राजस्व संकलनमा समेत स्थानीय तह विफल

धनगढी-आन्तरिक आयस्रोत नभएर संघ र प्रदेशको अनुदानबाट चलिरहेका स्थानीय तहहरुले भएको स्रोतबाट समेत राजस्व असुल्न सकेका छैनन् । महालेखापरीक्षकको हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुले आर्थिक वर्ष २०७५-०७६ मा ढुंगा, गिट्टी, बालुवा संकलनवापतको राजस्व ठेकदारबाट असुल्न सकेका छैनन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले चार लाख छ हजार सात सय १८ घनमिटर नदीजन्य निर्माण सामग्री उठाए वापतको तीन करोड पाँच लाख चार हजार रुपैयाँ एक कम्पनीबाट लिनु पर्नेमा १५ लाख रुपैयाँ मात्रै असुल गर्न सकेको छ । सो कम्पनीबाट नपुग दुई करोड ९० लाख चार हजार रुपैयाँ असुल गर्न महालेखाले नगरपालिकालाई सुझाएको छ । तर, भीमदत्त नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत पुस्करराज भट्टले सो कम्पनीले राजस्व बुझाउन नसक्नुको कारण सहित पत्र दिएको जनाए । उनले सो पत्र महालेखालाई बुझाउने र असुल गर्ने वा नगर्ने महालेखाले नै निर्णय गर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७६ मा समयमा राजस्व दाखिला नगरेमा २५ प्रतिशत जरिवानासहित राजस्व असुल गरिने उल्लेख छ । नदीजन्य पदार्थ संकलनवापतको जरिवानासहित कृष्णपुर नगरपालिकाले १९ लाख ८३ हजार र पुनर्वास नगरपालिकाले एक लाख सात हजार रुपैयाँ राजस्व संकलनकर्ताबाट असुल गर्नुपर्ने देखिएको छ ।
महाकाली नगरपालिकाले एक कम्पनीसँग महकाली नदीमा ढुंगा, गिट्टी, बालुवा संकलनवापतको ९९ लाख २२ हजार रुपैयाँ रोयल्टी असुल गरेको छैन । नदीजन्य पदाथै उत्खनन्का लागि गोदावरीले २ र कृष्णपुर नगरपालिकाले एक ठेक्कामा ठेकदारले पालिकालाई नै मुल्य अभिवद्धि कर बुझाउने ठेक्कासम्झौता गरेका छन् । तर दुवै नगरपालिकाले नियम अनुसारको मूल्य अभिवद्धि कर ठेकदारबाट लिएका छैनन् । सो वापतको एक करोड ९९ लाख १६ हजार रुपैयाँ ठेकदारबाट असुल गरी आन्तरिक राजस्व कार्यालयमा जम्मा गर्न महालेखाले सुझाव दिएको छ ।
डोटीकै शिखर र दिपायल नगरपालिकाले ३२ उपभोक्ता समितिमार्फत् मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यवसायीको एक्जाभेटर र डोजर प्रयोग गरी सादा बिलबाट भुक्तानी गरेका छन् । सोबाट छुटेको १६ लाख १० हजार रुपैयाँ कर असुल गर्न महालेखाले सुझाव दिएको छ ।
डोटीको बडीकेदार गाउँपालिकाको एक निर्माण कम्पनीले १६ उपभोक्ता समितिहरुसँग सम्झौता गरी गाउँपालिकाकै हेवी उपकरण प्रयोग गरी काम गरेको छ । तर सो वापत उसले सादा बिल पेश परेर एक करोड ३६ लाख ८४ हजार रुपैयाँ भुक्तानी लिएको छ । सो वापतको १५ लाख ७४ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर असुल गर्न गाउँपालिकालाई महालेखाले सुझाव दिएको छ ।
धनगढीले १७ करोड ७९ हजार रुपैयाँको आय ठेक्कामा ठेकदारलाई नै मूल्यअभिवृद्धि कर भुक्तानी दिएको छ । महालेखाले धनगढीलाई ठेक्का बापतको मूल्य अभिवृद्धि कर दुई करोड २१ लाख १० हजार रुपैयाँ ठेकदारबाट असुल गरी आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्न सुझाव दिएको छ । नदीजन्य पदाथै उत्खनन्का लागि गोदावरी नगरपालिकाले २ र कृष्णपुर नगरपालिकाले एक ठेक्कामा ठेकदारले पालिकालाई नै मूल्य अभिवद्धि कर बुझाउने ठेक्का सम्झौता गरेका छन् । तर दुवै नगरपालिकाले नियम अनुसारको मूल्य अभिवृद्धि कर ठेकदारबाट लिएका छैनन् । सो वापतको एक करोड ९९ लाख १६ हजार रुपैयाँ ठेकदारबाट असुल गरी आन्तरिक राजस्व कार्यालयमा जम्मा गर्न महालेखाले सुझाव दिएको छ ।
उता प्रदेशका दुई स्थानीय तहले प्रदेशलाई बाँडफाँड गर्नुपर्ने राजस्व समेत बाँडफाँड नगरेको भेटिएको छ । प्रतिवेदनमा कैलालीको भजनी नगरपालिकाले आव २०७५-०७६ मा प्राकृतिक स्रोत र अन्य दस्तुर वापत उठाएको एक करोड ७१ लाख ११ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले दुई करोड २९ लाख ५१ हजार रुपैयाँ उठाइएको छ ।
तर, उनीहरुले नियमानुसार उठाएको रकमको ४० प्रतिशत प्रदेश विभाज्य कोषमा जम्मा गरेका छैनन् । महालेखाले सो भजनीलाई ६८ लाख ४४ हजार र कृष्णपुरलाई ९१ लाख ८० हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गर्न सुझाव दिएको छ ।

(यो समाचार  कारोबार ६ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links