१० दिनमै उठ्यो २३ अर्ब कर, एनसेल, सूर्य नेपालजस्ता ठूला करदाताले १५ अर्ब तिरे


काठमाडौं । सरकारी ढुकुटीमा १० दिनमै २३ अर्ब रुपैयाँ जम्मा भएको छ । 

लकडाउनकै बीचमा कर तिर्न सरकारले सूचना प्रकाशित गरेपछि अर्थ मन्त्रालयको निर्णय विवादित बनेको थियो । सर्वोच्च अदालतले पनि लकडाउनको बीचमा कर तिर्ने निर्णय कार्यान्वयन नगराउन भने पनि सरकार राजस्वका कारण समस्यामा परेको थियो । कर्मचारीलाई तलब खुवाउनै मुस्किल भएको भन्दै अर्थ मन्त्रालयले सक्ने उद्योगी व्यवसायीलाई कर तिरिदिन निजी क्षेत्रका संस्थामार्फत आग्रह गरेका थिए ।
असारमा करदाताले धमाधम कर तिरिएपछि सरकारले केही सहज महसुस गर्न पाएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डेले असार १० सम्म २३ अर्ब राजस्व संकलन भएको जानकारी दिए । सरकार आर्थिक संकटमा जान थालेको भन्दै व्यवसायीले स्वःस्फूर्त रूपमा कर तिरिदिएका हुन् ।

नेपाल बैंकर्स संघले त सरकार निकै अप्ठ्यारोमा परेको भन्दै बैंकहरूले कर तिर्ने संस्थागत निर्णय नै गरेको थियो । उपमहानिर्देशक पाण्डेले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्त शुल्क तिर्ने क्रम जारी रहेको बताए ।

ठूला करदाताले मात्रै १५ अर्ब ६२ करोड तिरे
असार १० गतेसम्म ठूला करदाताले मात्रै १५ अर्ब ६२ करोड कर तिरेको ठुला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्था, उद्योगहरूले कर तिरेको बताए । “एनसेल, सूर्य टोबाको, गोर्खा ब्रुअरी, ठूला बैंकहरू, सरकारी संस्था सबैले कर तिरेका छन्,” उनले भने ।

ठूला करदातामध्ये एनसेलले एक अर्ब २२ करोड, नेपाल टेलिकमले ९२ करोड, सूर्य नेपालले ९० करोड कर तिरेका छन् भने दूर सञ्चार प्राधिकरणले पनि एक अर्ब २२ करोड रुपैयाँ बुझाएको छ ।

सरकार ऋण लिँदै
दैनिक खर्च धान्न गाह्रो परेको भन्दै सरकारले विभिन्न दातृ निकायबाट ऋण लिइरहेको छ । बुधबार मात्रै विश्व बैंकबाट १२ अर्ब रुपैयाँ ऋण लिने सम्झौता अर्थ मन्त्रालयले गरिसकेको छ ।

(यो समाचार  बाह्रखरी  ११ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links