प्रोपाइटरसिप फर्मलाइ प्राइभेट कम्पनीमा परिवर्तन गर्न करमा के गर्ने लगायत करका तीन प्रश्न- १३ फाल्गुण, २०७४

कुनै प्रोपाइटरसिप फर्मलाइ प्राइभेट कम्पनीमा परिवर्तन गर्न के गर्नुपर्छ?

कुनै व्यवसाय दर्ता हुँदा प्रोप्राइटरसिप फर्मको रुपमा दर्ता छ भने त्यसलाई साझेदारी वा कम्पनीमा परिवर्तन गर्दाको अवस्थामा सो प्रोप्राइटरसिप फर्मलाई कर कार्यलयमा बन्द गरी साझेदारी वा कम्पनीको नयाँ प्यान नं लिनुपर्दछ । प्रोप्राइटरसिप फर्म,साझेदारी फर्म वा कम्पनी सबै आयकर ऐन अनुसार छुट्टा छुट्टै व्यक्ति भएकोले नयाँ प्यान लिने प्रक्रियामा जानु परेको हो । तर एकपटक कम्पनीका रुपमा प्यान नं लिइसकेपछि सो कम्पनीका शेयर होल्डरमा जति परिवर्तन भए पनि त्यसले कम्पनीको अस्तित्व फरक पर्दैन । त्यसले प्रोप्राइटरसिप फर्मलाई साझेदारीमा,साझेदारी फर्मलाई कम्पनीमा वा प्रोप्राइटरसिपमा परिवर्तन गर्दा वा आफ्नो फर्म नै बन्द गर्दा सामान्यतया उस्तै प्रक्रिया जानु पर्दछ । भ्याटमा दर्ता रहेको करदाताको हकमा भने भ्याटको अनुसूची ४ समेत भर्नु पर्ने हुन्छ ।

 

कम्पनी,प्रोपाईटरसिप वा पार्टनसिप बन्द सम्बन्धि प्रक्रिया के के हुन?

  1. आफ्नो व्यवसायमा रहेको सम्पति र दायित्व बन्द वा परिवर्तन गर्दाको मितिको बजार मूल्यमा निसर्ग (बिक्री) भएको मानी सो बिक्रीको नाफा र नोक्सान निकाल्ने ।
  2. सो बन्द वा परिवर्तन गर्दाको मितिसम्मको बिक्री र खर्च एवं माथि उल्लेखित सम्पति र दायित्वको निसर्ग सहितको विवरण राखी आय विवरण भर्ने । सो आय विवरणसँग तिर्नुपर्ने कर बुझाउने ।
  3. सर्बप्रथम,तपाईको व्यबसाय दर्ता भएको स्थान (जस्तैः बाणिज्य विभाग,कम्पनी रजिष्टार वा अन्य) बाट व्यवसाय बन्द भएको प्रमाण कर कार्यालयमा पेश गर्नुपर्नेहुन्छ । त्यसपछि,प्यान बन्दका लागि निबेदन दिने । बाणिज्य विभाग,कम्पनी रजिष्टार वा अन्य निकायमा व्यवसाय बन्द गर्नका लागि गत आ.व.को कर चुक्ता प्रमाणपत्रको जरुरत हुन्छ ।
  4. कर कार्यालयले सो निबेदन पश्चात सम्पूर्ण कर परीक्षण (ँगिि ब्गमष्त) गरि व्यक्तिको तिर्नुपर्ने शुल्क,ब्याज अथवा बक्यौता रकमको निर्धारण गर्दछ ।
  5. सो क्रममा कर कार्यालयले माग गरे बमोजिम कर संग सम्बन्धित अभिलेख परीक्षणको निम्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।
  6. माथि बुदाँ नं. ४ वमोजिम  कर परीक्षण पश्चात गणना गरिएको संशोधित कर निर्धारण बमोजिम कर दायित्व बुझाएपछि कर कार्यालयबाट व्यवसाय बन्दको पत्र प्राप्त हुन्छ ।

 

संक्षिप्त कर विजक के हो र यो राख्दाका व्यवस्था के छन्?

 

संक्षिप्त कर बिजक जारी गर्ने अवस्थाः

कुनै पनि मूल्य अभिबृद्धि करमा दर्ता भएको ब्यक्तिले खुद्रा बिक्रीमा जारी गर्ने कर सहित रु. ५,००० सम्मको बिजकलाई संक्षिप्त कर बिजक भनिन्छ । संक्षिप्त कर बिजक जारी गर्न कर अधिकृतबाट पूर्व स्वीकृती प्राप्त गर्नु पर्नेछ । अन्तिम उपभोक्तालाई खुद्रा बिक्री गर्ने बिक्रेतालाई मात्र संक्षिप्त कर बिजक जारी गर्ने स्वीकृती दिइन्छ । यस्तो संक्षिप्त कर बिजकमा करको अंश उल्लेख हुँदैन र यसबाट खरिदकर्ताले कर कट्टी दावी गर्न पनि मिल्दैन । कम मोल पर्ने धेरै वस्तुहरु बिक्री गरिएको रहेछ भने संक्षिप्त कर बिजकमा सबै वस्तुहुहरुको छुटुछुटै नाम उल्लेख नगरी एकमुष्ट केही वस्तुहरु भनी उल्लेख गर्न सकिनेछ ।

 

संक्षिप्त कर बिजक दिने दर्ता भएको व्यक्तिले सो कुराको अभिलेख देहाय बमोजिम राख्नु पर्दछ ः

क) सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,

ख) टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,

ग) प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्नु पर्ने ।

 

दर्ता भएको व्यक्तिले राख्नु पर्ने अभिलेख नराखेमा कर अधिकृतले संक्षिप्त कर बिजक जारी गर्न दिएको अनुमति खारेज गर्न सक्नेछ ।

 

पाँच हजार रुपैयाँ भन्दा बढी मूल्यको कारोबार भएको रहेछ भने संक्षिप्त कर बिजक जारी गर्न पार्ईने छैन र सो भन्दा कम रकमको कारोबार भएको भएता पनि खरिदकर्ताले नियम १७ बमोजिमको कर बिजकको माग गरेमा सोही बमोजिमको कर बिजक उपलब्ध गराउनु पर्दछ ।

 

आयकर र भ्याट प्रयोजनका निम्ती कागजात कति वर्ष सम्म राख्नु पर्दछ?

 

आयकर ऐनको दफा ८१ अनुसार कर बुझाउनुपर्ने दायित्व भएका प्रत्येक व्यक्तिले विभागबाट तोकिएको प्रकार,ढाँचा,लेखापरीक्षकबाट प्रमाणित प्रतिवेदन,आय विवरण,कर निर्धारण एवं खर्च कट्टी गर्ने कुरामा सहयोग पु¥याउने कागजातहरु सम्बन्धित आय वर्षको मितिले ५ वर्षसम्म सुरक्षित राख्नु पर्दछ । यदि नराखेमा सो नराख्नेलाई त्यस्तो कागजात नराखेको वर्षको लागि सो आय वर्षको आयको गणना गर्दा कुनै रकम कटाई पाउने भए सो रकम नकटाई र रकम समावेश गर्नुपर्ने भए सो रकम समावेश गरी हुने निर्धारण योग्य आय (कुल कारोवार रकम) को ०.१५ प्रतिशत वा रु. १ हजार मध्ये जुन बढी हुन्छ सो रकम बराबर शुल्क लाग्दछ ।

मुल्य अभिवृद्धि कर ऐन अन्तरर्गतका कागजात र लेखा भने करदाताले ६ बर्षसम्म सुरक्षित राख्नु पर्दछ । सो अवधिसम्म करदाताले कागजात सुरक्षित नराखेमा दश हजार जरिवाना हुन सम्ने व्यबस्था मुल्य अभिवृद्धि कर ऐनमा गरीएको छ ।

कारोबारको लेखा भन्नाले करदाताको कम्युटर तथ्याङ्क आधार (डाटाबेश) समेतलाई जनाउँदछ ।

Social Links