ठूला करदाता कार्यालयले तीन दिनमा ४ अर्ब राजस्व उठायो, यी हुन् कर बुझाउने ठूला कम्पनी


काठमाडौं । ठूला करदाता कार्यालयले ३ दिनमा ४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । कार्यालयले बिहीबार, शुक्रबार र आइतबारसम्म करिब करिब ४ अर्ब हाराहारीमा राजस्व संकलन गरेको बताएको छ ।

कार्यालयका अनुसार निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २५ करोड रुपैयाँ कर बुझाएको छ । त्यसैगरी, दुरसञ्चार प्राधिकरणले १ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । 

बैंक तथा वित्तीय संस्थाले मात्रै २ अर्ब ६० करोड रुपैयाँ राजस्व बुझाएको कार्यालयले जनाएको छ । यो भनेको कुल बुझाएको राजस्वमध्ये ६५ प्रतिशत हो । ४ अर्ब रुपैयाँमध्ये बाँकी रकम प्राधिकरण, एनसेल र अन्य करदाताले बुझाएका हुन् । 

सरकारले अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) आयकर बुझाउने जेठ २५ गतेको समयसीमालाई असार ७ र असार १५ गतेसम्म सारेको छ । तर, उद्योगी/व्यवसायीले अहिले पनि कर बुझाउन थालेको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए । 

‘सरकारले समयसीमा सारे पनि व्यवसायीले कर बुझाइरहेका छन्,’ उनले भने, ‘लकडाउन भएसँगै केही व्यवसायीको व्यवसाय ठप्प भएकाले उनीहरुले बुझाउने कुरै भएन ।’ 

उद्योगी/व्यवसायीले पनि सक्नेले कर बुझाउनुपर्ने बताइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले सक्नेले राज्यलाई कर बुझाएर सहयोग गर्नुपर्ने बताए । तर, नसक्नेका हकमा सरकारले हेरिदिनुपर्ने उनको भनाइ छ । 

८० करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने प्रतिष्ठानहरु ठूला करदाता कार्यालयअन्तर्गत पर्छन् । ६ सय ८१ करदाता ठूला करदाता कार्यालयको सूचीमा छन् ।


(यो समाचार   क्यापिटल नेपाल मा, २६ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links