ने अधिकार प्राप्त बैंकको जुनसुकै शाखामा गई यस्तो फारम भरेर आय विवरण र कर दाखिला गर्न सकिने छ । यसअघि यस्तो विवरण र कर तिर्न कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने करदाताले नजिकको बैंक शाखामा पुगेर आय विवरण र कर भुक्तानी गर्न सक्ने भएका छन् । यसरी दाखिला भएको रकम र विवरण आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयको अभिलेखमा पुग्ने गरी प्रणाली विकास गरिएको छ ।

यसबाहेक विद्युतीय माध्यम प्रयोग गरेर पनि साना करदारताले कर तिर्न सक्छन् । यसका लागि कुनै करदाताले विभागको एकीकृत कर प्रणालीमा रहेको ट्याक्सपेयर पोर्टलमा गई विद्युतीय माध्यमबाट आय विवरण तथा कर दाखिला भौचर तयारी गरी सम्बन्धित बैंकमा गई कर भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएसका माध्यमबाट समेत कर तिर्न सकिने बनाइएको छ ।

बिद्यूतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र

साना करदाताका लागि अब विद्युतीय माध्यमबाटै करचुक्ता प्रमाणपत्र समेत जारी हुनेछ । यसका लागि विभागको एकीकृत कर प्रणालीमा विद्युतीय कर चुक्ता प्रमाणपत्र माग गर्न सकिने गरी प्रणाली बनाइएको छ । प्रणालीले स्वतः आय विवरण र कर बक्यौता भए नभएको सुनिश्चित गरी बक्यौता नभएमा कर चुक्ता प्रमाणपत्र जारी गर्ने भएको छ । यो पनि स्वचालित प्रणालिमा आधारित बनाइएको छ ।

(यो समाचार  अनलाइन खबर ७ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links