कर छलीका ५ सय बढी उजुरी


कर छलीका विभिन्न शीर्षकमा ५ सयभन्दा बढी उजुरी परेका छन् । राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ६ महिनामा कर छली शप्र्षकमा ५०८ वटा उजुरी परेको जनाएको छ । यस अवधिमा ७ अर्ब ६२ करोड रूपैयाँ कर छली गरेको आरोपमा १ सय ६४ जनाबिरुद्ध मुद्दा दर्ता गरेको विभागको दावी छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले यस अवधिमा सुन चोरीपैठारी गरी राजस्व छली गरेको तथा विदेशी विनिमय अपचलनमा १४ मुद्दामा १८ व्यक्तिबाट ३५ किलो ७५ ग्राम सुन जफत गरिएको जानकारी दिए ।
मैनालीका अनुसार ती व्यक्तिलाई अदालतमा बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद मागदावी गरी मुद्दा दायर भएको छ । उनले कर छलीका ५०८ वटा उजुरी दर्ता भएको र राजस्व चुहावटका ४२ वटा तथा विदेशी विनिमय अपचलनका ३२ वटा गरी ७४ वटा मुद्दा अदालतमा दायर भएको बताए । यस्ता प्रकृतिको मुद्दामा १ सय ६४ जना व्यक्तिउपर विगो र जरिवानाबापत ७ अर्ब ६२ करोड ८२ लाख ५२ हजार रकम मागदाबी गरी मुद्दा दायर गरेको छ । 

विभागका अनुसार कर छलीको आरोपमा ८ जना सरकारी कर्मचारीसमेत रहेको अनुसन्धानमा भेटिएको छ । विभागले राजस्व चुहावटका ५२ वटा कसुरमा अनुसन्धान सम्पन्न गरेको र कारबाही प्रक्रिया अघि बढाएको बताएको छ । विभागले यसअघि नै पत्रकार सम्मेलन गरेर नक्कली भ्याट बिल छपाइ गरि राजस्व छली गरेको आरोपमा जयकिशोर साह र परमेश्वर साहसमेत २४ जनाविरुद्ध मात्रै १ अर्ब ७५ करोड रुपैयाँ बिगोसहित तीन वर्ष कैद हुने गरी मुद्दा दायर गरेको दावीसमेत गरेको छ । विभागका अनुसार उनीहरूले आफ्ना मजदुर र आयस्रोत कम भएका व्यक्तिको नाममा फर्म खोल्ने, भ्याटमा दर्ता गराउने र कारोबार गर्ने गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।
नक्कली भ्याटबिल छपाइ गरी कारोबार गर्ने गरेकोले संलग्न फर्म तथा व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढाइएको विभागका महानिर्देशक मैनालीले जानकारी दिए । उनका अनुसार कर छलीमा संलग्नहरूले बैंकका कर्मचारीको नाममा खाता खोल्ने र सञ्चालन गर्ने गरेको पनि अनुसन्धानमा देखिएको छ । कतिपय व्यक्तिहरूले १३ प्रतिशत भ्याट र खर्च देखाइ आयकर २५ प्रतिशत छली गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए । 
अनुसन्धानका क्रममा असारमा १२ करोड रुपैयाँको कारोबार गर्ने तर त्यही फर्म साउनमा गायब हुने जस्ता समस्यासमेत भेटिएका छन् । कर छलीमा संलग्नहरूलाई आवश्यक कारबारी गर्नेगरी विभागले काम गरिरहेको मैनालीको भनाइ छ । विभागले बिल खरिद गर्ने ठूला तथा मझौला गरी १२ फर्मको कारोबार विवरण संकलन गरी अनुसन्धान अघि बढाइसकेको छ । विभागले अवैध हुण्डी कारोबार गर्ने ५९ जनाबिरुद्ध ४ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्ष कैद हुने गरी मुद्दा दायर गरेको पनि बताएको छ ।

यो समाचार  कारोबार दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links