पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक

असारसम्म नवीकरण नगर्नेको उडान सधैँलाई बन्द

अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजस्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले नवीकरण नगर्ने २६ कम्पनीलाई आइतबारबाट उडान भर्न नदिने निर्णय भएको बताए । 

महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था निम्तिएको हो । पोखराको आकाशमा उडान भर्ने ५६ मध्ये ३० कम्पनीले भने नविकरण गरिसकेका छन् । आइतबारपछि आउने कम्पनीलाई थप जरिवाना लिएरमात्रै नविकरण गर्ने निर्णय बैठकले गरेको छ । 

पोखरका सबै प्याराग्लाडिङ कम्पनीले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए । दुई साताअघि लगातार प्याराग्लाडिङ दुर्घटनामा पर्यटकले ज्यान गुमाएपछि महानगरले ती कम्पनीको आधिकारिकता बुझ्दा उनीहरूले सरकारी निकायको सूचनालाई बेवास्ता गर्दै विना नविकरण उडान भरिरहेको खुलेको थियो ।

त्यसपछि महानागरले नविकरण नगर्ने कम्पनीलाई २२ फागुनदेखि उडान बन्द गर्ने चेतावनी दिएको थियो । महानगरको निर्णयसँगै २१ फागुनमा नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईसँगै कम्पनीका संचालकहरूले नविकरणका लागि एक साता समय मागेका थिए । सोहीअनुसार महानगरले एक साताको समय थिएको थियो । तर उनीहरूले मागेको समयमा पनि जम्मा ३० कम्पनी नविकरण गर्न आएको पोखरा महानगरका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । 

असारसम्म नविकरण नगर्नेको उडान सधैंलाई बन्द
महानगरले चैत्रभित्र नविकरण गर्नेलाई थप ५ हजार जरिवाना तोकेको छ । यस्तै, वैशाखमा आउनेलाई १० र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिने निर्णय बैठकले गरेको पोखरा महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले बताए । असारसम्म पनि नविकरण गर्न नआउने कम्पनीको नविकरण नै नगर्ने र पोखरा क्षेत्रमा उडान भर्न नदिने निर्णय भएको उनले बताए । 

६० मध्ये ५६ कम्पनीको कार्यालय पोखरामा
नेपालभर ६० प्याराग्लाईडिङ कम्पनी दर्ता भएका छन् । त्यसमध्ये ५६  कम्पनीको कार्यालय पोखरामा छ । ति मध्ये माउण्ट भ्यु प्याराग्लाईडिङ कम्पनीबाहेक अन्यले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए ।

महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले ५५ कम्पनीहरूले आर्थिक बर्ष ०७२/०७३ देखि महानगरलाई नविकरण शुल्क नबुझाएको जानकारी दिए । शर्माका अनुसार ०७२/०७३ को ५५ सय, ०७३/०७४ को ५५ सय, ०७४/०७५ को ५० हजार र चालु आर्थिक वर्ष ०७५/०७६ को २५ हजार गरि प्रत्येका कम्पनीले नविकरण बापत ८६ हजारका दरले शुल्क बुझाउनुपर्नेछ । 

रसिद ल्याउनेलाई मात्र उड्न अनुमति 
पोखरामा हुने अधिकाश प्याराग्लाडिङ उडान महानगरको १८ नम्बर वडामा रहेको सराङकोट र तोरिपानीबाट हुने गर्छ । वडा १८ का अध्यक्ष रणबहादुर थापाले नविकरण शुल्क नतिर्ने कम्पनीलाई आईतवारदेखि उडान गर्न नदिने र उडान गर्न जाने नाकामा प्रहरी र महानगरको टोली वसेर शुल्क तिरेको रसिद हेर्ने बताए ।

नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभित बानियाका अनुसार पोखराको आकासमा वार्षिक एक लाख १० हजार जनाले प्याराग्लाईडिङ उडान भर्ने गर्छन् । प्रत्येक वर्ष १० देखी १५ प्रतिशतका दरले उडान भर्नेहरूको संख्या बढ्ने उनको भनाइ छ । 

सोलो उडान दुई सातादेखि बन्द
१९, २० र २१ फागुनमा भएको प्याराग्लाईडिङ दुर्घटनापछि सोलो प्याराग्लाडिङ उडान हुन सकेको छैन । तिन दिनको विचमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए । लगातार दुर्घटना हुन थालेपछि नेपाल नागरिक उड्डयान प्राधिकरण पोखराले २१ फागुनदेखी सोलो उडान (एक जना मात्र उड्ने) बन्द गराएको थियो भने टेण्डम (दुई जना उड्ने) उडान भने भैरहेका छन् ।

यो समाचार  नया पत्रिका दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links