काठमाडौं महानगरका ३२ वटै वडाको राजस्व प्रणाली अनलाइन मार्फत

काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिनअघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गर्नुभयो ।

विगतका वर्षहरूमा लामो समयसम्म लाइनमा बसेर निकै झन्झटिलो तरिकाले कर तिर्दै आउनुभएका कोइरालाले पहिलो पटक अनलाइनमार्फत लाइन नबसी कर तिर्न पाउँदाको खुसी साट्दै भन्नुभयो– ‘अहिले कोभिड–१९ को महामारी चलिरहेका बेला विनाभिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउँदा उत्साहित छु ।’

कोइरालाले पढे–लेखेकाहरूका लागि यो प्रणाली निकै प्रभावकारी भए पनि साधारण लेखपढ गर्नसम्म मुस्किल पर्नेहरूका लागि भने समस्या हुने हो कि भन्ने संशय व्यक्त गर्नुभयो ।

त्यस्ता करदातालाई समेत अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विकास गर्ने हो भने प्रभावकारी हुने उहाँको भनाइ छ । पहिलोपटक भएकाले आफू कार्यालयमै पुगेर भुक्तानी गरेको भन्दै कोइरालाले आगामी दिनमा घरमै बसेर भुक्तानी गर्न सकिनेमा आफू आशावादी रहेको भन्दै महानगरपालिकाको यो पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

ग्रिनहिल सिटीका गोपाल भट्टराईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर शीर्षकमा करीब ७ लाख भुक्तानी गरेको जानकारी दिनुभयो । पहिलोपटक अनलाइनबाटै कर भुक्तानी गर्न पाउँदा उहाँले पनि खुसी लागेको बताउनुभयो । ‘विनाझन्झट र छिटो–छरितो तरिकाले कर भुक्तानी गर्न सकिने यो स्मार्ट प्रणाली एकदम प्रभावकारी छ ।’

काठमाडौं महानगरपालिका स्मार्ट प्रणालीमा अघि बढ्दै छ भन्ने सन्देश यसले दिएको छ’, उहाँले भन्नुभयो– ‘काठमाडौं महानगरपालिकाले जुन कुराको थालनी गरेको छ । यो आगामी दिनमा पनि अझ प्रभावकारी बन्न सकोस् ।’

उहाँले कर्मचारीबाट समेत राम्रो सहयोग प्राप्त भएको भन्दै आगामी दिनमा सिस्टम डाउन हुने, ह्याङ हुने जस्ता समस्या आउन नदिने हो भने थप सकारात्मक सन्देश जाने बताउनुभयो ।

सम्पत्ति कर शीर्षकमै भुक्तानी गर्नुभएका चुनदेवीका सुमन केसीको पनि भनाइ कोइराला र भट्टराईको भन्दा फरक छैन । उहाँले काठमाडौं महानगरपालिका समय, परिस्थितिअनुसार प्रविधिको उच्चतम प्रयोग गर्दै अघि बढेको भन्दै सकारात्मक कामको थालनी भएको बताउनुभयो ।

‘यो प्रणालीको शुरुआत भएकोमा खुसी छु र मैले लाभ पनि लिएको छु’, उहाँले भन्नुभयो– ‘यो कामको थालनी धेरैअघि हुनुपर्ने हो । ढिला भयो, ढिला भए पनि राम्रो भयो ।’

यी माथिका करदाताका प्रतिनिधि भनाइ हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल पनि विद्युतीय प्रणालीबाट राजस्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको बताउनुहुन्छ । ‘आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैंकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरेका थियौं’, अर्यालले भन्नुभयो– ‘अहिले कोभिड–१९ को महामारीका बीच पनि यो प्रणालीको विकास गरी सकारात्मक कामको थालनी गरेका छौं । अनलाइनमार्फत राजस्व भुक्तानीको शुरुआतसँगै वडाहरूमा सेवाग्राहीको भिडभाड कम हुने र सेवा पनि प्रभावकारी हुने अपेक्षा लिएका छौं ।’

उहाँले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारीसमेत दिनुभयो ।
‘अबको प्रशासन सहभागितामूलक र पारदर्शी हुनुपर्छ । यसका लागि प्रविधि नै उपयुक्त विकल्प हो भन्ने हेतुका साथ हामी अघि बढेका छौं’, उहाँले भन्नुभयो– ‘महानगरका हरेक सेवालाई अब विस्तारै विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लैजान्छौं ।’

राजस्व विभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाइन सेवा शुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिनुभयो । ‘हामी असोज १३ बाट ३२ वटै वडाबाट सेवा शुरु गर्दै छौं’, उहाँले भन्नुभयो– ‘सेवा शुरु गरेको ११ दिनमा विभिन्न वडाबाट ८ सय ५० करदातामार्फत अनलाइन प्रणालीमार्फत राजस्व असुली भएको छ । आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छौं ।’
उहाँका अनुसार यो अवधिमा सबैभन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ ।

उहाँले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘काठमाडौं महानगरपालिकाभित्र करिब ३ लाख करदाता रहेका छन् । आगामी पुससम्ममा सबै करदातालाई अनलाइन प्रणालीभित्र ल्याउने हाम्रो लक्ष्य छ’, अधिकारीले भन्नुभयो– ‘यसो भएपछि कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउन सकिन्छ ।’

उहाँले आर्थिक वर्ष २०७६÷०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिनुभयो । ֲहामीले कोभिडको महामारीका बीच पनि यो आर्थिक वर्षमा समेत अनलाइन प्रणालीमार्फत अधिकतम राजस्व संकलन गर्ने अपेक्षा गरेका छौं।’

उहाँले सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न के–के गर्नुपर्छ भन्ने ‘डेमो’ केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै त्यसले करदाताहरूलाई थप सहज हुने बताउनुभयो ।

(यो समाचार  न्युज अफ नेपाल १ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links