NMB Bank

Nepal Life Insurance

तीन महिनामा एक खर्ब भन्सार राजस्व

कूल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट २ खर्ब ३६ अर्ब रुपैयाँको सामान भारतबाट आयात भएको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल १ खर्ब १ अर्ब २४ करोड रुपैयाँ राजस्व आम्दानी भएको छ । यस अवधिमा विभागले ९२ अर्ब ४२ करोड राजस्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए ।
मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये ९ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् । त्यसमध्ये सबैभन्दा बढी आयात वीरगन्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्यांकमा उल्लेख छ ।
 

पौने चार खर्बको वस्तु आयात
मुलुकमा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा विलासिताका सामानको आयात बढ्दै गएको छ । विभागका अनुसार चालू आवको तीन महिनामा विभिन्न मुलुकबाट नेपालमा कूल ३ खर्ब ७४ अर्बको वस्तु आयात भएको छ । 
अघिल्लो आवको यही अवधिको तुलनामा ४३ दशमलव ५ प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा २ खर्ब ६० अर्ब २० करोडको वस्तु आयात भएको विभागको तथ्यांक छ । 
आयात भएका वस्तुमध्ये सबैभन्दा बढी ५७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी ४० अर्बको फलाम र स्टिलको कच्र्चा पदार्थ, २९ अर्बको सवारीसाधन, २८ अर्बको मेसिनरी सामान, २२ अर्बको इलेक्ट्रिकल सामान, १७ अर्बको विमान र विमानका सामान आयात भएको विभागको तथ्यांक छ ।

सबैभन्दा बढी आयात भारतबाट
यस अवधिको कूल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट २ खर्ब ३६ अर्ब रुपैयाँको सामान भारतबाट आयात भएको छ । जुन कूल आयातको ६३ प्रतिशत हो । त्यसपछि सबैभन्दा बढी चीनबाट ५३ अर्ब, फ्रान्सबाट १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (युएई) बाट ८ अर्ब, थाइल्यान्डबाट ४ अर्बका विभिन्न वस्तु आयात भएको देखिन्छ । 
चालू आवको तीन महिनामा निर्याततर्फ भने नेपालबाट विभिन्न मुलुकमा कूल २३ अर्ब ७४ करोडको विभिन्न वस्तु निर्यात भएको निर्देशक आचार्यले जानकारी दिए ।
तीन महिनामा नेपालबाट २ अर्ब २४ करोडको कच्चा धागो, २ अर्ब ३४ करोडको गलैंचा, १ अर्ब ९० करोडको गार्मेन्ट निर्यात भएको छ । निर्यात सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा भएको देखिन्छ । 
यस अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । सबैभन्दा बढी भारतसँग मात्र २ खर्ब २३ अर्ब छ । मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धानेको छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहिना झन्डै ८५ अर्ब रुपैयाँ विप्रेषण भित्रने गरेको छ ।


यो समाचार  कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links