लकडाउनमै उठ्यो साढे ४२ अर्ब आन्तरिक राजस्व, ठूला कर्पोरेट हाउसले तिर्न थाले कर

काठमाडौं। लकडाउन अवधिमै सरकारले साढे ४२ अर्ब आन्तरिक राजस्व संकलन गरेको छ। चैत, बैशाख र जेठ महिनामा ४२ अर्ब भन्दा बढी राजस्व संकलन भएको हो। 

सरकारी तथा निजी क्षेत्रका ठूला करदाताहरुले कर तिर्न सुरु गरेको आन्तरिक राजस्व विभागले जनाएको छ। अन्तःशुल्क, मूल्य अभिवृद्धि कर(भ्याट) र आयकर शीर्षकमा राजस्व संकलन भएको हो।

विभागका अनुसार जेठ महिनामा व्यवसायीहरुले आयकर तिर्ने सुरु गरेका छन्। विभागले जेठ १३ अर्ब ६१ करोड राजस्व र ७ अर्ब ५ करोड आयकर संकलन गरेको हो। यो महिना विभागले ९ अर्ब आयकर संकलन गर्ने लक्ष्य राखेको थियो। 
 

लकडाउन बीचमै सबैभन्दा धेरै कर तिर्नेमा सरकारी लगानीका संस्थान तथा बैंकहरु छन्। यो बीचमा सबैभन्दा धेरै नेपाल टेलिकमले १ अर्ब ३२ करोड र नेपाल दूर सञ्चार प्राधिकरणले १ अर्ब २५ करोड कर बुझाएका छन्। यस्तै एनसेल नेपालले २५ करोड कर जेठ महिनामा तिरेको छ। विभागका अनुसार एनसेलले लकडाउन अवधिमा नियमित कर तिर्दै आएको छ। 

सूर्य नेपालले ४१ करोड, डाबर नेपालले १ करोड २४ लाख र जगदम्बा ग्रुपले २ करोड ३० लाख कर तिरेका छन्। विभागका अनुसार यी कम्पनीहरुले लकडाउनमा पनि नियमित कर तिर्दै आएका छन्। जेठ महिनामा ठूला करदाता कार्यालयले ६ अर्बभन्दा बढी राजस्व संकलन गरिसकेको छ।  यस्तै कर तिर्नेमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक  छन्। 

यस्तै निजी क्षेत्रका केही कम्पनीहरुले पनि कर तिरिरहेको विभागले जनाएको छ। सरकारले कर तिर्ने समय असार ७ गतेसम्म थपेको छ । 'यो बीचमा केही ठूला तथा साना करदाताहरुले कर तिरिरहेका छन्। विशेषगरी पछिल्लो समयमा आयकर तिर्नेको संख्या बढिरहेको छ,' विभागका एक अधिकारीले भने। उनका अनुसार करदाता आफैंले सवारी पास बनाएर पनि कर तिर्न आइरहेका छन्। 

लकडाउन सुरु भएको चैत महिनामा विभागले विभिन्न कर कार्यालयहरुबाट २५ अर्ब ९ करोड राजस्व संकलन गरेको थियो। यसमा एनसेलले तिरेको १४ अर्ब ३३ करोड  पुँजीगत लाभकरसमेत जोडिन आउँछ। चैत महिनामा आन्तरिक राजस्वले ६२ अर्ब ५८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै बैशाख महिनामा ३ अर्ब ९ करोड मात्रै राजस्व संकलन गरेको विभागले जनाएको छ। यो महिना आन्‍तरिक राजस्वले ३८ अर्ब ८ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो। 

सरकारले कर तथा कर विवरण बुझाउने मिति असार ७ र आयकर तिर्ने मिति असार १५ गतेसम्म थप गरेको छ। सरकारले आफ्नो आम्दानी हुने सबै क्षेत्रबाट जेठ २७ गतेसम्म ६ खर्ब ९३ अर्ब ७२ करोड राजस्व संकलन गरेको छ। यो लक्ष्यको ६९.२९ प्रतिशत मात्रै हुन आउँछ।

सरकारको आम्दानी भन्दा खर्चको अन्तर बढ्दै गएको छ। मंगलबारसम्म सरकारको ८ खर्ब ४९ अर्ब खर्च भइसकेको छ। स्रोतले धान्ने अवस्था नआएपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ। यो वर्ष १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने सीमा छ। जसमध्ये १ खर्ब ९३ अर्ब आन्तरिक ऋण उठाउने तयारी सरकारले गरेको छ।  

(यो समाचार  बिजमाण्डू मा, २९  जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links